२९ जेठ २०८३, शुक्रबार
आलेख

बजेटमाथिको राजनीतिक ‘बबल्स’– अर्थमन्त्री शर्मामाथि पूर्वाग्रही निशाना

असार ५, २०७९
बजेटमाथिको राजनीतिक ‘बबल्स’– अर्थमन्त्री शर्मामाथि पूर्वाग्रही निशाना

‘देशको आर्थिक अवस्था सुधारका लागि कृपया चिया कम पिउनुस्’– एहसन इकवाल, केन्द्रीय योजना एवं विकास मन्त्री पाकिस्तान, १६ जुन २०२२ ।

आधा कप चियाको तस्विर सहित ‘यो आधा कप चिया तपाईंका लागि’– कमेन्टर । पाकिस्तानी मन्त्रीको यस अपिलले सामाजिक सञ्जाल तिखो बहसमा ओर्लियो ।

जवाफ स्वरूप मन्त्रीले पाकिस्तान विश्वकै ठूलो चिया आयातकर्ता भएको तथ्यांक त्यही सोसल साइटमा पोस्ट गरे । यो प्रसंग पाकिस्तानको बढ्दो महंगीले निम्त्याएको हो । 

फेब्रुअरीसम्म पाकिस्तानको विदेशी मुद्रा भण्डार १६ अर्ब डलर थियो । जुन महिनाको पहिलो साता आइपुग्दा घटेर १० अर्ब डलरमा झरेको छ ।

 श्रीलंकाको मन्नार जिल्लामा एक विंडो पावर प्लान्टको टेन्डर भारतको अडानी समूहलाई दिइएको छ । 

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रपति गोटभाया राजापाक्षमाथि यो टेन्डर भारतको अडानी समूहलाई दिनका लागि दबाब बनाइएको थियो’– (एम.एम.सी फर्डिनान्डो सीईबी चेयरमेन श्रीलंका, १० जुन २०२२ संसदीय समिति ।

फर्डिनान्डोको उक्त अभिव्यक्ति राष्ट्रपति गोटभायाले सोझै खारेज गरे र स्वयं फर्डिनान्डोले समेत आफ्नो अभिव्यक्ति फिर्ता लिए । यद्यपि उनले आफूलाई केही प्रश्नहरू गरिएकाले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपरेको बताए ।

भारतको अडानी समूहले समेत यस विषयमा वक्तव्य जारी गर्‍यो । भारतमै प्रतिपक्षले निजी कम्पनीका पक्षमा प्रधानमन्त्रीको लबिङमाथि अपारदर्शिताको प्रश्न उठायो । यो सम्पूर्ण घटनाका पछाडिको मूल कारण श्रीलंकाको आर्थिक संकट हो ।

सार्क सदस्यहरूमध्ये पाकिस्तान र श्रीलंकाको जस्तै आर्थिक संकट नभएपनि संसारका सबै मुलुकहरू यतिबेला सम्भावित आर्थिक संकटको जोखिममा छन् । महंगीले संसारकै ढाड सेकिरहेको छ । रुस–युक्रेन द्वन्द्वले तेल, गहुँलगायत खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

सुब्बाले अन्तिम रातमा करको दर निर्धारण गर्‍यो भन्ने कथा गज्जबको कलात्मक छ । यदि अन्तिम रातमा सुब्बाले करको दरमा हेरफेर गर्‍यो भने त्यसअघिको करको दर कसले बनाएको रहेछ ? जबकि सरकारले त फाइनल गर्न बाँकी नै थियो होला ।

रुस–पश्चिम तनावले इन्धन अभावका कारण पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको र कोभिड संक्रमणपछि सप्लाइ चेन लयमा फर्किनसकेकाले महंगी नियन्त्रणमा आउने सम्भावना छैन । बढ्दो महंगी नियन्त्रण गर्न र अर्थतन्त्र सम्हाल्न संसारका सबै देशहरूलाई चुनौती छ । जुनकुरा एमाले, त्यसका अर्थ विज्ञ, पूर्व अर्थमन्त्री र नेपालका मिडियाहरूलाई पनि थाहा छ । संसारका कुनै अर्थमन्त्रीसँग त्यस्तो जादुको छडी छैन जसले  अहिलेको महंगीलाई ‘छु मन्तर’ गरेर नियन्त्रण गर्न सकोस् ।

