०२ साउन २०८३, शनिबार

नेपथ्य ब्याण्डका अमृत गुरुङले पहिलोपटक गाए फिल्मको गीत

नेपथ्य ब्याण्डका अमृत गुरुङले पहिलोपटक गाए फिल्मको गीत

चर्चित लोकपप ब्याण्ड नेपथ्यका मुख्य गायक अमृत गुरुङले पहिलोपटक चलचित्रको गीत गाएका छन् ।

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीतमा अमृतले स्वर दिएका हुन् ।

शुक्रवार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘चलचित्रमा गीत गाउँदिनँ भनेर बसेको थिएँ,’ गीत रिलिज कार्यक्रममा बोल्दै गुरुङले भने, ‘नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’

कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । गीतले चलचित्रको आवरण बोलेको छ । चलचित्रका अधिकांश कलाकारहरूलाई गीतमा प्रस्तुत गरिएको छ । 

अहिले लाइभ रेकर्डिङको प्रचलन करीब–करीब हटिसकेको छ । यस्तो अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको गीत हो । 

गीतमा ड्रम, किबोर्ड, गीतार लगायतका वाद्यवादनहरूको समेत प्रयोग गरिएको छ । चलचित्र ‘दोख’ असार २४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ । राजन कठेतको लेखन रहेको चलचित्रमा माओवादी द्वन्द कालखण्डमा सामुदायिक वनको मुद्धालाई लिएर २ वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्