०३ साउन २०८३, आइतबार

भारतले सञ्चालनमा ल्यायो विश्वकै लामो हाइड्रोजन रेल

साउन २, २०८३
काठमाडौं
भारतले सञ्चालनमा ल्यायो विश्वकै लामो हाइड्रोजन रेल

भारतले देशकै पहिलो हाइड्रोजन फ्युल-सेल रेलको ऐतिहासिक शुरूआत गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेलवे स्टेशनबाट पर्यावरणमैत्री रेललाई हरियो झण्डा देखाएर उद्घाटन गरे । 

यससँगै भारत हाइड्रोजन फ्युल-सेल प्रविधिबाट रेल सञ्चालन गर्ने विश्वका सीमित मुलुकहरूको सूचीमा सामेल भएको छ। यो रेल न त बिजुलीको ओभरहेड लाइनमा निर्भर हुनेछ, न त डिजेल इन्जिनमा नै ।


उद्घाटनका अवसरमा प्रधानमन्त्री मोदीले भने, 'जिन्ददेखि सोनिपतसम्म चल्ने यो हाइड्रोजन रेल विश्वकै सबैभन्दा शक्तिशाली (पावरफुल) हाइड्रोजन रेल हो । ३२०० हर्स पावर क्षमताको यो रेल शक्तिशाली मात्र नभएर विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल पनि हो । विश्वका अन्य स्थानमा तीन वा चार कोच (डिब्बा) भएका हाइड्रोजन रेल चलिरहेका छन्, तर भारतले सिधै १० वटा कोच भएको रेल चलाएको छ।'

गत मे महिनामा भारतीय रेलवेले उत्तर रेलवेको जिन्द–सोनिपत खण्डमा १० कोचको हाइड्रोजन रेल चलाउन स्वीकृति दिएको थियो । यो रेल १२०० किलोवाट क्षमताको हाइड्रोजन फ्युल-सेल प्रोपल्सन प्रणालीबाट चल्छ र यसको अधिकतम गति प्रतिघण्टा ७५ किलोमिटर रहेको छ ।

जिन्ददेखि सोनिपतबीचको एकतर्फी दुरी करिब ९० किलोमिटर (८९ किमी) रहेको छ, जसलाई यो रेलले करिब २ घण्टामा पार गर्नेछ । 

यो रेल सञ्चालनका लागि कुनै विशेष वा छुट्टै ट्र्याक (पटरी) बनाइएको छैन । यो सामान्य रेलमार्गमै गुड्नेछ । रेलमा इन्धन भर्न जिन्दमा 'ग्रीन हाइड्रोजन उत्पादन प्लान्ट' स्थापना गरिएको छ। यहाँ इलेक्ट्रोलिसिस प्रक्रियामार्फत पानीबाट हाइड्रोजन र अक्सिजन अलग गरिन्छ । उत्पादित हाइड्रोजनलाई उच्च चाप (हाइ प्रेसर) भएका ट्याङ्कहरूमा भण्डारण गरी स्टेशनमा बनाइएको विशेष फ्युलिङ साइडिङमार्फत रेलमा भरिन्छ।

null

पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले यसको भण्डारण र वितरणका लागि आवश्यक लाइसेन्स जारी गरिसकेको छ। ग्यास भर्ने प्रक्रियालाई निर्बाध राख्न हाइड्रोजन कम्प्रेसन सिस्टम जडान गरिएको छ भने आपत्कालीन अवस्थाका लागि अतिरिक्त कम्प्रेसरको समेत व्यवस्था गरिएको छ।

सामान्य रेल कोइला, डिजेल वा बिजुलीबाट चल्छन्। तर, हाइड्रोजन रेलमा विशेष 'फ्युल-सेल' प्रविधि प्रयोग गरिन्छ, जसमा हाइड्रोजन ग्यासको मद्दतले रासायनिक प्रक्रिया गराई बिजुली उत्पादन गरिन्छ र रेल गुड्छ। डिजेल इन्जिनले कालो धूवाँ फाल्छन्, तर हाइड्रोजन इन्जिनबाट केवल पानीको बाफ (वाटर वेपर) मात्र निस्किन्छ। त्यसैले यो पूर्ण रूपमा प्रदूषणरहित र वातावरणमैत्री छ।

हाल विश्वमा जर्मनी, जापान, चीन र अमेरिकाजस्ता देशहरूले मात्र हाइड्रोजन रेलको सञ्चालन वा परीक्षण गरिरहेका छन्। अब भारत पनि यो सूचीमा थपिएको हो ।

भारतले फेब्रुअरी २०२२ मा 'नेसनल हाइड्रोजन मिशन' घोषणा गरेको थियो, जसको लक्ष्य सन् २०३० सम्ममा प्रतिवर्ष ५० लाख टन 'ग्रीन हाइड्रोजन' उत्पादन गर्ने रहेको छ। ग्रीन हाइड्रोजन उत्पादनका लागि पानी र सस्तो बिजुली आवश्यक पर्छ। 


 

salt training

कमेन्ट गर्नुहोस्