
सर्लाहीको बागमती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भरत थापा दोहोरिएका छन् ।
बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार थापा ११ हजार ३५७ मत ल्याएर विजयी भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
देशकै ‘भिजनरी’ मेयरको छवी बनाएका थापाले उक्त नगरपालिकामा मेयरमा अरु सबै प्रतिस्पर्धीले पाएको कुल मतभन्दा १७ सय बढी ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका टंकबहादुर बस्नेतले ७ हजार ३६८ मत मात्रै पाएका छन् ।
थापासँग अरू दल र स्वतन्त्र उम्मेदवार समेत गरेर नौ जनाले मेयरमा प्रतिस्पर्धा गरेका थिए । उनीहरू सबैले पाएको मत जोड्दा ९ हजार ६५८ मात्रै हुन्छ । थापा एक्लैले ११ हजार ३५७ मत पाएका छन् ।
बागमती नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार लीलाकुमारी मोक्तान विजयी भएकी छन् । उनले १० हजार ८७९ मत पाइन् । उनले पनि उपप्रमुखका अन्य सबै उम्मेदवारले पाएको मतको योगफलभन्दा बढी मत पाएकी छिन् ।
बागमतीको उपप्रमुखमा एमालेले सरिता घिसिङलाई उम्मेदवार बनाएको थियो । उनले ७ हजार ७०५ मत मात्रै पाइन् । कांग्रेसको उम्मेदवार पदमकुमारी अधिकारीले १ हजार ९८८ मत ल्याइन् । राप्रपाको मनकुमारी कामीले ७९ र मंगोल नेशनल अर्गनाइजेशनका कन्चन पुलामीले जम्मा २९ मत मात्रै पाए ।
उक्त नगरपालिकाको जम्मा १२ वटा वडामध्ये माओवादी केन्द्रले मात्रै १० वटा वडामा जीत हासिल गरेको छ । ८ नम्बर वडा एमाले र ९ नम्बर वडामा कांग्रेसले जितेको छ ।
अघिल्लो कार्यकालमा मेयर थापाले नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेका थिए । नगरपालिकालाई आत्मनिर्भर बनाउन उनले गेम चेन्जर पूर्वाधार परियोजना निर्माण गरिरहेका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा थापाको नेतृत्वमा नमूनायोग्य काम भएको छ । पूर्वाधार विकासमा नगरपालिकाले करोडौं लगानी गरेका छन् ।
केही वर्षमा नगरपालिकाले आन्तरिक स्रोतबाटै आत्मनिर्भर हुने गरी योजना कार्यान्वयन गरिरहेको छ ।
पढ्नुहाेस् याे पनि