यद्यपि नेपालमा आर्थिक संकट र बढ्दो महंगीको विश्वव्यापी यथार्थमाथि पर्दा हालेर अर्थतन्त्रमाथि राजनीतिक बबल्सहरू उडाइएको छ । राजनीतिक बबल्स आफँैले क्रिएट गर्ने र त्यसैको जगमा सत्ता गठबन्धन, सरकार, माओवादी पार्टी र अर्थमन्त्रीमाथि प्रहार गर्ने एमाले रणनीति सरकार गठनको पहिलो दिनबाटै निरन्तर कायम छ ।

अर्थतन्त्र लयमा फर्काउन बैंकहरूले ब्याजदर बढाउने, ब्याजदर बढाउँदा बजारमा आर्थिक तरलता अभाव हुन्छ । त्यसले वस्तुको माग घट्छ । वस्तुको माग घट्दा मूल्य स्थिर रहन्छ र त्यसपछि महंगी नियन्त्रण भई पूँजी बजारलाई पुनः ट्रयाकमा ल्याएर यथास्थानबाट अघि बढाउन सकिन्छ भन्ने प्रचलित धारणा अर्थशास्त्री र विशाल वित्तीय निकायका विज्ञ, विशेषज्ञहरूमा छ । प्रायः आर्थिक संकटहरूमा छोटो समयका लागि यो अभ्यासलाई प्रचलनमा ल्याउने गरिन्छ ।

 ​इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका ग्लोबल फोरकास्टिङ डाइरेक्टर अगाथ डेमारे भन्छन्, ‘मलाई लाग्छ, केन्द्रीय बैंकले महंगीलाई सामान्य मानिरहेका थिए, बरु एक तरहले महंगीलाई राम्रै मानिएको थियो, यसलाई अर्थतन्त्रमा पुनःसुधारको संकेतका रूपमा हेरिन्थ्यो । मूल्यमा स्थिरता कायम हुनेछ र अर्थतन्त्रले विस्तारै गति लिने छ भन्ने अपेक्षा थियो, तर त्यसो हुन सकेन । गत वर्षको अन्त्यबाट महंगी नियन्त्रण प्रभावकारी हुन सकेन र यस वर्षको शुरूआतदेखि नै महंगीले दशकौंको रेकर्ड ब्रेक गरिदियो ।

ग्लोबल फोरकास्टिङ डाइरेक्टर डेमारेको बुझाइमा महंगी नियन्त्रणका लागि बैंकिङ ब्याजदर बढाउनु र त्यसले ग्रोथ रेटमा पार्ने सम्भावित असरका बीच सन्तुलन कायम गर्नु निकै पेचिलो काम हो ।

 व्यापक महंगी र अर्थव्यवस्थामाथि कठिन चुनौती सिंगो विश्वको साझा समस्या हो । नेपाल त्यसबाट अलग रहने र यहाँको आर्थिक अवस्था प्रभावित नहुने कुरा असम्भव हो । 

सन् २०२० को भन्दा महंगी किन बढ्यो र विश्व अर्थव्यवस्था कसरी धर्मरायो भन्ने विषयमा हावर्ड केनेडि स्कूलका सिनियर प्राक्टिसनर फेलो शर्ली यु भन्छन्– ‘यस वर्षको मार्चमा संघाई कोभिडका कारण क्वारेनटाइनमा रह्यो । सांघाई चीनको कारोवारको प्रमुख केन्द्र हो र त्यसमा आएको केही समयको रुकावटले संसारको निर्यात चेनमा प्रभाव पर्‍यो । अप्रिलसम्म कन्टेनरसहितका ५०० जहाज संघाइमा थिए, जहाँबाट सामान निर्यात गर्नुपर्ने थियो । सांघाईको क्वारेन्टाइनले सप्लाइ चेनमा धक्का लाग्यो । बजारमा माग बढ्यो र आपूर्ति रोकियो, त्यसले महंगी दर बढायो ।

महंगीको अर्को शृंखला फेब्रुअरी २३ बाट शुरू भयो, जहाँ रुस–युक्रेन द्वन्द्व शुरू भयो । बढीमा एक महिनाभित्र सकिने अनुमान गरिएको त्यस द्वन्द्वको दायरा बढ्दै गयो र सम्भवतः त्यसले विश्व युद्धको रूप लिन सक्ने अनुमान पनि छ ।

