युक्रेनको युद्धभूमिमा रुसले लगातार सफलता पाउँदै गएपछि जेलेन्स्कीका पश्चिमी समर्थकहरूको पसिना छुट्न थालेको छ ।
डोनबास क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरको आधा जस्तो भाग रुसको नियन्त्रणमा पुगेको छ । उत्तर, उत्तरपूर्व र दक्षिणपूर्व तर्फबाट अगाडि बढेको रुसी सेनाले उक्त शहरको बाहिरी पूरै तथा मध्यभागका पनि कतिपय क्षेत्रबाट युक्रेनी सैनिकहरूलाई भगाइसकेको छ ।
रुसले निर्णायक विजय प्राप्त गर्न लागेपछि आत्तिएको अमेरिकाले लामो समयसम्म अनिच्छा देखाएको भए पनि अहिले आएर लामो दूरीको रकेट युक्रेनलाई उपलब्ध गराउने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले अत्याधुनिक रकेट प्रणाली हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) दिने निर्णय लिएको बताए ।
युक्रेनले लामो दूरीको रकेटबाट रुसी भूमिमा आक्रमण गर्न सक्ने र त्यसको प्रतिशोधमा रुसले युद्धलाई थप चर्काउने डरले बाइडन प्रशासन त्यस्ता रकेट दिन अनिच्छुक थियो । तर डोनबासमा युक्रेनी सेनाको घेराबन्दी गरेर निर्णायक युद्ध जित्ने स्थितिमा रुस पुगेपछि बाइडनको सोच बदलिएको हो ।
यस हतियारको उपयोग गरी युक्रेन रुससँगको सम्झौताका लागि बलियो बन्ने र युद्ध अन्त्य गर्नका लागि कूटनीतिक पहल निस्कने बाइडन प्रशासनको अपेक्षा छ । तर अमेरिकी अधिकारीहरूले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई यी हतियारको प्रयोग रुसी भूमिमाथि आक्रमणका लागि गरिने छैन भन्ने प्रत्याभूति लिएपछि मात्र दिएको बताइएको छ ।
यस हतियारले ७५ किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । युक्रेनसँग अहिले त्यति परसम्म हान्न सक्ने हतियार छैन ।
तर अमेरिका तथा पश्चिमले जति र जस्तो हतियार उपलब्ध गराए पनि रुसी सेनालाई अघि बढ्नबाट रोक्न सकेको छैन । सकेसम्म कम सर्वसाधारण मारिऊन् भनी सुस्त गतिमा तर युद्धमा निर्णायक सफलता हासिल गर्ने विधिका साथ रुसी सेनाले कारवाही चलाइरहेको छ ।
युद्धकालभरि पश्चिमी सञ्चारमाध्यम तथा राजनीतिकर्मीहरूले युक्रेनलाई दिइएका अत्याधुनिक हतियार तथा रुसमाथि लगाइएका कठोर प्रतिबन्धका कारण डोनबासको युद्धभूमिमा शक्तिसन्तुलन युक्रेनको पक्षमा फर्किने बताउँदै आएका थिए । पश्चिमले उपलब्ध गराएको एन्टी ट्यांक तथा एन्टी एयरक्राफ्ट हतियारले रुसी आक्रमणलाई पूरै रोक्ने उनीहरूको दाबी थियो ।
तर ती हतियारले रुसी सेनालाई रोक्न नसकेपछि पश्चिमले युक्रेनलाई भारी हतियार उपलब्ध गराएर रुसलाई हराउने भाष्य खडा गरियो । अमेरिकाको हावित्जर तोप, बेलायत र अस्ट्रेलियाको सशस्त्र वाहन, डेनमार्कको एन्टी शिप क्षेप्यास्त्र र अहिले आएर अमेरिकाको लामो दूरीको मल्टिपल रकेट लोन्चर सिस्टमले युक्रेनलाई युद्धभूमिमा विजय दिलाउने गफ हाँकिदैछ ।
