१० असार २०८३, बुधबार

पोखरा विश्वविद्यालयको रजतजयन्तीमा समुदायलाई सीप तालिम

पोखरा विश्वविद्यालयको रजतजयन्तीमा समुदायलाई सीप तालिम

पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलालाई समसामयिक विषयमा २ हप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन शुरू गरेको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् ।

चुलोचौको सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रविधिमैत्री मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, अटोमेटेड टेलर मशिन (एटीएम) आदिबाट डिजिटल भुक्तानी लगायतका विषयमा तालिम दिइने उनले बताए ।

मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ–नयाँ आयामबारे गृहिणीलाई ज्ञान र सीप दिइने जनाइएको छ । यसबाट उनीहरूले इन्टरनेटसम्बन्धी र छिटोछरितोरूपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नुका साथै देश विदेशमा रहेका श्रीमान्, छोराछोरी, नातागोता इष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बिल भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वविद्यालयले विश्वास लिएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक डा. नमराज धामीले तालिममार्फत गृहिणीले नवीनतम् प्रविधिका धेरै विषयमा जानकारी हासिल गर्ने बताए । कार्यक्रममा सूचना प्रविधि स्कुल अफ बिजनेशका स्कूल निर्देशक डा. सिर्जन ज्ञवाली, स्कूल अफ बिजनेशका उपप्राध्यापक दीपाञ्जल श्रेष्ठ र सहभागी महिलाको तर्फबाट इन्दिरा तिवारी, चनमति तामाङ लगायतले तालिमको उपयोगिता सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्