आई एन जी जर्मनीका मुख्य अर्थशास्त्री कास्र्टन जेस्की भन्छन्, इन्धनको मूल्य ५० प्रतिशतमाथि बढेको छ । मानिसहरू घरमा सामान स्टोरेज गर्न रुचाउन थालेका छन् । 

जर्मनहरू गहुँ सूर्यमूखी तेललगायत उपभोग्य वस्तु र ट्वाइलेट पेपरसमेत जम्मा गर्न थालेका छन्, यो अवस्था कोभिड संक्रमणको त्रासकै शैलीमा छ ।

गएको मार्चमा मात्रै गहुँको ग्लोबल मूल्यमा २० प्रतिशतले वृद्धि भयो । उत्तरी अफ्रिका र मध्यपूर्वमा सामान्य मानिसहरूले भान्सा चलाउन कठिनाइको महसूस गर्न थालिसके ।

 संसार एक अर्कामा अन्तरनिर्भर छ । नेपाल सबैभन्दा बढी अरुमाथि निर्भर छ । नेपालमा मल अभावको नारा अझ चर्किने छ, वास्तवमा त्यो समस्या अहिले संसारकै समस्या हो । 

रुसको नेचुरल ग्यासको प्रयोग मलखादमा गरिन्छ । युद्धका कारण रुसबाट नेचुरल ग्यास सप्लाइमा आएको असहजताको मार संसारले व्यहोर्नुपर्ने छ ।

रुस खनिज पदार्थको पनि ठूलो सप्लायर्स हो । कैयौं खनिज क्लिन एनर्जी ट्रान्सपोर्टका लागि जरुरी छ । स्टेनलेस स्टिल निर्माणका लागि निकलको प्रयोग हुन्छ । 

प्यालोडियम अटो इन्डस्ट्रीका लागि जरुरी छ, यी सबै वस्तुको उत्पादनमा रुसबाट निर्यात हुने खनिज रोकिँदा असर परेको छ ।  

सन् २०२२ को शुरुदेखि नै बढ्दो महंगीलाई लिएर दबाबको स्थिति थियो । अब झन् ऊर्जा क्षेत्रको बजारमा अवरोध आएको छ । गहुँ र मकैजस्ता खाद्यान्न वस्तु सप्लाइमा आएको रुकावटले महंगीको दबाब थप बढेको छ । यसले महंगी नियन्त्रण गर्न गम्भीर चुनौती थपिएको छ ।

यदि विश्वकै अवस्था हेर्ने हो भने ‘अमेरिका र ब्रिटेनमा पनि महंगी बढ्दै गएको छ’–अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ) का डाइरेक्टर अफ रिसर्च पियर ओले विए गुआशा

सुब्बाको प्रवेश : अकबर-वीरबलको कथा

संसारमा अस्तित्वमा रहेका सबै राज्यहरूको प्रचलित मान्यता सरकारको अर्थमन्त्रालयले करको दर निर्धारण गर्छ । करको दर निर्धारणमा प्रतिपक्षले असहमति प्रकट गर्ला, मिडियाहरूले आलोचना गर्लान्, त्यो स्वभाविकै हो । 

तर, सुब्बाले अन्तिम रातमा करको दर निर्धारण गर्‍यो भन्ने कथा गज्जबको कलात्मक छ । यदि अन्तिम रातमा सुब्बाले करको दरमा हेरफेर गरे भने त्यसअघिको करको दर कसले बनाएको रहेछ ? जब कि सरकारले त करको दर फाइनल गर्न बाँकी नै थियो होला । बजेट घोषणाअघि करको दर निकटका व्यापारी र प्रतिपक्षी दलको टेबुलमा कसले, किन र के उद्देश्यले बुझायो ? अर्थमन्त्रालयको सूचना कसले लीक गर्‍यो ? यो अर्को गम्भीर प्रश्न हो ।​

यहाँनेर रोचक कुरा के हो भने बजेट निर्माण गर्दा सुब्बा भित्र छिर्‍यो, त्यसकारण यो बजेट सुब्बाले बनाएको हो । यो अकबर र वीरबलको कथाजस्तै विषय बनेको छ ।

