
राजनीतिको मुख्य मैदान संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि गरमागरम बहस चलिरहेको छ ।
आवरणमा सम्पूर्ण राजनीति नै बजेटमा केन्द्रित भएजस्तो देखिए पनि राजनीतिक दलहरू भने नयाँ राजनीतिक समीकरणको आन्तरिक रस्साकस्सीमा छन् ।
स्थानीय तह निर्वाचनको नतिजापछि संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आसन्न संसदीय चुनावलाई लिएर बढी नै पिरोलिएको देखिन्छ ।
स्थानीय चुनावमा अपेक्षा गरेभन्दा कमजोर नतिजा प्राप्त गरेको एमालेले संसदीय चुनावमा सके वामपन्थी तालमेल गर्ने, नभए मधेशकेन्द्रित दलहरूसँग भए पनि गठबन्धन बनाएर जाने प्रयास गरिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशकेन्द्रित दुई ठूला दलहरू जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भलाकुसारी गरेका छन् ।
जेठ ८ मा उपेन्द्र यादवसँग भेटेका ओलीले जेठ १९ मा महन्थ ठाकुरलाई बालकोटमा स्वागत गरेका थिए ।
ओली र महन्थको भेटवार्तामा मधेशमा एमाले र लोसपाले गरेको चुनावी तालमेलको विषयमा सामान्य समीक्षा भएको र आगामी दिनमा हुनसक्ने राजनीतिक सहकार्यका बारेमा छलफल भएको महन्थनिकट स्रोतले बताएको छ ।
मधेश प्रदेशमा बढेको एमालेप्रतिको आकार्षणलाई वर्चश्वमा पुर्याउने प्रयासका लागि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशकेन्द्रित दलहरूलाई प्रयोग गर्न खोजेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । स्थानीय तह चुनावको नतिजाले मधेशमा एमालेको अवस्थामा व्यापक सुधार आएको देखिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा र लोसपा एकीकरणको आह्वान गरिरहेका बेलामा यादव र महन्थसँग ओलीले पालैपालो भेट गर्नु अर्थपूर्ण रहेको विश्लेषण राजनीतिज्ञहरूले सुनाउने गरेका छन् ।
एमालेका दोस्रो तहका नेताहरू भने आगामी संसदीय चुनावमा वामपन्थी तालमेल गरेरै जानुपर्ने पक्षमा छन् । एमालेको केन्द्रीय सचिवालयमै रहेका एक नेता भन्छन्, ‘जित्नका लागि चुनावमा जाने हो, अहिलेको अवस्थामा पुनर्विचार गर्नुपर्छ । एमालेविरुद्ध सबै गठबन्धन हुँदा हामी हार्नका लागि मात्रै चुनावमा सहभागी हुने हो ।’
विगतमा भएका गल्ती कमजोरी आत्मसमीक्षा गरेर वामपन्थी पार्टीहरूको मोर्चा बनाएर संसदीय चुनावमा सहभागी हुनुपर्ने ती नेताको भनाइ छ । पार्टीबाट विभाजित भएर गएका नेताहरूलाई फर्किने वातावरण बनाउनुपर्ने र माओवादी केन्द्रसँग तालमेल गरेरै चुनावमा जाने गरी तयारी थालिहाल्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री कार्डको चर्चा
एमालेले वामपन्थी तालमेलको वातावरण बनाउनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड देखाएको चर्चा छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमा नै प्रधानमन्त्रीका लागि अफर आइरहेको बताएका छन् । स्थानीय तह चुनावमा नवनिर्वाचित आफ्ना पार्टीसम्बद्ध जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीवार सुर्खेत पुगेका नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको तर, लालचमा नफस्ने बताएका थिए । तर, उनलाई कसले प्रधानमन्त्रीको अफर गरेको हो भन्ने चाहिँ नेपालले खुलाएनन् ।
‘प्रधानमन्त्रीको कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका हो । म कुनै प्रकारको लालच पर्ने मान्छे हैन,’ नेपालले भनेका थिए । अहिले सत्तारूढ गठबन्धन कायम रहने भन्दै नेपालले गठबन्धनमा आत्मालोचनासहित चुनावी समीक्षा भएको र संघ तथा प्रदेशको चुनावमा पनि सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुने बताए ।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रत्यक्ष, परोक्ष रूपमा प्रधानमन्त्रीको अफर आएको बताएका छन् । भर्खरै प्रकाशित भएको एक अन्तर्वार्तामा प्रचण्डले अहिले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
अहिलेकै गठबन्धन कायम रहने र प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा प्रदेश र संघको चुनाव हुने प्रचण्डको भनाइ छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने एमाले सत्ता परिवर्तनको चलखेलमा नरहेको दाबी गरेका छन् ।
बिहीवार राति फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले एमाले अहिले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटेको बताएका छन् ।
उनले लेखेका छन्, ‘यतिबेला नेकपा(एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’
एमालेले माधव नेपाल र प्रचण्डलाई पालैपालो प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक चर्चा हुन थालेपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
वामपन्थी तालमेलको प्रयास सफल नभए अहिलेको सत्ता गठबन्धनलाई भत्काउने प्रयासमा एमाले लागेको छ ।
त्यसैका लागि मधेशकेन्द्रित दलका नेताहरूसँग एमाले नेतृत्वले संवाद गरिरहेको एमालेकै नेताहरू स्वीकार्छन् ।
तर, मधेशकेन्द्रित दल जसपा र लोसपा एकीकरण पनि अहिले एमाले र माओवादी पार्टीकै अवस्थामा छ ।
एमाले र माओवादीबीच अहिल्यै पार्टी एकताको सम्भावना नरहेजस्तै मधेशकेन्द्रित दुई दलका बीचमा पनि एकीकरण सहज नभएको मधेश राजनीतिका जानकारहरू बताउँछन् ।
विशेषगरी, लोसपाका नेताहरू जसपाका अध्यक्ष उपेन्द्र यादव बाहेकसँग मात्रै एकता गर्न चाहन्छन् । एमाले माओवादी केन्द्रको सहकार्यमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीबाहेक एमालेका नेताहरूसँग सहकार्य गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सत्तारूढ गठबन्धन भत्काउने र वामपन्थी गठबन्धन बनाउने दलहरूको आन्तरिक प्रयास अहिले असाध्यै तरल अवस्थामा छ । यो प्रयास वर्षायामको झरीसँगै बगेर जाने हो वा निश्चित आकार ग्रहण गर्ने हो भन्ने पटाक्षेप हुन केही समय लाग्ने देखिन्छ ।