
रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका चित्रबहादुर कार्कीसँग बदला लिएका हुन्।
शर्माले कार्कीलाई ५८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६८६ मत ल्याउँदा कार्कीले १५ हजार १०४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए।
त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए। कांग्रेसले मेयरमा बदला लिएपनि उपमेयरमा भने एमालेकै विना राना दोहोरिएकी छन्। रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर महतलाई २ हजार ४२ मतान्तरले पराजित गरिन्।
२०७४ सालमा पनि एमालेबाटै उपमेयरमा निर्वाचित भएकी रानाले यसपालि १५ हजार ७६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए।