×

X
Nic Asia
Marvel

उदाहरणीय मेयर

कञ्चनरूपका इमान्दार मेयर, जसले सम्पूर्ण जीवन सुशासन र विकासमा सुम्पिए

सप्तरी | बैशाख २७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

स्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रममा थियौं । हाम्रो गन्तव्य सुनसरीको इटहरी थियो । 

DHARA
LAxmi BAnk

लहानबाट अघि बढेपछि त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका सहप्राध्यापक दीपक गजुरेलसँग सम्पर्क भयो । त्रिवि सेवाबाट भर्खरै निवृत्त भएका उनी गृहनगर पुगेका रहेछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सप्तरीको कञ्चनरूप नगरपालिकाका स्थानीय उनले लामो समय काठमाडौं बिताए । राजनीतिशास्त्रका गहनतम विषय छिचोले । हजारौंलाई राजनीतिशास्त्रमा पारङ्गत बनाए । उनै गजुरेल गाउँ फर्केर स्थानीय चुनावको रौनक नियालिरहेका छन् भन्ने थाहा पाएपछि उनीसँग भेट्ने उत्सुकता भयो । रूपनगरमा ओर्लिएर केहीबेर गजुरेललाई सुन्ने र इटहरी जाने योजना बनायौं अनि उनलाई भेट्न आउने जानकारी दियौं ।

सप्तरीको रूपनगरमा पूर्व–पश्चिम राजमार्गमा मध्यदिनको टन्टलापुर घाममा गजुरेल हाम्रो बाटो हेरिरहेका थिए । जसै उनलाई भेट्यौ, गजुरेलले हामीलाई स्थानीय मुकुन्द आचार्यको मेडिकल पसलमा पुर्‍याए । गजुरेल र आचार्यको पुरानो चिनजान रहेछ । मेडिकल व्यवसायमा रहेका आचार्य राजनीतिमा पनि उत्तिकै रमाउने रहेछन् । कञ्चनरूपको चुनावी सरगर्मीबारे सरसर्ती चर्चा गर्‍यौं ।


Advertisment
Saurya island

दीपक गजुरेल र मुकुन्द आचार्य

चियागफकै क्रममा इमान्दार राजनीतिकर्मीको रूपमा नाम आयो– वसन्त मिश्रको । उनी कञ्चनरूप नगरपालिकाका मेयर पनि रहेछन् । राजनीतिक लाभहानिको रस्साकस्सीभन्दा पर रहेर जनताको सच्चा सेवक र सुशासनका पर्याय बनेका मिश्रको इमान्दारिताका वन्दनीय तथ्य सुनियो । 

Vianet communication
IME BANK INNEWS

स्थानीय तह अनियमितता र जनप्रतिनिधिको कमाइको थलो भनेर आलोच्य छ । तर, कञ्चनरूपमा सुशासनको उदाहरणीय पात्र मिश्र हुन् भनी गजुरेल र आचार्यले चर्चा गरे । 

नगरपालिकामा सुशासन कायम गर्दा पार्टीका स्थानीय कार्यकर्ता भने उनीसँग रुष्ट भएछन् । कमाउधन्दामा नसघाएपछि उनलाई फेरि मेयरमा दोहोर्‍याउन स्थानीय पार्टी कमिटी तयार नभएको रहेछ । मिश्रबारे यत्ति सुनेपछि उनलाई भेट्ने रुचि देखायौं । 

हामीले चियाको अन्तिम चुस्की लिइरहँदा आचार्यले मिश्रसँग समय मिलाए । आचार्यले खोजेको अटोरिक्सामा चढेर हामी मिश्रलाई भेट्न हुइकियौं ।

हामी पुग्दा मिश्र नेकपा एमालेका स्थानीय नेताहरूसँग चुनावी छलफलमा रहेछन् । अघिल्लो चुनावमा एमालेबाटै उम्मेदवार भएर चुनाव जितेका रहेछन् मिश्रले ।

उनीहरूलाई भेटेर हामीले पत्रकारको रूपमा परिचय गराएपछि मिश्र भने छलफलबाट बाहिरिए । हामीसँग खासै कुरा गर्न चाहेनन् । एमालेका स्थानीय नेताहरूसँग चुनावी सरगर्मीबारे सामान्य कुरा गर्‍यौैं ।

