
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२.२७ अङ्कले बढेर २२६८.८४ मा पुगेर बजार बन्द भएको छ ।
यो अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले बढेको हो ।
दिनभरको कारोबारमा नेप्से परिसूचक न्यूनतम २२५५.४५ र उच्चतम २२८९.८४ बीच उतारचढाव आएको थियो । सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले बढेर ४३९.४७ कायम भएको छ । शेयर बजारमा देखिएको केही दिनदेखिको ओरालो यात्रा आइतबार रोकिएको थियो ।
यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १७.९५ अङ्कले बढेर २२५६.५७ पुगेको थियो ।
आज शेयर बजार बन्द हुँदासम्म ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको र आठ कम्पनीको शेयर मूल्यमा परिवर्तन भएन । सोमबार भएको कारोबारमा २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता किनबेच भयो । यसबाट एक अर्ब ३९ करोड छ लाख सात हजार ७२० रुपियाँको कारोबार भएको छ ।
अघिल्लो दिन २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ समूहमध्ये चारवटा समूह जीवन बीमा ८२.१२, होटल र टुरिजम समूह २५.८५, विकास बैङ्क समूह २०.९१ अङ्क तथा लगानी समूह ०.०७ अङ्कले घटेको छ ।
सोमबार सबैभन्दा बढी लघुवित्त समूह ६०.७५ अङ्कले बढेको छ भने गैरजीवन बीमा ५७.०३, व्यापार समूह ३५.२२, उत्पादनमूलक समूह २७.१९, बैङ्किङ १४.७६, जलविद्युत् समूह १२.५३, अन्य समूह ५.९१, वित्त समूह १.६६ र म्युचुअल फन्ड ०.०८ अङ्कले बढेको छ ।