
विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् ।
उनी ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् ।
एमाले उम्मेदवार सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ४५५ मत पाएका छन् ।
मेयरमै राप्रपाका प्रह्लादप्रसाद साहले ५ हजार २१६ मत पाएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९९५ मत पाएका छन् ।
उपमेयरमा शिल्पा निरौला कार्की विजयी बनेकी छन् । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन् ।
शिल्पाले २५ हजार ६८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २१९ मत मात्रै ल्याएका छन् । राप्रपाकी बिन्दा आचार्य दाहालले ६ हजार ४०१ मतमा पाएकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत पाएकी छन् ।
कोइराला परिवारमा विराटनगरको बागडोर
विराटनगरमा कोइराला परिवारले ३१ वर्षपछि मेयर पाएको छ । २०१४ सालमा केशवप्रसाद कोइरालाले विरानगरको मेयरमा जितेका थिए भने २०४९ सालमा अशोक कोइरालाले जितेका थिए ।
अशोक मेयर भएको ३१ वर्षपछि नागेशले कोइराला परिवारको विरासत फर्काएका छन् । ३ जना प्रधानमन्त्री बनाएको कोइराला निवासले तेस्रो मेयर बनाएको छ ।
तरुण दलदेखि मेयरसम्मको नागेशको यात्रा
विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक परिवारका सदस्य हुन् । उनको जन्म २०३० असार ३१ गते भएको हो । उनी ऋषिकेश कोइरालाका नाति र उमेश कोइरालाका छोरा हुन् ।
बीपी कोइराला र गिरिजाप्रसाद कोइराला परिवार भित्रैका नभए पनि उनीहरू नजिकका नातेदार हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशबीच काका–भतिजाको सम्बन्ध छ ।
उनी अस्ट्रेलियामा पढेर नेपाल फर्किएका हुन् । तरुण दल मोरङको कोषाध्यक्ष भएपछि उनी सक्रिय राजनीतिमा आएका हुन् ।
तरुण दलमा आवद्धतापछि उनी नेपाली कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेसका उपसभापति छन् ।
कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा लामो विवाद भएको थियो । विवादबीच शेखरले सभापति शेरबहादुर देउवासँग कुनै हालतमा नागेशले टिकट पाउनुपर्ने अड्डी कसेका थिए । शेखरकै अड्डीबीच डिला संग्रौला र अमृत अर्याल सहितका चर्चित नेतालाई पछि पार्दै नागेश मेयरको दौडमा निस्किएका हुन् ।
‘पहिलो निर्णयबाट नै कर घटाउँछु’
विराटनगर महानगरपालिकाको मेयरमा विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नागेश कोइरालाले विराटनगरवासीले चाहेजस्तो विकासको काम गरेर अगाडि बढ्ने बताए । शिक्षा, स्वास्थ्य र सरसफाइलाई ध्यान दिएर आफूले काम गर्ने उनले बताए ।
उनले पार्टीको घोषणापत्र अनुसार काम गरेर देखाउने बताए । मेयर पदमा निर्वाचित भएपछि उनले सबैलाई करको दायरामा ल्याउँदै समयसापेक्ष कर निर्धारण गर्ने बताए ।
‘व्यापार व्यवसायमा अहिले बढेको कर घटाउने छु,’ उनले भने, ‘करको दायरा बढाउने छु ।’
‘नगरवासीहरूको हकहितको लागि विशेष काम गर्छु । बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउँछु,’ उनले भने, ‘विराटनगरलाई सफा, सुन्दर र सुरक्षित शहर बनाउने छु ।’
को हुन् उपमेयर शिल्पा ?
२०३५ सालमा जन्मेकी शिल्पाले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा तय गरेकी हुन् । शिल्पाले घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्ष, लाइन्स क्लब तथा रोटरी क्लबको अध्यक्ष, जनपथ माविको विद्यालय व्यवस्थापन समिति, कोशी अञ्चल व्यवस्थापन समिति जस्ता संघसंस्थाको नेतृत्व गरेकी छन् ।
नेकपा एमाले विराटनगर महानगर कमिटी उपाध्यक्ष समेत रहेकी शिल्पा अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटी अध्यक्ष समेत हुन् । उनी ‘फेसन डिजाइनर’ समेत हुन् ।