
कैलालीको थारु बहुल्य कैलारी गाउँपालिकास्थित उत्तर भर्री गाउँका भलमन्सा (बरघर) वडाध्यक्षमा निर्वाचित भएका छन् ।
गाउँपालिका–३ उत्तर भर्री गाउँका भलमन्सा सन्तराम चौधरी (५४) वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी पछिल्लो २ वर्षदेखि गाउँको भलमन्सा (बरघर) अर्थात गाउँ प्रमुखको भूमिकामा छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनी आफ्नो पूरै प्यानलसहित फराकिलो मतान्तरका साथ निर्वाचित भएका हुन् ।
सोमवार सम्पन्न मतगणनाको मतपरिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्व वडाध्यक्ष कैलाश चौधरीलाई २३९ मतले हराउँदै बिजयी भएका हुन् ।
उनले १ हजार १२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कैलाश चौधरी ७४२ मतमा सीमित भएका छन् ।
सशस्त्र प्रहरीका पूर्व डीएसपी पनि
गाउँको भलमन्साबाट राजनीतिमा प्रवेश गरेका उनी लामो समय सशस्त्र प्रहरीको फौजलाई ‘कमाण्ड’ गरेका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि हुन् । आफ्नो जीवनको ३० वर्ष सशस्त्र प्रहरीमा कार्यरत रहेका उनले २०७५ असोज १ गते सेवाबाट अवकाश लिएका थिए ।
प्रहरी संगठनभित्र लामो समयसम्म प्रशिक्षक भई काम गरेको अनुभव उनी सुनाउँछन् ।
उनका अनुसार सशस्त्र प्रहरी जवानदेखि सेवा गरेका उनी ११ वर्षसम्म्म सशस्त्र प्रहरी निरीक्षक र ३ महिना सशस्त्र प्रहरी नायव उपरीक्षकको जिम्मेवारी निर्वाह गरेका छन् । मुस्तांङ जिल्लामा जिल्लास्तरको सशस्त्र प्रहरी बेस क्याम्पसको नेतृत्व गरेका थिए भने सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा १२ वर्षसम्म प्रशिक्षकको रूपमा कार्यरत थिए ।
प्रहरी सेवापछि उनी २३७ घर र १ हजार बढी जनसंंख्या रहेको आफ्नै गाउँमा भलमन्साको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
भलमन्साको जिम्मेवारीदेखि नै आफूमा राजनीति गर्ने सोच पलाएको उनी सुनाउँछन् । वडाध्यक्षमा निर्वाचित भइसकेपछि अब गाउँको सहायक भलमन्सालाई कार्यबाहक दिने उनले बताएका छन् ।
निर्वाचित भएपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब मेरो कार्यक्षेत्र एउटा गाउँ मात्रै सेवा गर्ने जिम्मेवारी रहेन, पूरै वडा हो । त्यसकारण गाउँको सहायक भलमन्सालाई जिम्मेवारी दिन्छु । गाउँ समाजको सल्लाह अनुसार नै होला ।’
उनले अब आफ्नो पहिलो प्राथमिकता जनताको माग सम्बोधन गर्ने रहेको बताउँछन् । वडास्थित मोहनापारीका सीमावर्ती बाढी पीडित मोहनपुर, शिवरत्नपुर लगायत बस्ती लक्षित कार्यक्रम गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले ती बस्तीलाई जोड्न मोहना नदीमा झोलुङ्गे पुल र नदी कटान नियन्त्रणको लागि पहल गर्ने समेत प्रतिबद्धता सुनाए ।
कैलारी गाउँपालिकाले ल्याएको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐनलाई कार्यान्वयन गर्दै भलमन्सा प्रथा संरक्षण तथा विकासको लागि कार्यक्रम गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।