तर युक्रेनी सैनिकहरूलाई यी हतियार चलाउने तालिम नदिइएको र यसलाई लिएर गरिने युद्धको पर्याप्त अनुभव नभएको तीतो सत्य हो । त्यसबाहेक युक्रेनी सैनिकसँग रहेको हतियारभन्दा निकै धेरै आर्टिलरी रुसी सेनासँग छ । अझ, रुसले युक्रेनको आकाशमा प्रभुत्व कायम गरिसकेको छ र उसको वायुसेनाले गर्ने सटीक प्रहारका कारण युक्रेनी सेनाले धेरै क्षति बेहोर्नुपरेको छ ।
पश्चिमले उपलब्ध गराएको हतियारलाई दिनदिनै रुसले भारी संख्यामा नष्ट गरिरहेको छ । नष्ट मात्र नभई रुसी सेना तथा डोनेत्स्क र लुगान्स्कका मिलिसियाहरूले पश्चिमी हतियार कब्जामा समेत लिइरहेका छन् ।
दिनदिनै सयौं संख्यामा युक्रेनी सैनिकहरूले ज्यान गुमाइरहेका छन् । उनीहरू कमान्डरका आदेश मान्न अस्वीकार गर्दै रुसी सैनिकहरूसामु आत्मसमर्पण गरिरहेका छन् । पश्चिम सञ्चारमाध्यम पढ्दा यी कुरा थाहा हुँदैनन् तर टेलिग्रामका स्वतन्त्र च्यानलहरूका सामग्री हेर्दा सत्यतथ्य जानकारी पाइन्छ ।
अब रुसी सैनिकहरूले डोनेत्स्क र लुगान्स्क क्षेत्रका बाँकी शहरहरू नियन्त्रणमा लिने कोशिश गर्नेछन् । पश्चिमले लगाएको प्रतिबन्ध वा उपलब्ध गराएको हतियारले उनीहरूलाई रोक्न सक्ने देखिँदैन ।
रुसले युक्रेनमा सैन्य कारवाही शुरू गर्नुका चार उद्देश्य छन् : डोनबास क्षेत्रलाई युक्रेनी दमनबाट मुक्त गर्ने, युक्रेनलाई निःशस्त्रीकरण गर्ने, युक्रेनलाई नाजीविहीनीकरण गर्ने र युक्रेन नेटो वा अन्य कुनै सैन्य गठबन्धनमा नजोडिनका लागि तटस्थताको प्रत्याभूति गराउने ।
पहिलो लक्ष्य पूरा गर्नका लागि रुसले सम्पूर्ण डोनबास क्षेत्र नियन्त्रणमा लिनुपर्ने हुन्छ । त्यसैले त्यहाँका अन्य शहरलाई युक्रेनको नियन्त्रणबाट मुक्त नगराउन्जेल रुसी सेना चुप लागेर बस्ने छैन ।
माथि पनि उल्लेख भएअनुसार, रुसी सैनिकहरूले सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रलाई नियन्त्रणमा लिइसकेका छन् । उनीहरूले युक्रेनी सेनालाई आजोट औद्योगिक क्षेत्रतर्फ जान बाध्य बनाएका छन् ।
उता लिसिचान्स्क शहरमा रुसले भारी गोलीबारी गरेर युक्रेनी सैन्य इकाइलाई काउन्टरअफेन्सिभ गर्नबाट रोकेको छ । अर्को चरणमा क्रामाटोर्स्क र स्लाभयान्स्क शहरलाई रुसले नियन्त्रणमा लिने कोशिश गर्ने सैन्य विश्लेषकहरूको मत छ ।
डोनेत्स्क र लुगान्स्क पूर्ण रूपमा युक्रेनी नियन्त्रणबाट मुक्त भएपछि रुसी सैनिकहरू कता जानेछन् भन्ने स्पष्ट छैन । केही विश्लेषकहरूले रुस त्यसपछि माइकोलाइभ (निकोलाएभ) तर्फ बढ्ने र त्यहाँबाट अघि बढ्दै ओडेसा पनि नियन्त्रणमा लिने अनुमान गरेका छन् । त्यसपछि मोल्दोभाबाट टुक्रिएको रुसीभाषीहरू बस्ने ट्रान्सनिस्ट्रियासम्मको स्थलमार्ग बनाउने रुसको रणनीति रहेको उनीहरू बताउँछन् ।