त्यतिबेलासम्म गजुरेलले मिश्रलाई हामीसँग कुरा गर्न सहमत गराएका थिए । गजुरेल र मिश्र एउटै विद्यालय पढेका रहेछन् । गजुरेलभन्दा मिश्र तीन ब्याच सिनियर । उनीहरूले पढेको विद्यालयको स्तरोन्नतिका लागि दुवैले संयुक्तरूपमा काम गरेका रहेछन् ।

अन्ततः मिश्र आफ्ना कुरा भन्न तयार भए तर, उनका बारे लेख्न भने अझै सहमति दिएनन् । तैपनि उनलाई प्रश्न गर्‍यौं । मिश्रसँगको हाम्रो संवाद एमालेका स्थानीय नेताहरूले पनि सँगै बसेर सुनिरहे ।

सुशासनको नमूना नगर

मधेश प्रदेशका धेरैजसो स्थानीय तह भ्रष्टाचार र अनियमितताका अनेक काण्डमा मुछिएका छन् । तर, सप्तरीको कञ्चनरूप नगरपालिका अपवाद रहेछ । त्यसको एउटै कारण हो, मेयर वसन्त मिश्रको सुशासनप्रतिको प्रतिबद्धता । 

हरेक दिन बिहान ८ बजे कार्यालय पुग्ने मिश्रले धेरैजसो दिन १२ घण्टा नगरपालिकाको कार्यालयमा बिताउने गरेका छन् । उनले अनावश्यक बजेट खर्च हुन दिएनन् । सवारीको दुरुपयोग आफूले गरेनन्, न त कर्मचारी र कार्यकर्तालाई नै दुरुपयोगको अवसर दिए ।

मुख्य कुरो त, नगरकार्यपालिकाको कुनै पनि निर्णय बहुमत र अल्पमतमा टुंगिएन, सबै सर्वसम्मत ।  ‘नगरकार्यपालिकामा हाम्रो २५ प्रतिशत पनि मान्छे थिएनन् तर, कुनै पनि निर्णय बहुमत अल्पमतमा भएन । सबै सर्वसम्मतिमा निर्णय भए’, मिश्रले भने, ‘बजेट कार्यान्वयनको क्रममा अनियमितता भएको छ भने निवेदन दिन आउनुहोस्, तत्काल कारवाही गर्छु भनेर घोषणा गरेको थिएँ । तर, पाँच वर्षमा एउटा पनि निवेदन आएन ।’

उनी भन्छन्, ‘मेयरको रूपमा मेरा आफ्ना स्वार्थ थिएनन् । त्यसो हुँदा विवाद भएन ।’

उपभोक्ता समितिको कामको अनुगमनमा गएका बेला मिश्रले समितिले खुवाएको खाजा समेत कहिल्यै खाएनन् । कर्मचारी, जनता र कार्यकर्ता कसैसँगबाट कहिल्यै उपहार लिएनन् ।

उनी भन्छन्, ‘उपभोक्ता समितिका सदस्यले खुवाएको खाजा पनि आजसम्म खाएको छैन । कसैले खुवाएको छु भन्छ भने प्रमाण लिएर आए हुन्छ । मैले नगरपालिकाको कानून अनुसारको सुविधा लिएँ । इन्धन सुविधा लिएको छैन । नगरपालिकाको काम बाहेक अन्य काममा नगरपालिकाको गाडीमा खुट्टा समेत टेकिनँ । तीनपटक एनजीओको कार्यक्रममा गएको बेला इन्धन खर्च दिएका थिए । त्यो पैसाको इन्धन नै किनेर नगरपालिकालाई उपलब्ध गराएको छु ।’

नगरपाललिकाको कुनै एक योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने क्रममा आएका प्राविधिकले कति प्रतिशत कमिशन राखिदिऔं भनेर सोधेको एउटा किस्सा उनले सुनाए । 

