×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

सांस्कृतिक शहर पनौतीको चुनाव– एमालेको गढमा चल्ला गठबन्धनको जादू ?

बैशाख २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेको पनौती नगरपालिकामा नेकपा एमाले र सत्ता पक्षधर गठबन्धन चुनावी मैदानमा आमनेसामने भिडिरहेका छन् ।

Muktinath Bank

नेकपा एमालेको लालकिल्लाको रूपमा स्थापित धार्मिक तथा सांस्कृतिक शहर पनौतीमा यतिबेला चुनावी माहोल तातेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवारहरू घरदैलो अभियानमा जुटेका छन् भने मतदाताहरू चिया गफमा पनि चुनावकै चर्चा–परिचर्चा गरिरहेका भेटिन्छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा एमालेको तर्फबाट मेयर तथा उपमेयरका लागि निवर्तमान मेयर तथा उपमेयर नै फेरि पनि उम्मेदवार बनेका छन् ।

Vianet communication
Laxmi Bank

गत स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा जितेका भीम न्यौपाने र उपमेयरमा जितेका गीता बन्जारा फेरि पनि उम्मेदवार बनेका छन् ।

भीम न्यौपाने

गत निर्वाचनमा नगरपालिकाका १२ वडामा ६ वडा एमाले र ६ वडा कांग्रेसले जितेको थियो । पनौती विगतमा एमालेबाट केशव बडाल पटक–पटक प्रतिनिधि सभामा निर्वाचित हुँदै आएको संसदीय क्षेत्र पनि हो ।

एमालेबाट मेयरमा उठेका उम्मेदवार यसअघि पनि तत्कालीन कुशादेवी गाविस हुँदा २ पटक गाविस अध्यक्ष भएका व्यक्ति हुन् ।

नेकपा एमाले काभ्रेको जिल्ला कमिटीमा १७ वर्षदेखि सदस्य छन् । एमाले जिल्ला अध्यक्षका लागि उनी टोपबहादुर वाइवासँग पराजित भएका थिए ।

एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवार

एमाले अध्यक्षमा जितेका वाइवा अहिले एमाले छाडेर नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा लागेका छन् ।

अर्को तर्फबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ ।

गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा रामशरण भण्डारी र उपमेयरमा नेकपा एसबाट छबिलाल हुमागाईं उम्मेदवार छन् ।

रामशरण भण्डारी

मेयरका उम्मेदवार भण्डारी २०४२ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय छन् । पनौती नगरपालिकाको साविक सुन्थान गाउँ पञ्चायतमा नेपाली कांग्रेसको संयोजक भएर राजनीतिमा लागेका उनले प्रतिबन्धित अवस्थामा पनि नेपाली कांग्रेसमा काम गरिसकेको बताउँछन् ।

‘२०३६/०३७ सालमा नै नेपाल विद्यार्थी संघमा आवद्ध भएर विद्यार्थी राजनीति गरे पनि मूल राजनीतिमा भने २०४२ सालदेखि आएको हो,’ उनले लोकान्तरसँग भने, ‘बहुदललाई सफल बनाउन मैले त्यतिबेला पनि ठूलो भूमिका खेलेको थिएँ ।’

२०५४ सालमा उनी पनौती नगर कमिटीको सदस्य हुँदै जिल्ला कमिटीको पनि सदस्य भएका थिए । २०५९ सालबाट उनी ५० हजार सदस्य भएको बचत तथा ऋण सहकारी संस्थामा आवद्ध थिए । मेयर पदमा उम्मेदवार हुने भएपछि सहकारीको सचिव पदबाट उनले राजीनामा दिएको बताए ।

कामकै आधारमा फेरि पनि चुनाव जित्छौं– एमाले उम्मेदवार न्यौपाने 

एमालेका मेयर उम्मेदवार न्यौपाने भने गत ५ वर्षमा गरेको कामको आधारमा मतदाताले चुनाव जिताउनेमा ढुक्क छन् । ‘२०७४ सालमा पार्टीले जारी गरेको घोषणा पत्रको ८५ प्रतिशत कार्यान्वयन गर्‍यौं । घोषणा पत्रमा नलेखिएका कुराहरू पनि कार्यान्वयन गरेका कारण हामी नै फेरि जित्छौं,’ उनले लोकान्तरसँग भने, ‘विकासको मूल फुटाउने कामको जग बसाएका छौं ।’