जे होस्, युद्ध लामो समयसम्म जाने लक्षण देखिँदैछ । बेलायती थिंकट्यांक रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका माइकल क्लार्कले टाइम्स पत्रिकामा लेखेको लेखमा उल्लेख भएअनुसार, रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक र हातहतियार गुमाएको भए पनि दुवै थाकेका छैनन् ।
रुससँग पर्याप्त जगेडा सैनिक छन् र सैन्य उपकरणको भण्डार पनि विशाल छ । युक्रेनसँग प्रतिरक्षात्मक युद्ध लड्ने उत्साह छ र उसलाई विदेशी हतियार पनि भारी संख्यामा उपलब्ध गराइएको छ । त्यसैले युद्ध लम्बिन सक्छ तर डोनबास क्षेत्रमा भएको लडाइँको परिणामले युद्धको दिशा तय गर्ने देखिन्छ ।
विशेषगरी डोनबास क्षेत्रमा युक्रेनी सैनिकहरूको पराजय भएपछि चाहिँ युक्रेनी सरकारसामु सीमित विकल्प मात्र हुनेछन् । ठूलो संख्यामा तथा युद्धकलामा दक्ष सैनिकहरू सबै डोनबासमा खटिएकाले तिनको विनाश हुने अवस्था आएमा युक्रेन सरकारले सेना बचाउनका लागि डोनबास त्याग्नुपर्ने हुन सक्छ । तर त्यसो गर्दा युक्रेनका उग्रराष्ट्रवादीहरूले जेलेन्स्कीविरुद्ध मोर्चा खोल्नेछन् र उनलाई सत्ताच्युत गरी कठोर दण्ड दिनेछन् ।
नत्र भने युक्रेनको अन्तिम सैनिक नमारिउन्जेलसम्म डोनबासमा लडिरहन सरकार बाध्य हुनेछ । त्यस्तो स्थितिमा युक्रेनी सेना, डोनबास क्षेत्र र देशका अन्य भूभाग पनि गुम्ने खतरा हुनेछ ।
युद्ध लम्बिँदै जाँदा पश्चिम, विशेषगरी अमेरिका, ले कस्तो रणनीति अपनाउँछ, त्यो हेर्न चाखलाग्दो हुनेछ । युद्ध तीन महिनाभन्दा बढी गइसक्दा संसारको ध्यान बिस्तारै युक्रेनबाट हट्दैछ । अमेरिकाका युद्धपिपासु मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनलाई पहिले जति प्राथमिकता दिन छोडेका छन् । अनि अमेरिकाको ध्यान रुसतर्फ नभई चीनतर्फ जानु आवश्यक छ भन्ने आवाजहरू पनि चर्किन थालेका छन् ।
त्यसो भए अमेरिकीहरूले युक्रेनलाई रुससँग सम्झौता गर्न बाध्य बनाउँछन् त ? कि उनीहरूले कुनै एउटा घटना गराएर युक्रेनमा नेटो सैनिक उतार्छन् ? त्यस्तो अवस्थामा तेस्रो विश्वयुद्ध शुरू हुनेछ । युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्ने रकेट दिन हिचकिचाएका बाइडन रुससँग प्रत्यक्ष युद्ध हुने स्थिति आउन दिन त चाहँदैनन् जस्तो देखिन्छ ।
युद्धलाई वार्तामार्फत टुंग्याउनका लागि टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले युक्रेन र रुस दुवै देशका प्रमुखसँग फोन वार्ता गरेका छन् । तर वार्ताका शर्त युद्धरत दुवै पक्षलाई मान्य हुने कुनै सुनिश्चितता नभएकाले युद्ध अझै लम्बिनेछ । त्यसको दुष्परिणाम विश्वले नै भोगिरहेको छ ।