‘डीपीआरको काम गर्ने प्राविधिकहरू आएका थिए । तपाईंको भागमा कति राखिदिऔं भनेर सोधे । मैले राख्नुपर्दैन भनें । त्यसोभए कर्मचारीलाई कति राखिदिनुपर्छ भनेर सोधे । मेयरले नलिएपछि कर्मचारीले कसरी लिन्छ भनें । उनीहरूले पत्याएनन् । ती प्राविधिहरूले सोधे, ‘के तपाईंले साँच्चिकै यसो भन्नुभएको हो ?’ मिश्रले जवाफ दिए, ‘अहिलेसम्म यस्तो सुन्नुभएको थिएन र ? मैले साँच्चै भनेको ।’

संवाद सुनिरहेका गजुरेलले थपे, ‘यहाँ कर्मचारीहरू नै बस्न मानेनन् । दायाँबायाँबाट कमाउन नपाउने भएपछि सरुवा मिलाउने र हिँडिहाल्ने गरेको हामीले प्रशस्त सुनेका छौं ।’ 

गजुरेलको कुरा सही हो भनेर मेयर मिश्रलाई सोध्यौं । उनले भने, ‘मेयरले पनि खाँदैन र कर्मचारीलाई खान पनि दिँदैन भने ऊ किन यहाँ बस्छ ? सरुवा खोजेर गइहाल्छ नि ।’ 

मिश्र आफ्नो बारेमा अरूले धेरै प्रशंसा नगरिदेओस् भन्ने ठान्दा रहेछन् । उनले भने, ‘यहाँको मेयर बोल्दैन । तर, कञ्चनरूप नगरपालिकाको काम बोल्नुपर्छ । नगरपालिकाभित्र भएको काम हेर्नुभयो भने मसँग कुरा गरिरहनै पर्दैन ।’ 

उनको बारेमा थप बुझ्न मन लागे यूनीसेफ, यूएनडीपी, डब्लूएचओको नेपाल प्रमुख, महालेखाबाट आएका कर्मचारीलाई सोध्दा हुने मिश्रले बताए ।

स्वास्थ्यमा क्रान्ति

मिश्र मेयर निर्वाचित भएपछि उनले स्वास्थ्य क्षेत्रमा ध्यान दिएर काम गरे । नगरपालिकाभित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालले भन्दा बढी सेवा दिनेगरी स्तरोन्नति गरेका छन् । 

स्वास्थ्य केन्द्रबाट उच्च रक्तचाप, मधुमेह लगायतका रोगको औषधि निःशुल्क उपलब्ध छ । रगतको सबैखाले जाँच गर्न सक्ने गरी प्रयोगशाला सञ्चालनमा छ । 

क्षयरोगको परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमै हुन्छ । त्यतिमात्रै होइन, क्षयरोगका लागि औषधिले काम गर्छ कि गर्दैन भन्ने परीक्षण (जिन सिक्वेन्सिङ) स्वास्थ्य केन्द्रमै गर्न मिल्छ । थाइराइडको परीक्षणको लागि पर्याप्त सुविधा छ । तीनजना एमबीबीएस डाक्टर सहितको २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा छ ।

गर्भवती महिलाको निःशुल्क स्वास्थ्य उपचार र एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको छ । महिनामा ४० वटासम्म प्रसूति सेवा उक्त स्वास्थ्य केन्द्रले दिइरहेको अनमी विष्णु खड्काले बताइन् । पिपरापूर्व, बरमझिया, ठेलिया र कञ्चनरूपमा बर्थिङ सेन्टरको सुविधा विस्तार गरिएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार उपलब्ध छ । ‘कुकुरले टोक्दा पनि उपचारका लागि राजविराज पुग्नुपर्थ्यो । तर, अहिले दाँत र आँखाको उपचार तथा प्रयोगशाला सबैको सुविधा स्वास्थ्य केन्द्रले दिनेगरी व्यवस्था मिलाएका छौं’, मिश्रले भने । 

त्यसबाहेक, प्रत्येक शनिवार हाडजोर्नी, जनरल फिजिसिएन तथा विशेषज्ञ डाक्टरले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । निःशुल्क बाहेकका अन्य औषधिमा १० प्रतिशत छुट दिइएको छ । 

उक्त स्वास्थ्य केन्द्रबाट मासिक ३ हजारभन्दा बढी बिरामीले सेवा लिइरहेको स्वास्थ्य केन्द्रका व्यवस्थापक वीरेन्द्र कुमार साहले बताए । ‘जिल्ला अस्पतालले दिनेभन्दा बढी सेवा स्वास्थ्य केन्द्रबाट दिइरहेका छौं’, साहले भने ।

