३२ असार २०८३, बिहीबार

कांग्रेसबाट नपत्याइएका बरईले प्रगतिशीलबाट जितेर देखाइदिए

जेठ ७, २०७९
कांग्रेसबाट नपत्याइएका बरईले प्रगतिशीलबाट जितेर देखाइदिए

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन । 

पार्टीले उनलाई टिकट नदिएर ज्ञानप्रकाश मिश्रलाई दियो । बरईले टिकटका लागि पटक–पटक पुनर्विचार गर्न आग्रह गर्दा पनि पार्टीले कुनै सुनुवाइ गरेन । 

रूपन्देहीको दक्षिणी मधेश बाहुल क्षेत्र हो, मर्चवारी गाउँपालिका । यहाँका गाउँवासीले उनलाई जनप्रतिनिधि भएर सेवक बनेको देख्न चाहन्थे । 

जनताको चाहना र आफ्ना इच्छालाई उनले मर्न दिएनन् । कांग्रेस छाडेर उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीमा प्रवेश गरेर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए । 

जनताको सुख दुःखमा रमाउँदै आएका बरईले दुई साता चुनाव प्रचारमा खटिएर आफ्नो पुरानो पार्टीका उम्मेदवारलाई पराजित गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्् । 

बरईले कांग्रेसका उम्मेदवार ज्ञानप्रकाश मिश्रालाई एक हजार १४० मतान्तरले पराजित गरे । बरईले ४ हजार ३८५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी मिश्राले ३ हजार २४५ मत प्राप्त गरे ।

मर्चवारी नै जनता प्रगतिशीलले जितेको रुपन्देहीको एक मात्र पालिका हो । जनता प्रगतिशीललाई यो सफलता दिलाउने ४५ वर्षीय गया समाजसेवामा पनि सक्रिय थिए । 

उनको चुनाव चिह्न काँधमा कोदालो बोकेको किसान हो । बरईसँगै गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छन् । 

कांग्रेस उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् । 

सिंहले २ हजार ९६५ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार यादवले २ हजार ४०९ मत प्राप्त गरिन् । 

त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर ५ मा पनि जनता प्रगतिशील पार्टीका उम्मेदवार कुष्णकुमार सिंह ५४४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भए । बरईले गाउँपालिकाको विकासका लागि आफू लागिपर्ने बताए । उनले जनताको अमूल्य मतबाट आफू निर्वाचित भएकाले जनताको पक्षमा काम गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्