२०७२ सालको भूकम्पले गर्दा थिलोथिलो बनेको ठाउँमा नागरिकको घर बनाउनुपर्ने, व्यवस्थित गर्नुपर्ने, बसाउनुपर्ने दायित्व पूरा गरेको उनले बताए । त्यसपछि कोभिडले गर्दा काम गर्न समस्या भएको उनको कथन छ । ‘कोभिडकै कारण ५५ जना हाम्रो नगरवासीको मृत्यु पनि भयो । क्वारेन्टीन व्यवस्थापन गरें, औषधि उपचार गर्ने काम गरियो,’ उनले भने ।

पनौती बजारमा एमाले घोषणा पत्र सार्वजनिक कार्यक्रम

२०७४ सालको संसदीय निर्वाचनमा नेकपा माओवादी र नेकपा एमाले एकीकृत भएर जाँदा उम्मेदवारलाई पनि जिताउने काममा पनि समय लागेको उनले बताए ।

‘वास्तवमा भन्ने हो भने त डेढदेखि २ वर्षसम्म मात्र हामीले काम गर्ने मौका पाएका थियौं,’ उनले थपे, ‘त्यस अवधिमा नै सबै घोषणापत्र कार्यान्वयन गरेका थियौं ।’

५ वर्षमा गरेको कामकै आधारमा पार्टीले टिकट दिएर पुनः उम्मेदवार बनाएको उनले बताए ।

‘२०७४ सालदेखि नै पति बेपत्ता हुनुभएको महिला, सम्बन्धविच्छेद गर्नुभएको महिला, ३५ वर्ष उमेर नाघ्नुभएका दिदीबहिनीलाई कानून बनाएर सामाजिक सुरक्षा भत्ता दिँदै आएका थियौं,’ उनले थपे, ‘अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने घोषणापत्रमा उल्लेख गरेका छौं ।’

पनौती नगरपालिकालाई विश्व सम्पदा सूचीमा राख्न केन्द्रमा प्रस्ताव पठाइएको भए पनि परमादेशी सरकारले रोकेर राखेको उनले आरोप लगाए ।

‘पनौती रंगशाला खण्डहरको रूपमा त्यत्तिकै बसिरहेको छ । पञ्चायतकालमा सामन्तहरूले त्यहाँको जग्गा आफ्नो नाममा दर्ता गरे, जुन कुरा नागरिकले थाहै पाउन सकेनन्,’ उनले लोकान्तरसँग थपे, ‘पछि त्यो समस्यालाई हामीले सल्टायौं ।’ रंगशालाको बाँकी निर्माणको काम पनि आगामी ५ वर्षमा पूरा गर्ने उनले बताए ।

‘बनेपा–पनौती बाटो साँघुरो छ । बनेपा–पनौती–पुण्यमाता करिडोरमार्फत नयाँ बाटो बनाइरहेका छौं, त्यसलाई पनि आगामी कार्यकालमा सम्पन्न गर्छौं,’ उनले थपे, ‘रुसी करिडोर र लीलावती करिडोरलाई पनि सम्पन्न गर्छौं । ग्वार्को–पनौती–नमोबुद्ध बाटोलाई पनि व्यवस्थित बनाइसकेका छौं ।’

गठबन्धन भए पनि त्यसले कुनै असर नगर्ने उनले दावी गरे । ‘काभ्रेमा ३० वटा राजनीतिक दलले चुनावमा भाग लिँदैछन् । पनौतीमा भन्ने हो भने २९ दल एकातिर छ र नेकपा एमाले मात्रै एक्लै अर्कोतिर छ,’ उनले लोकान्तरसँग भने, ‘तर पनौतीका नागरिक राजनीतिक रूपले सचेत छन्, सुसूचित छन्, राजनीतिक रूपले गर्नुपर्ने निर्णय गर्दै आउनुभएको छ । फेरि पनि एमालेलाई नै जिताउनुहुन्छ ।’

