
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात र गालीगलौज गरेको विषय निकै चर्चामा छ ।
आफैंले नियुक्त गरेको व्यक्तिले आफूले भनेजस्तो काम नगरेको र आदेश पालनामा ढिलाइ गरेको भन्दै मन्त्री आले निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात र अश्लील गालीगलौजमा उत्रिएका हुन् । मन्त्री आलेको कार्यकक्षमा भएको उक्त घटना बिहीवारको हो ।
पर्यटन मन्त्री भएपछि पटक–पटक विवादमा तानिएका आले मन्त्रीबाट फिर्ता हुनुपर्ने पक्कापक्की जस्तो भएपछि थप अराजक गतिविधिमा लागेका छन् ।
२२ असोजमा मन्त्री नियुक्त भएका आलेले ८ महिनाको अवधिमा मन्त्रालय मातहतका अधिकांश निकायमा आफन्त र आसेपासेलाई नियुक्ति दिन भ्याएका छन् ।
मन्त्री आलेले आफूले नियुक्त गरेको व्यक्तिहरूसँग आर्थिक लाभ खोज्नेदेखि थप आफन्त भर्ती गराउन दबाब दिनेसम्मका गतिविधि गरिरहेका छन् ।
नेपाल वायुसेवा निगममा आफैंले नियुक्त गरेका व्यक्तिसँग चरम विवादपछि आलेको अराजकता थप छरपष्ट भएको छ ।
आफूले पठाएका व्यक्तिलाई जागिर दिन ढिला गरेको भन्दै आलेले अधिकारीलाई कार्यकक्षमै बोलाएर हातपात र गालीगलौज गरेको मन्त्रालय स्रोतले जानकारी दियो ।
मन्त्री आलेले निगम अध्यक्षलाई गरेको अश्लील गालीको अडियो समेत सार्वजनिक भएको छ।
आलेको आदेशमा वायुसेवा निगमले पछिल्लो ६ महिनामा १ सय जनालाई करारमा नियुक्त गरिसकेको निगम स्रोतले जानकारी दियो । आलेले थप २५ जनालाई नियुक्ति दिन अध्यक्ष अधिकारीलाई दबाब दिइरहेका थिए । सोही नियुक्तिमा ढिलाइ भएको निहुँमा आलेले त्यो हर्कत देखाएको स्रोतले दाबी गर्यो ।
नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फबाट सहभागी भएका मन्त्री फिर्ता बोलाइसकेकाले आफ्नो स्वार्थका काम गरिहाल्न आलेले सबैतिर तीव्र दबाब दिइरहेको स्रोतको दाबी छ ।
एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने निर्णय २२ जेठमै गरिसकेको छ ।
संसद्मा बजेटमाथि छलफल चलिरहेको र सम्बन्धित मन्त्रालयको तर्फबाट जवाफ दिनुपर्ने भएकाले मात्रै मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन भएको थिएन ।
बजेट पारित भएपछि निर्णय कार्यान्वयन हुने दाबी उक्त पार्टीको छ ।
मन्त्री फिर्ता बोलाउने निर्णयसँगै आलेले आफूले ८ महिनामा पर्यटन क्षेत्रमा गरेका सुधार र दीर्घकालीन योजनाका कामलाई मूल्यांकन गरेर अगाडि बढाउन आग्रह गरिसकेका छन् ।
मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन ढिलो हुँदा थप चलखेल गर्न खोजेका आलेले निगम अध्यक्षलाई पहिले फोनमा र त्यसपछि कार्यकक्षमा बेलाएर थर्काएका हुन् ।
अराजक गतिविधि गरेर बेलाबेलामा विवादमा आइरहेका आलेले पछिल्लोपटक निगम अध्यक्षमाथि गरेको अभद्र व्यवहारको सर्वत्र आलोचना भइरहेको छ ।
यसअघि तारागाउँ विकास समिति, नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्डसहितका निकायमा आलेले गरेका धेरै नियुक्ति विवादमा तानिएका छन् ।
कसरी शुरू भयो आले–अधिकारी विवाद ?
