
गतवर्षको निकै हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद मिलेको छ । गीतका गीतकार नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेल र मोडल ओबी रायमाझीबीचको विवाद मिलेको हो ।
गीत हिट भएसँगै गीतकार, गायक र लगानीकर्तासँग मोडलको सम्बन्ध बिग्रिएको थियो । कुनै समय निकै घनिष्ट मानिने नेत्र र खेमसँग मोडल ओबीको बिग्रिएको सम्बन्धलाई लिएर लोकदोहोरी क्षेत्रमा अनेक टिकाटिप्पणी हुने गरेका थिए ।
मोडल ओबीले केही समयदेखि विवाद र असमझदारीको रहेको विषयमा आफूहरू प्रष्ट भएको बताएका छन् । नेत्र र खेमसँगको तस्वीर फेसबुकमा पोष्ट गर्दै उनले जानी नजानी भएका गल्तीहरू आफुहरूले महशुस गरेको उल्लेख गरेका छन् ।
आफ्नो सांगीतिक यात्रामा डोर्याउँदै अहिलेको स्थानसम्म ल्याउने श्रेय समेत गायक खेम र गीतकार नेत्रलाई दिएका छन् ।

उनले लेखेका छन् –‘मेरो सागीतिक यात्रामा सुरुवात देखिनै डोर्याउँदै यो स्थान सम्म ल्याउनुभएका आदरणीय दाइहरू खेम सेञ्चुरी, नेत्र अर्याल साथै रम रम मरौटी गीतकी निर्माता प्रिन्सेस खरेलप्रति मेरो सधै सम्मान छ र रहिरहने छ ।’
उनले आफूहरूको असमझदारीकोबीचमा केही व्यक्तिहरूले नराम्रो भूमिका खेलेको र त्यसको सिकार स्वयं बन्न पुगेको बताएका छन् ।
ओबीले गीतसँग सम्बन्धित विवाद टुंगिएको अवगत गराउँदै लेखेका छन् ‘हामीबीचको सद्भाब, भाइचारा जूगौं जूगसम्म रहिरहने छ ।’
खेम र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा ओबी अभिनेत्री पूजा शर्मासँग प्रस्तुत छन् । भिडियोले हालसम्म २ करोड ८४ लाख बढी भ्युज पाएको छ ।