पनौती यस्तो नगरपालिका हो जहाँ २०६२/०६३ सालको जनआन्दोलनमा, २०४६ सालको आन्दोलनमा पनि निर्णायक भूमिका निर्वाह गरेको छ । २०६२/०६३ सालको आन्दोलनमा पनौतीबाट सगुन ताम्राकारले त शहादत नै प्राप्त गरेका थिए ।

‘यो शहीद सगुनको शहर भएकाले पनि एमालेलाई चुनाव जित्न कुनै समस्या छैन, वैशाख ३० गतेसम्म मात्र कुर्नुपर्छ,’ उनले थपे, ‘नेकपा एमालेलाई यहाँको जनताले चिनेका छन् । एमाले नेतृत्वको सरकारले गरेको कामलाई जनताले चिन्नुभएको आधारमा हामीलाई जनताले भोट दिनुहुन्छ ।’

गत ५ वर्षमा स्थानीय सरकारबाट हुनुपर्ने काम नभएको जनताको गुनासोको विषयमा उनले भने, ‘गुनासो त आउँछ नै शतप्रतिशत काम हुन सक्दैन तर बहुसंख्यक जनताको मन जित्ने काम हामीले गरेका छौं ।’

सम्पदाको हकमा ७२ वटा घरमध्ये १९ वटा घरलाई इन्सेन्टिभको व्यवस्था गरेर सुधार गरिने योजना रहेको उनले बताए । ‘भत्केका मन्दिरहरू बनाउँछौं । हाम्रै पालमा मकर मेला सफलतापूर्वक सम्पन्न गरायौं,’ उनले भने ।

कृषि र पशुपालनमा हामीले कानून बनाएर अनुदान दिने कुरा, सामूहिक खेती गर्ने कुरा अगाडि बढाइएको उनले बताए । ‘भैंसी प्रबर्द्धन, गाई प्रबर्द्धन, बाख्रा प्रबर्द्धनलाई अगाडि बढाएका छौं,’ उनले थपे, ‘अनुदान दिँदा बनाएको विधिअनुसार नै दिएका छौं । वडा कार्यालयकै सिफारिसमा अनुदानमा यदि दुरुपयोग भएको छ भने त्यसको जिम्मेवारी वडाको हो ।’

चुनावमा खासै खर्च नहुने उनले दाबी गरे । ‘हामीले हाम्रो तर्फबाट गाडी घोडा, खाना, खाजामा मात्र खर्च गरेका छौं,’ उनले थपे, ‘टिसर्ट, क्याप आदिमा निर्वाचन आयोगले प्रतिबन्ध नै लगाएको छ । ५ लाख रुपैयाँसम्म मात्र हाम्रो खर्च हुन्छ ।’

५ वर्षमा केही काम नै नभएकाले जनताले परिवर्तन चाहेका छन्– कांग्रेस उम्मेदवार भण्डारी  

नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका भण्डारी भने सम्पूर्ण नगरवासीले नेतृत्व परिवर्तन चाहेको बताउँछन् । गत ५ वर्षमा घोषणापत्र अनुसार कुनै काम नै नभएको कुरा जनताले राम्रोसँग बुझेकाले पनि नेतृत्व परिवर्तन हुने उनले दाबी गरे ।

‘मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । सबै मतदाता चुनावलाई लिएर उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘लामो समयदेखि एकपक्षीय तरिकाले नगरपालिकामा काम–कारवाही हुँदै आएकोमा त्यसविरुद्ध नेतृत्व परिवर्तन गर्न मतदाता उत्साहित हुनुहुन्छ ।’

केन्द्रबाट नै भएको सहमतिअनुसार प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको उनले बताए ।

प्रमुख र उपप्रमुखमा सहमति भए पनि केही वडामा भने सहमति हुन सकेको छैन । केही वडामा समस्या भए पनि त्यसको असर प्रमुख र उपप्रमुखमा नपर्ने उनले बताए ।