नेपाल वायुसेवा निगमको निजीकरण गर्न अध्ययन गर्ने प्रस्ताव तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले गरेका थिए ।
१३ असारमा बसेको निगम सञ्चालक समितिको बैठकले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक’ कम्पनीमा रूपान्तरण गर्न बनाइएको प्रबन्ध पत्र र नियमावलीको मस्यौदा निगमको तालुक निकाय पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
कर्मचारीसँग परामर्शविना उक्त निर्णय भएको भन्दै वायुसेवा निगमका कर्मचारीहरू आन्दोलनमा उत्रिए । निगमका कर्मचारीले उठाएको माग त्यतिबेला पर्यटन मन्त्री नभएको हुँदा सम्बोधन भएन ।
कर्मचारीले एकपछि अर्को नयाँ माग थप्दै १०४ दिनसम्म आन्दोलन गरे । त्यतिबेला कर्मचारीको अन्तिम माग निगम महाप्रबन्धक पौडेलको राजीनामासम्म पुग्यो ।
२२ असोजमा पर्यटन मन्त्री नियुक्त भएको ५ दिनपछि (२६ असोजमा) आले र निगम कर्मचारीबीच महप्रबन्धक हटाउने र कर्मचारी आन्दोलन फिर्ता लिने सहमति भयो ।
कर्मचारीसँग भएको सहमति अनुसार आलेले ८ कात्तिक २०७८ मा निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरे । महाप्रबन्धक पौडेलको कार्यकारी अधिकार खोसेर महाप्रबन्धकमा मात्रै सीमित गरिदिए ।
आलेले त्यतिबेला नियुक्त गरेका अधिकारी पनि विवादित व्यक्ति हुन् ।

अधिकारी आफ्नै कार्यकक्षमा महिला कर्मचारीमाथि यौन शोषणको विवादमा तानिएका थिए । अधिकारीको उक्त विवादलाई बेवास्ता गरेर आलेले निगम अध्यक्ष बनाए ।
आलेले अधिकारीको नियुक्तिपछि निगमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अधिकारी साढे ३ दशक निगममा काम गरेका, अनुभवी र निगमको हितका लागि अन्यको तुलनामा कम पारिश्रमिक लिएर काम गर्ने कर्मचारी भएको भन्दै प्रशंसासमेत गरे ।
आलेले अधिकारीलाई नियुक्त गर्न २२ असोज २०७७ मा योगेश भट्टराई पर्यटन मन्त्री हुँदा नियुक्त भएका महाप्रबन्धक पौडेललाई हटाउन खोजे ।
पौडेलले छाड्न नमानेपछि उनलाई पर्यटन मन्त्रालयमा हवाइ विज्ञको रूपमा तानेर अधिकारीलाई नियुक्त गरेका थिए ।
अधिकारी राम्रो व्यक्ति भएको र नियुक्त गरिएको भन्दै हिँडेका आलेले पौडेलको भने सार्वजनिक कार्यक्रममै विरोध गर्न थाले ।
अन्ततः २३ जेठको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेरै आलेले पौडेललाई ७ महिनापछि निगमबाट हटाइ छाडे ।
मन्त्री आले र अधिकारीबीचको विवाद सतहमा देखिएको निगमको साउदी अरबको उडान शुभारम्भको समयमा हो । ९ वैशाखमा निगमको जहाजले ११९ यात्रु लिएर साउदी अबरमा पहिलो उडान गरेको थियो ।
उक्त उडानमा निगमले निर्णयविना नै असम्बन्धित व्यक्तिको जम्मो टोलीलाई निःशुल्क यात्रा गराएको र निगमलाई नोक्सानी पुर्याएका आरोप अधिकारीमाथि छ ।
त्यति नै बेला निगमका अधिकारीले कानूनी आधार र औचित्यविना ट्विनअटर विमान निजी कम्पनीलाई भाडामा दिएको सहितको विषयमा पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोध्यो ।
एकपछि अर्को विवादका कारण मन्त्री आले अधिकारीलाई हटाउनेसम्मको तयारीमा छन् ।
आलेले निगमका महाप्रबन्धक पौडेलसँगै अधिकारीलाई पनि हटाउन चाहेको भएपनि मन्त्रिपरिषद्बाट स्वीकृति नभएको मन्त्रालय स्रोतको भनाइ छ ।
पर्यटन मन्त्रालयले अधिकारीलाई हटाउन निगम सुधारको रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको, कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदीय आचरण पालन गर्न नसकेको मन्त्रालयको आरोप लगाएको छ । कार्यक्षमताको अभाव देखिएको र निगमको ख्याति बढाउने गरी काम गर्न नसकेको सहितको आरोप अधिकारीमाथि लगाइएको छ ।
मन्त्री आलेका दर्जनौं नियुक्ति र विवाद
आले मन्त्री भएपछि उनले पर्यटन मन्त्रालय मातहतका सबैजसो निकायमा आफन्त र आसेपासेलाई नियुक्त गरेका छन् । आलेले पछिल्लोपटक तारागाउँ विकास समितिको अध्यक्ष र सदस्यसचिव नियुक्त गरेका छन् ।