यी सबै सेवा विस्तारका लागि नगरपालिकाले लगानी गरेको छ । आगामी दिनमा विशेषज्ञ डाक्टरको संख्या बढाउने गरी काम भइरहेको मिश्रले बताए । आफू मेयर निर्वाचित भएर आउँदा स्वास्थ्य चौकीमा १२ जना स्वास्थ्यकर्मी रहेकोमा अहिले ३६ जनाले काम गर्छन् । जनशक्ति व्यवस्थापनमा स्थानीयलाई प्राथमिकता दिएको मिश्रको भनाइ छ ।

गाउँको स्वास्थ्य केन्द्रमा राम्रो सेवा सुविधा हुँदैन तर, जनशक्तिलाई कसरी सहमत गराउनुभयो भन्ने प्रश्नमा मिश्रले भने, ‘मैले भनेपछि नमान्ने कुरै आउँदैन । सबैले सहयोग गर्छन् ।’

मिश्र भने अझै पनि आफ्नो नगरपालिकाभित्र स्वास्थ्य उपचारको अवस्था राम्रो नभइसकेको बताउँछन् ।

प्रतिबद्ध पूर्वाधार विकास

स्वास्थ्यमा जस्तै पूर्वाधार विकासमा पनि उनले प्रशस्त काम गरेका छन् । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा खानेपानी वितरणको काम भइरहेको छ । उक्त परियोजना सकिँदा ४ हजार ४६४ घर परिवारले शुद्ध पिउने पानी पाउने मिश्रले बताए । 

नगरपालिकाको हरेक टोलमा मिश्रले विद्युत् पुर्‍याएका छन् । गाउँको भित्रसम्मको बाटो ग्राभेल र पिच भएको छ । उनी भन्छन्, ‘नगरपालिकाभित्रको बाटोमा हिलो र पानी भेटिँदैन ।’

स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका मिश्रले आफ्नो कार्यकालमा शिक्षामा भने सन्तुष्ट हुने गरी काम गर्न सकेका रहेनछन् ।

‘शिक्षामा सोचे अनुसार काम गर्न सकिनँ । कोरोना महामारीले धेरै कुरा रोक्यो’, मिश्रले भने । 

उनले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाएको भए पनि अभिभावकहरू नै बालबालिकालाई विद्यालय पठाउन नचाहने भएकाले नगरपालिकाभित्रको शैक्षिक अवस्था कमजोर रहेको उनी बताउँछन् । ‘क्षमतावान विद्यार्थी छैनन् । अभिभावकहरू बच्चालाई स्कूल पठाउन चाहँदैनन्’, मिश्र भन्छन् ।

तर, पाँच वर्षको अवधिमा जनताले चाहेको भन्दा बढी काम गर्न आफू सफल भएको उनी बताउँछन् ।

‘पाँच वर्षको अवधिमा कठिनाइ बढी भयो तर, जनताले जति माग गर्नुभएको थियो त्यसभन्दा बढी काम गर्न सकें । त्यसमा सन्तुष्ट छु’, उनले भने, ‘सबै पक्षबाट सहयोग भएको भए अझ बढी गर्न सकिन्थ्यो ।’

...अनि टिकट पाएनन् 

२०७४ सालमा स्थानीय चुनावको मिति नजिकिँदा स्थानीय कमिटीले जित्ने उम्मेदवारको खोजी गर्‍यो । त्यसमा वसन्त मिश्रको नाम एकल सिफारिस भयो ।

‘मैले उम्मेदवार नबनाइदिनुहोस् भनेर सबैलाई भनेको थिएँ । तर, जित्ने पनि तपाईं विकास गर्ने पनि तपार्इं भनेर मलाई उम्मेदवार बन्न बाध्य बनाइयो’, मिश्रले भने । उम्मेदवार बनाउने बेलामा भनेजस्तै उनले जिते र विकास पनि गरे । 

२०७९ सालको स्थानीय चुनावका लागि उम्मेदवार छान्ने बेलामा अवस्था फेरियो । स्थानीय कार्यकर्ता मिश्रप्रति सन्तुष्ट थिए तर, पार्टी कमिटीका नेताहरू भने असन्तुष्ट ।

