२८ असार २०८३, आइतबार

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

बैशाख २५, २०७९
भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षात्मा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा विक्री गर्न लागेको हो ।

प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिजुली भारतमा विक्री गर्नेछ । यसका लागि शुक्रवार टेन्डर सूचना प्रकाशित गरी भारतीय विद्युत् व्यापार कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

प्राधिकरणले साढे ४ महीना (२०२२ जुलाई १ देखि नोभेम्बर १५) सम्मका लागि त्यो बराबरको बिजुली भारत विक्री गर्न लागेको हो । उक्त विद्युत् किन्न इच्छुक भारतीय कम्पनीहरूले जेठ १३ गते (मे २७) मध्याह्न १२ बजेसम्म प्रस्ताव पेश गरिसक्नुपर्ने छ । सोही दिन प्राप्त प्रस्ताव खोलिने प्राधिकरणको भनाइ छ ।
इच्छुक कम्पनीले न्यूनतम ५० मेगावाट विद्युत् किन्ने गरी प्रस्ताव पेश गर्नुपर्ने शर्त राखिएको छ । विद्युत् खरीदविक्री दरका लागि भने सीमा तोकिएको छैन । टेन्डरमा जुन कम्पनीले धेरै दर तोक्छन्, उनीहरूलाई नै छनोट गरिने प्राधिकरणको भनाइ छ ।

यो टेन्डर सफल भएमा प्राधिकरणले पहिलोपटक भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्न शुरू गर्नेछ । यसअघि विद्युत् आदानप्रदान वा इनर्जी बैंकिङको रूपमा भारतमा निर्यात गर्दै आएको थियो । प्राधिकरणले नेपालका विभिन्न ६ जलविद्युत् आयोजनाको ३६४ मेगावाट विद्युत् भारतमा विक्री गर्न पाउने गरी स्वीकृति पाएको छ ।

त्यसमध्येबाट २०० मेगावाट स्थिर मूल्य दरमा विक्री गर्ने गरी टेन्डर आह्वान गरिएको हो । प्राधिकरणले त्यसबाहेकको बिजुली भने भारतीय खुला विद्युत् बजार (डे अहेड मार्केट) मा दैनिक बिडिङ गरेर विक्री गर्न सक्नेछ ।

प्राधिकरणले भारतीय खुला विद्युत् बजारमा बिजुली किनबेच गर्न पाउने गरी यसअघि नै स्वीकृति पाइसकेको थियो । स्वीकृतिअनुसार प्राधिकरणले भारतीय बजारमा दैनिक बिडिङ गरेर पनि बिजुली किनबेच गर्न पाउनेछ । त्यसरी बिजुली किनबेच गर्दा हरेक दिन विक्री मूल्य फरक हुनेछ । साथै, टेन्डरमार्फत स्थिर मूल्यमा पनि बिजुली किनबेच गर्न पाइनेछ । अहिले प्राधिकरणले भारतको खुला बजारबाट दैनिक बिड गरेर विद्युत् आयात गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेन्डरमार्फत भारतमा २०० मेगावाट विद्युत् विक्री गर्ने प्रक्रिया अगाडि बढाएको बताए । ‘भारतीय बजारमा ३६४ मेगावाट विद्युत् विक्री गर्न हामीले अनुमति पाइसकेका छौं । त्यसमा २०० मेगावाट टेन्डरमार्फत विक्री गर्न लागेका हौं,’ उनले भने, ‘भारतीय कम्पनीहरू के कसरी आउँदा रहेछन्, त्यो हेर्न पनि हामीले टेन्डर गरेका हौं । त्यसपछि पनि विद्युत् बाँकी भएमा डे अहेड मार्केटमा विक्री गर्न सक्नेछौं ।’ सुक्खा यामका कारण अहिले स्वदेशी उत्पादन कम हुँदा प्राधिकरणले भारतबाटै विद्युत् आयात गरिरहेको छ । तर, उसले भारतबाट मागअनुसार बिजुली पाउन सकेको छैन । भारतमा कोइलाबाट विद्युत् उत्पादन हुन्छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय कोइला अभाव हुँदा भारतको विद्युत् उत्पादन घटेर उतै लोडशेडिङ हुन थालेको छ । फलस्वरूप प्राधिकरणले त्यहाँबाट बिजुली पाउन नसकेको हो । आपूर्ति व्यवस्थापन गर्न यहाँ पनि औद्योगिक क्षेत्रमा लोडशेडिङ गर्न थालिएको छ ।

वर्षात्को समयमा खोलामा पानी बढेपछि यहाँको उत्पादन स्वत: बढ्छ । वर्षात्मा नेपालका जलविद्युत् आयोजनाहरू कुल क्षमतामै सञ्चालन हुन्छन् । त्यो अवस्थामा भने नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन हुने गर्छ । अहिले राष्ट्रिय प्रसारण लाइनमा विद्युत्को कुल जडितक्षमता २१९१ मेगावाट छ ।

वर्षात्मा उक्त बराबर विद्युत् उत्पादन हुन्छ । अहिले नेपालको अधिकतम विद्युत् माग १६०० मेगावाट छ । त्यसअनुसार वर्षात्मा झन्डै ६०० मेगावाट विद्युत् खेर जाने अवस्था आउँछ । यसअघि २०७७ पुसमा प्राधिकरणले भारतमा २५ मेगावाट विद्युत् विक्री गर्ने गरी टेन्डर हालेको थियो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत भारतकै बीआरपीएल नामक कम्पनीले आह्वान गरेको टेन्डरमा प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा त्यस बराबरको विद्युत् विक्री गरी प्रस्ताव पेश गरेको थियो ।

अन्त्यमा प्राधिकरण उक्त टेन्डरबाट बाहिरिएको थियो । त्यसबेला भारतमा बिजुली पर्याप्त थियो । नेपालले पनि सोही दरमा बिजुली किन्दै आएको थियो । सोही दरमा प्रस्ताव पेश गर्दा प्राधिकरण बाहिरिएको थियो । तर, यसपालि बिजुली विक्री हुने विश्वास गरिएको छ । अहिले भारतीय बजारमा विद्युत् संकट छ । त्यहाँ भारू १२ मै विद्युत् किनबेच हुने गरेको छ । त्यस अवस्थामा नेपालको विद्युत् सहजै विक्री हुने बताइएको छ । मिलन विश्वकर्माले आर्थिक अभियान दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्