
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले आफ्नो पार्टीका विरुद्ध अग्रिम नक्कली मतपत्र छापी वितरण गर्ने, उत्तेजना पूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको आरोप लगाएका छन् । स्थानीय निर्वाचन अन्तरगत मतदान सकिएसँगै एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका छन् । ओलीले सत्ताधारी गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि बताएका छन् ।
‘ हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौँ । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो’, ओलीले भनेका छन्, ‘तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत ग¥यो । लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो ।’
स्वच्छ निर्वाचन विपरितका घटना भएको भन्दै ओलीले यसलाई गम्भीरतापूर्वक लिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।