नेताहरूको स्वार्थको एउटै पनि काम मिश्रको कार्यकालमा नगरपालिकाबाट गरिएको थिएन । सोही कारण उनीहरू मिश्रलाई फेरि मेयरमा दोहोर्‍याउन चाहँदैनथे ।

मेयरको उम्मेदवारका लागि नगर कमिटीमा १३ जनाको दाबी पर्‍यो । मिश्रले दाबी गरेनन् । तर, नगर कमिटीले पहिलो नम्बरमा मिश्रकै नाम राखेर आकांक्षी १३ जनाकै नाम जिल्ला कमिटीमा सिफारिश गर्‍यो ।

उम्मेदवारको आकांक्षीको नाम सिफारिश हुनुअघि नै मिश्रलाई टिकट नदिने गरी पार्टीमा रिपोर्टिङ भएको थियो । मेयर भएपछि पार्टीको स्वार्थ सम्बोधन नभएको मुख्य कुरा थियो ।

मिश्र स्वयं भन्छन्, ‘नगरपालिकाभित्र प्रवेश गरेपछि को व्यक्ति कुन पार्टीको कार्यकर्ता भन्ने मैले थाहा पाउदिनँ । नगरपालिकामा जनता आउँछन्, सेवाग्राही आउँछन् ।’

आफूले टिकटका लागि कसैसँग अनुनय नगरेको उनी बताउँछन् । ‘टिकट माग्न काठमाडौं पनि गइनँ, कोही नेतालाई फोन सम्पर्क पनि गरिनँ’, मिश्रले भने ।

उनीप्रति स्थानीय पार्टी र नेता असन्तुष्ट हुनुको मुख्य कारण मिश्रले तिलगंगा आँखा अस्पताल र मदन भण्डारी खेल मैदानको लागि जग्गा नदिएको भन्ने रहेछ ।

नगरपालिकाभित्र रहेको जग्गामा आँखा अस्पताल खोल्न तिलगंगा आँखा अस्पतालले ९ कठ्ठा जग्गा ५१ वर्षको लागि मागेको रहेछ । मिश्रले भने ३१ वर्षसम्मको लागि र अस्पताल चलाउन चाहिने जति जग्गा मात्रै दिन सकिने बताएका रहेछन् ।

बसन्त मिश्र

‘नगरपालिकाभित्रको सबैभन्दा महङ्गो मूल्यको जग्गा ५१ वर्षको लागि मागिएको थियो । त्यसमा आँखा अस्पताल खोल्ने तर, सामान्य उपचार मात्रै हुने, गम्भीर उपचारको लागि काठमाडौं रिफर गर्ने प्रस्ताव थियो । जग्गा ओगट्नकै लागि मात्रै चाहिँ दिन सकिँदैन भनिएको हो’, मिश्र भन्छन्, ‘विद्युत्, खानेपानी दिन्छौं । जग्गा पनि उपयोग हुने जति मात्रै दिन्छौं । अनावश्यक जग्गा दिँदैनौं भन्यौं । त्यसपछि उहाँहरू आउनुभएन ।’

खेल मैदानका लागि १२४ बिगाहा मागिएको रहेछ । मिश्रले त्यो जग्गा पनि दिएनन् । ‘१२४ मध्ये २ बिगाहा दिन्छौं भनेका थियौं । बाँकी जग्गामा नगरपालिकाले नै शिक्षा र स्वास्थ्यको काम गर्ने योजना बनाएको छ ।’ 

स्थानीय नेतृत्व भने मिश्रले पार्टीसँग समन्वय नगरेको र एकलौटी निर्णय गर्ने गरेको आरोप लगाउँछन् ।

एमालेको जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज हरिहर बस्नेत भन्छन्, ‘खेल मैदान र आँखा अस्पतालका लागि ऐलानी जग्गा माग भएको थियो । उहाँले त्यो उपलब्ध गराउन सक्नुभएन । उहाँले जग्गा उपलब्ध गराउनुभएको भए क्यान्सर अस्पतालको पनि प्रस्ताव आएको थियो । पार्टीको सल्लाह मान्नुभएन । एकलौटी गर्नुभयो । माथिल्लो कमिटीमा उहाँको बारे यही रिपोर्टिङ थियो ।’

हरिहर बस्नेत

मिश्र भन्छन्, ‘पार्टीले मलाई राम्रो काम गर्न पठाएको हो । कार्यकर्ता पाल्न पठाएको होइन । नगरपालिकामा मैले कार्यकर्ता चिन्दिनँ ।’

यति सुनिसकेपछि हामीले मिश्रलाई सोध्यौं–

तपाईंको कामको आधारमा फेरि टिकट पाउनुपर्ने रहेछ । तपाईंको काम माथिल्लो कमिटीका नेताले थाहा पाएनछन् ?

