
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको अन्तिम मत परिणाम आउनु पूर्व नै नेकपा एमालेका उम्मेदवारहरूले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई एवम शुभकामना दिएका छन् ।
नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्त पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले केही समय अघि हेटौंडा २ स्थित सिद्धार्थ माविमा भएको मतगणना स्थलमा पुगी गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकी मीना लामा र नेपाली काङ्ग्रेसका उपमेयरका उम्मेदवार राजेश बानियाँलाई खादा लगाएर बधाई एवम शुभकामना दिएका हुन् ।
१९ वटा वडा रहेको उपमहानगरमा अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको अन्तिम चरणको मतगणना भइरहेको छ ।
गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट मेयरकी उम्मेदवार मीना लामाले अग्रता कायम राखेकी छन् । हालसम्म ६६ हजार ६६९ मतगणना हुँदा लामाले २१ हजार ३८८ मत प्राप्त गरेकी छन् । एमालेका अनन्त पौडेलले १८ हजार ५३५ मत प्राप्त गरेका छन् ।
राप्रपाका दीपकबहादुर सिंहले १७ हजार ६८९ मत प्राप्त गरेका छन् । लामाले २ हजार ८५३ को अग्रता कायम राखेकी छन् । अब लगभग ६५ सय मत गणना गर्न बाँकी छ । हाल मतगणना भइरहेको स्थानमा लामाकै अग्रता रहेका कारण उनी विजेता हुने अड्कल काट्न थालिएको छ ।