आलेकै सिफारिशमा ३१ जेठको मन्त्रिपरिषद्को निर्णयबाट डडेल्धुराको अमरगढीका सुरेशराज जोशी र मन्त्रीका आफन्त डोटी जोरायलकै महेन्द्रकुमार थापा सदस्य सचिव नियुक्त भएका छन् ।
स्रोतका अनुसार आलेले जोशीलाई प्रधानमन्त्री देउवालाई खुशी बनाउन नियुक्त गरेका हुन् भने सदस्य सचिव भने खाली नहुँदै आफ्नै भतिज नियुक्त गरेका छन् ।
आलेले सदस्य सचिव रहेका नारद लुइँटेललाई नियुक्त गरेको ३ महिना पनि नपुग्दै आफन्त नियुक्ति गरेर विवादलाई उत्कर्षमा पुर्याएका छन् ।
स्रोतका अनुसार आलेले हायात होटलसँग बार्गेनिङ गर्न पहिलेदेखि नै हायातको इस्यु बुझेका लुइँटेललाई नियुक्त गरेका थिए । लुइँटेलले छानबिन समिति पनि बनाए ।
उक्त छानबिन समितिले पहिले रिपोर्ट दिनुपर्ने मन्त्री आलेको भनाइ थियो भने लुइँटेलले आफूलाई अस्थायी नियुक्ति दिइएकाले पहिला स्थायी नियुक्ति दिन भने ।
आलेले लुइँटेललाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति दिएका थिए ।
आफ्नो स्वार्थअनुकूल छानबिन सकिएपछि लुइँटेललाई बाइपास गरेर भतिजलाई सदस्य सचिव बनाएका छन् । यसमा मन्त्री पद छाडेपछि पनि बार्गेनिङ गरिरहन पाउने स्वार्थ लुकेको स्रोतको दाबी छ ।
पर्यटन सम्बद्ध व्यक्ति नियुक्त हुने तारागाउँमा आलेले पर्यटन क्षेत्रसँग असम्बन्धित व्यक्तिलाई नियुक्त गराएका छन् ।
आलेले नियुक्त गरेका तारगाउँका अध्यक्ष जोशी माउन्टेन मल्टिपल क्याम्पस प्रमुख, एक साप्ताहिक पत्रिकाका सम्पादक र मानवअधिकार तथा शान्ति समाजमा काम गरेका व्यक्ति हुन् ।
तारागाउँका सदस्य सचिव थापा भने स्थानीय एक गैरसरकारी संस्थामा कार्मचारीका रूपमा काम गरेका व्यक्ति तथा उनको पार्टीका कार्याकर्ता मात्रै हुन् ।

आलेको आशय लाभ हेर्ने मात्रै
यसअघि २५ फागुनमै सिफारिश भइसकेका जोशी र थापाको नाम हटाएर आलेले तारागाउँ विकास समितिका पूर्व अध्यक्ष नारद लुइँटेललाई सदस्य सचिव नियुक्त गरेका थिए ।
हायात होटलले हडप्न खोजेको १५० रोपनी जग्गा बचाउन भूमिका खेलेको, होटलमा सरकारले गरेको लगानीको प्रतिफलका विषयमा बारम्बार कुरा उठाउँदै आएकाले नियुक्त गरेको आलेको तर्क थियो ।
तर, आलेले लुइँटेललाई रीत नपुर्याई मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेको भन्दै अदालतमा मुद्दा परेको छ । उक्त मुद्दाको टुंगो नलाग्दै आलेले लुइँटेलको ठाउँमा भतिज थापालाई नियुक्त गरेका हुन् ।
मन्त्री आलेले नै लुम्बिनी विकास कोषमा सदस्य सचिवसहित पूरै सदस्य गत फागुनमै नियुक्त गरेका थिए । आलेले पर्यटन बोर्डमा समेत २ जना सदस्य नियुक्त गरेका थिए ।
आलेले नियुक्त गरेकामध्ये एकजना निमा लामा विवादमा तानिएका छन् ।
आलेले नियुक्त गरेका लामा आर्थिक अपराधमा संलग्न रहेको भन्दै विवादमा तानिएका हुन् ।
विवाद उत्कर्षमा पुगेपछि पर्यटन बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व नगर्दै लामाले राजीनामा दिए । उनको ठाउँमा आलेले मिलन देवकोटालाई नियुक्त गरेका छन् ।
आलेले पर्यटन मन्त्रालयअन्तर्गतकै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा राजेश उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गरेका छन् ।
यसअघि पशुपति विकास कोषमा पनि एकजना सदस्य नियुक्त गरेका थिए ।
मन्त्री आलेले नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा वरिष्ठता मिचेर र अदालतमा विचाराधीन मुद्दाको बेवास्ता गर्दै महानिर्देशकमा कनिष्ठ कर्मचारी ई. प्रदीप अधिकारीलाई नियुक्त गरेका थिए ।
यो विषयको मुद्दा अझै अदालतमा विचाराधीन छ ।
यसअघि मन्त्री आले र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीबीच पनि सार्वजनिक स्तरमै गालीगलौज र विवाद चलेको थियो ।
आफूलाई हटाउन खोजिएपछि रेग्मी अदालत गए । यो मुद्दमा आलेले अदालतको मानहानी समेत गरे । उक्त मुद्दा समेत अदालतमा विचाराधीन छ ।