मिश्रको जवाफ थियो, ‘अहिले त हरेक काम तत्काल सार्वजनिक भइहाल्छ । सोसल मिडियामा आइहाल्छ । थाहा पाएको हुनुपर्ने हो ।’

तर, आफूले टिकट नपाएको कुनै गुनासो भने नरहेको उनले बताए । ‘म उम्मेदवार हुँदा सबै पार्टीका मतदाताले मत दिएका थिए । अहिले पनि सबैले उम्मेदवार बन्न अनुरोध गरेका थिए । अघिल्लो चुनावमा सुरक्षा नलिई कुनै उम्मेदवार प्रचारमा हिँड्न सकेका थिएनन् । मैले कहिल्यै सुरक्षा लिनु परेन’, मिश्रले सुनाए, ‘म एक्लै पनि जनताको घरदैलोमा पुगेको थिएँ । कही समस्या भएन ।’

२०७४ सालको चुनावको बेला सप्तरीमा मधेश आन्दोलनको राप ताजै थियो । तर, मिश्रले भने निर्धक्क चुनावी प्रचार गरेका रहेछन् । 

तपाईंको कामबारे केन्द्रीय नेताको प्रतिक्रिया के पाउनुभएको छ भनेर उनलाई सोध्यौं । 

एमाले अध्यक्ष केपी ओलीसँग भेट हुँदा भने ओलीले मिश्रसँगबाट ठूलै आश गरेको बताउने गरेका थिए रे । ‘पार्टी अध्यक्षले भेट हुँदा पटक–पटक तपाईंबाट धेरै ठूलो आशा गरेको छु भन्नुहुन्थ्यो । सप्तरीमा सबैभन्दा मन परेको कार्यकर्ता वसन्त हो भन्नुहुन्थ्यो रे’, मिश्रले सुनाए ।  

राजनीतिमा अनवरत, पद गौण

राजविराजमा अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा जोडिएका मिश्र अनवरत राजनीतिमा छन् । तर, उनले कहिल्यै गुटको राजनीति गरेनन् । गुटको सेवा गर्नुपर्ने भयकै कारण सांसद पदको अवसर छाडिदिए । 

संवादमा क्रममा उनलाई सोध्यौं, सक्रिय राजनीतिक गरेको कति वर्ष भयो ? मिश्रको जवाफ थियो, ‘सुमन प्याकुरेल, दिवाकर देवकोटा र अग्नि खरेललाई विद्यार्थी राजनीतिमा नेतृत्व गरेको हुँ ।’

अहिले मिश्र एमालेको मधेश प्रदेश कमिटीमा सदस्य छन् । ‘मलाई पद चाहिँदैन भनेको थिएँ । प्रदेश कमिटीमा राखिदिनुभएको रहेछ’, उनले भने । 

पद नै नचाहिने भए किन राजनीति गर्नुभएको त ? प्रश्न सुनेपछि मिश्र एकछिन रोकिए । हाम्रो संवाद सुनिरहेकाहरू गलल्ल हाँसे । मिश्र बोल्न थाले, ‘पदको लागि भएको मारामार देखेपछि मलाई पद नलिऊँ नलिऊँ लाग्छ । पार्टीले आवश्यक ठान्यो भने पदमा लैजान सक्छ । पद चाहियो भनेर किन माग्दै हिँड्नु ?’

