
काठमाडौं, १ साउन – सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘शायद’ लाई दर्शकले रुचाए । युवापुस्ताको कथामा आधारित उक्त चलचित्रले दर्शकको साथ पायो । कलाकारको अभिनयले पनि समीक्षकको तारिफ पायो ।
त्यसको पाँच वर्षपछि यतिबेला हलमा चलचित्र ‘शायद २’ प्रदर्शनमा आएको छ । युवापुस्ताकै विषयवस्तु उठान गरिएको चलचित्र ‘शायद २’ मित्रता, प्रेम र धोकाको वरिपरि घुम्छ ।
चलचित्रको कथालाई सिनेमामा बलियो जगका रुपमा लिइन्छ । तपाईलाई शुरुमै भनौं, यो चलचित्रको जग बलियो छ । फिल्मलाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।
यो एउटा प्रेमकथा हो । रोहन (कुशल पाण्डे) ले सानैदेखि अर्पी (स्यारोन श्रेष्ठ) लाई मन पराएको हुन्छ । धेरै हिम्मत जुटाएर अर्पीलाई प्रेमप्रस्ताव राख्दा आफूले साथीमात्र सोचेको भन्दै रोहनको प्रस्ताव अस्वीकार गरिदिन्छे ।
जुनै हालतमा पनि अर्पी मेरो भइदिए हुन्थ्यो भनेर लागिपरेको रोहनलाई उसको मिल्ने साथी रवि (अमृत ढुंगाना) ले कसैलाई प्रेमको नाटक गर्ने र ऊ पीडामा हुँदा सहानुभूति दिँदा केटी पट्टिन्छे भन्ने सल्लाह दिन्छ । प्रेमको नाटक गर्न आग्रह गरिदिन रोहन र रविले अनुराग (सुशील श्रेष्ठ) को साथ माग्छन् । चलचित्र त्यही सल्लाहको वरिपरि फनफनी घुम्छ । त्यसपछि के हुन्छ?
फिल्मको सबल पक्ष भन्नु यसको कथा नै हो । कथा मात्र होइन, केदार भुसालले लेखेका संवाद पनि चोटिला छन् । चलचित्रका पात्र एकअर्कासँग जेलिएका छन् । कथानक ६ पात्रको वरिपरि घुमेजस्तो लागेपनि अनुराग, स्यारोन, रवि र राहुलको वरिपरि यसका मुख्य पात्र हुन् ।
चलचित्रमा सुशील श्रेष्ठ र सरोनलाई जोडीका रुपमा देखाइएको छ । प्रेमी प्रेमिकाका रुपमा देखिएका यी दुईको जोडी सुहाउँदो लाग्छ । सुशील श्रेष्ठले आफूलाई ‘लभर ब्याइ’ को भूमिकामा उभ्याएका त छन् तर उनको अभिनय अन्य सिनेमामा भन्दा फरक छैन । उनको चरित्रलाई निर्देशकले पृथक बनाउन सकेका छैनन् । स्यारोनको अभिनय पनि सामान्य लाग्छ ।

बरु अमृत ढुंगानाले आफूलाई भूमिकामा फिट बनाउन खोजेका छन् । सिनेमाको चरित्रले पनि उनलाई साथ दिएको छ । कुशल पाण्डेले पनि आफ्नो भूमिकालाई सक्दो दमदार बनाउने प्रयास गरेका छन् । तर, केही दृश्यमा मात्र उनले आफ्नो अभिनयलाई बोल्ड बनाउन सकेका छन् । भलै कुनै पनि कलाकारको अभिनय त्यति नाटकीय भने लाग्दैन ।
चलचित्रको अर्को आकर्षक पक्ष यसको छायांकन हो । खासगरी पोखरा वरिपरिका दृश्यलाई ड्रोनबाट आकर्षक बनाएर फ्रेममा उतारिएको छ । सिनेमाटोग्राफर राजु विक्रम थापाले अन्य दृश्यलाई पनि लोभलाग्दो बनाएका छन् । फिल्मको पूरै छायांकन पक्ष सफाचट लाग्छ ।
गीत संगीत र पाश्र्व ध्वनि भने औसत छ । संगीतको धुन ‘शायद’ को हिट गीतमा आधारित छ । फिल्ममा द्वन्द्वले राम्रै स्थान पाएको छ । अब के होला भन्ने प्रश्न सिनेमा हेरिसकेपछि पनि दर्शकको मनमा उठिरहन्छ ।
यति हुँदाहुँदै पनि सिनेमाका केही दृश्य अन्य चलचित्रबाट प्रभावित भएजस्तो लाग्छन् । कुनै संवादहरु फिल्मलाई जबरजस्ती लम्बाउन खोजेजस्तो लाग्छ । सिनेमालाई संवादकै माध्यमबाट मात्र अगाडि बढाउन खोजेको अनुभव हुन्छ । पात्रले क्यामेराको अगाडि आफ्नो भूमिकालाई फराकिलो बनाउन सकेको भए सिनेमा अझै आकर्षक बन्न सक्थ्यो ।
तर, पछिल्लो समय बजारमा ह्वारह्वार्ती रिलिज भएका नेपाली चलचित्रका तुलनामा भने यो चलचित्रले तपाईलाई सान्त्वना दिन्छ । ‘शायद २’ युवावर्गले मात्र होइन, अरु दर्शकले पनि रुचाउने प्रशस्तै कारण छन् सिनेमामा । समग्रमा सिनेमा राम्रो छ । हेर्नुभए हुन्छ ।