‘गठबन्धन त प्राविधिक पाटो मात्र हो । जनताले नै परिवर्तन चाहेका छन् । संविधान निर्माण हुनुअघि पनि पछि पनि नेकपा एमालेले नै विजय प्राप्त गर्नुभयो,’ उनले लोकान्तरसँग भने, ‘तर उहाँहरूले व्यक्त गर्नुभएको घोषणा पत्र विपरीत काम गर्नुभयो । यहाँ आर्थिक अनुशासन कायम रहेन । नितान्त व्यक्तिवादी चरित्र हाबी हुन गयो ।’

भ्रष्टाचार हुनुमा पार्टीको दोषभन्दा पनि व्यक्तिको दोष रहेको उनले बताए । ‘त्यतिबेला पार्टीले बनाएको प्रतिनिधिले नै गलत क्रियाकलाप गर्नुभयो । त्यसको असर सम्पूर्ण नगरवासीमा पर्‍यो,’ उनले लोकान्तरसँग भने, ‘स्थानीय सरकार भनेपछि कानून बनाएर गर्नुपर्ने धेरैजसो काम नै नगरी उहाँहरू आर्थिक अनियमिततामा नै अल्मलिनुभयो ।’

सुन्दर पनौती नगरपालिका बनाउने काममा ती प्रतिनिधिहरूको सोच नै नपुगेको उनले बताए । ‘५ वर्षभित्र सबैभन्दा बढी त आर्थिक अनुशासन नै कायम रहेन । अनुदानदेखि विकास निर्माण होस् वा क्षेत्रीय रंगशाला, बसपार्क निर्माण सबैमा अनियमितता भएको छ,’ उनले भने । १२ वर्षमा लाग्ने मकर मेलाको खोला फोहोर उस्तै अव्यवस्थित रहेको उनले बताए ।

‘पशुपतिनाथ, फुलचोकी, द्रोपदा मन्दिर, कृष्ण मन्दिर, शारदा मन्दिर, १२ वर्षमा लाग्ने मकर मेलासहित धार्मिक पर्यटकीय नगर बनाउँछौं,’ उनले भने, ‘पाराग्लाइडिङको लागि लाइसेन्स दिइएको छ । होटल व्यवसाय, स्टार होटलका लागि पनि वातावरण बनाउँछौं ।’

पनौती नगरपालिकालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने मुख्य लक्ष्य रहेको उनले बताए । यहीँको स्थानीय स्रोतसाधन उपयोग गरेर स्वरोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको उनले बताए । ‘यहाँका सबै युवाहरू विदेश गएका छन् । अहिलेको अवस्थामा युवाहरू पलायन भएपछि बाउ आमा एक्लै घरमा बस्नुभएको छ,’ उनले थपे, ‘सबैभन्दा ठूलो दुर्भाग्य हो । त्यही परिवारलाई संयुक्त परिवार बनाएर लैजाने अठोट लिएका छौं ।’

कुशादेवीमा घरदैलो गर्दै गठबन्धनका उम्मेदवार

निर्वाचनमा अनावश्यक खर्च नगरिएको उनले बताए । ‘हामी उम्मेदवारहरूले गाडी, प्रचार सामग्रीको मात्र व्यवस्थापन गरेका छौं । बाँकी सबै खर्च कार्यकर्ताले नै गरिरहनुभएको छ,’ उनले थपे, ‘हामीलाई भोट किन्नुपर्‍या छैन । हामीले गल्ती गरेको भए पो भोट किन्ने हो । गल्ती गरेको बदलामा मैले यति कमाएँ तिमीलाई पनि यति दिन्छु भनेर खर्च गरिरहेका होलान् तर हामीमा त्यस्तो सोच छैन ।’

‘लगभग १४–१५ लाखमा हामी मेयर, उपमेयर सक्छौं । त्यत्रै धेरै खर्च गर्न सक्ने हाम्रो क्षमता नै छैन,’ उनले भने, ‘सारा जीवन समाज सेवामा लगाएका छौं, त्यही हाम्रो पुँजी हो । त्यो सेवालाई करोडमा होइन, अर्बमा पनि कन्भर्ट गर्न सकिँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x