बाँचुन्जेल आलोचना र मृत्युपछि प्रशंसा गर्ने नेपाली प्रचलनसँग उनी रुष्ट रहेछन् । भन्छन्, ‘नेपालमा मान्छे मरेपछि कामको मूल्यांकन हुन्छ । बाँचुन्जेल मदन भण्डारीको सबैभन्दा बढी विरोध भयो । गिरिजाप्रसाद कोइरालाको त्यस्तै अवस्था भयो ।’

मेयरको आफ्नो कार्यकाल पनि त्यस्तै भएको उनले बताए । ‘जिम्मेवारीबाट हटेको ६ महिनापछि मेरो खोजी भइहाल्छ । मैले मेरो बारेमा बोलिरहनै पर्दैन । ६ महिनापछि सबैले मेरो बारेमा बोल्न थालिहाल्छन्’, मिश्रले भने । 

अघिल्लो संसदीय चुनावमा उनलाई केन्द्रीय नेताबाट टिकटको ग्यारेन्टी गराउने प्रस्ताव आएको रहेछ । उनले इन्कार गरेछन् । 

‘गुटको चाकरी गर्नुपर्छ भनेर मैले टिकटको ग्यारेन्टी गराउने कुरालाई इन्कार गरें । म गुटगत राजनीतिको विरोधी हुँ । गुटमा लागेन भने मान्छे कहिल्यै माथि पुग्दैन भन्ने थाहा छ । तर, म गुटमा लाग्न सक्दिनँ’, मिश्रले भने ।

आगामी संसदीय चुनावमा उनी टिकट माग्ने पक्षमा छैनन् । पार्टीले उपयुक्त ठान्यो भने अस्वीकार पनि गर्दैनन् । ‘पार्टीले जुन जिम्मेवारी दिन्छ त्यो त मान्नैपर्छ । नभए पार्टी छाड्नुपर्छ’, उनी भन्छन् ।

अविवाहित छन्, विगतमा फर्कदैनन्

उमेरको हिसाबले ६० को दशकमा रहेका उनले आफ्नो ठ्याक्कै उमेर खुलाउन चाहेनन् । उनका शुभचिन्तक गजुरेलका अनुसार, मिश्र करीब ६५ वर्षका भए । उनी आजीवन अविवाहित रहे । उनलाई विवाहमा रुचि भएन । 

बिहे नगरेकोमा अहिले पश्चात्ताप छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘बितेको कुरा म कहिल्यै सोचेर बस्दिनँ । विगतमा दुःख भयो भने त्यसलाई बिर्सने हो । भविष्यमा सुख खोज्ने हो ।’

मिश्र स्थानीय जनतासँगको घुलमिलमा रमाएका छन् । समाज रूपान्तरणमा आफूले सकेको योगदान गरेका छन् । पार्टी केन्द्रसँग बाक्लो उठबस छैन । ‘म केन्द्रीय नेतासँग खासै भेटघाट गर्दिनँ । उहाँहरूले पनि खासै खोज्नुहुन्न’, उनी भन्छन् । 

एक महिनाअघि विराटनगरमा पार्टी अध्यक्ष केपी ओलीसँग भेट भएको रहेछ । त्यसबेला पनि ओलीले ‘तपाईंसँग धेरै ठूलो आशा राखेको छु’ भनेका थिए रे । अरू भेटमा पनि ओली यस्तो भन्ने गरेका थिए । 

ठूलो आशा भनेको के होला ? मिश्रको उत्तर छ, ‘त्यो मैले पनि उहाँलाई सोधेको छैन । तर, उहाँले धेरै ठूलो आशा राखेको छु भनेर अरूलाई भनेको चाहिँ मैले सुनेको छैन ।’

ठूला आशा त राखेका रहेछन् तर, मेयरको टिकट त दिएनछन् नि ? प्रश्न सुनेपछि उनी मुस्कुराए । उनको मुखबाट कुनै शब्द निस्किएन । 

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

असोज १, २०७९

मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ । मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्...

भदौ २५, २०७९

खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी जागिरे छन् । जेठा रुद्रप्रसाद कोशी अस्पतालको लेखापाल...

भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ १८, २०७९

नेपाल सरकारको सचिव पदमा पुगेर डा. मानबहादुर बीके १ वर्षअघि सेवानिवृत्त भए । नेपालको इतिहासमा दलित समुदायबाट नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा पुग्ने पहिलो व्यक्ति पनि हुन् डा. बीके । त्यो प...

भदौ १८, २०७९

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि जलमग्न हुन थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको च...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x