पुसमाघको ठण्डीमा एकपटक राजा अकबरले घोषणा गरेछन्, जसले तलाउमा घाँटीभन्दा तलको भाग डुबाएर रात कटाउन सक्छ, उसलाई म आधा राज्य दिन्छु ।

एकजना पण्डित उनको शर्त मान्न तयार भएछन् । ती पण्डित राजासँग गरेको वाचाअनुसार नै साँझमा तलाउमा पुगे । शर्तअनुसार नै सिंगो रात तलाउमा गुजारे ।

भोलिपल्ट बिहान उनले राजा अकबरकोमा पुगेर आधा राज्य मागे । अकबर अचम्मित हुने नै भए, यस्तो ठण्डीमा कोही कसरी रातभर तलाउमा बस्नसक्छ ?

उनले सोधे, कसरी सम्भव छ यो ? तिमीले पक्कै पनि केही गडबडी गरेको हुनसक्छ ।

जवाफमा पण्डितले भने, कहाँ हुनु महाराज ! म शर्तअनुसार नै रातभर तलाउमा बसेको हुँ । 

यसरी बस्दा तिमी बाँच्यौचाहिँ कसरी ? राजाले फेरि सोधछन् 

त्यसपछि पण्डितले जवाफ दिए, तलाउबाट निकै पर तपाईंको दरबारमा एउटा बत्ती बलेको देखियो । त्यही बत्ती हेरेर बिहानीको प्रतिक्षा गरें ।

राजाले निहुँ पाइहाले । अनि उनले भनेछन्– यो त शर्तबाहिरको कुरा भयो । तिमीले त्यही बत्तीको तातोले रात बिताएका हौ, नत्र सम्भव नै थिएन ।

उनले शर्त पूरा नभएको भन्दै आधाराज्य दिन अस्वीकार गरे । पण्डित निराश हुँदै घर फर्किए । 

बजेटभित्र आलोचना गर्ने ठाउँ नपाएपछि विषयलाई  विषयान्तर गरी अर्थमन्त्रीलाई विवादमा पार्ने तरिका अपनाइयो । विश्वव्यापी आर्थिक संकटमा मुलुक जोगाउन सक्यो र बजेटका केही कार्यक्रमहरू लन्च गर्‍यो भने आगामी निर्वाचनमा सत्ता गठबन्धन र माओवादी पार्टीले लोकप्रियताको लाभ हासिल गर्न सक्छ भन्ने भयले यस्ता तानावानाहरू बुनिए ।

अकबरको दरबारको बत्ती हेरेर तलाउमा रात बिताउन सकेको भन्नु र अन्तिम रातमा एकछिन सुब्बा छिरेर बजेट बनायो भन्नु उस्तैउस्तै कुरा हुन् ।

एक रातमा बजेट बनाइदिन सक्ने त्यस्तो कोही सुब्बा छ भने त उसलाई आईएमएफ र विश्व बैंकले हायर गर्नुपर्ने देखियो ।

पहिलो दिन बजेट कार्यान्वयनमा चुनौती छ भन्नेहरूले के बुझे भने यसले बजेट कार्यान्वयन गर्न जुनसुकै मूल्य चुकाउन सक्छ, त्यसो हुँदा हाम्रो राजनीति धरापमा पर्छ, अब एउटा उत्कृष्ट कथा रचना गरी त्यसैलाई प्रोपागाण्डा गर्नुपर्‍यो ।

त्यसै गुरुयोजनाअनुसार सुब्बाले बजेट बनाएको भन्ने हंगामा शुरू भयो । बजेट कसले बनायो ? बजेट निर्माणमा को–को सहभागी भए ? यस्ता प्रश्नहरूभन्दा बजेट लोककल्याणकारी कार्यक्रम दिन कहाँनेर चुक्यो ? निजी क्षेत्र कहाँनेर मारमा पर्‍यो ? बजेटले आमनागरिकको भावनाको प्रतितिधित्व गर्‍यो वा गरेन ? बहसका विषयहरू यतापट्टि जानुपर्ने हो ।

बजेटभित्र आलोचना गर्ने ठाउँ नपाएपछि विषयलाई  विषयान्तर गरी अर्थमन्त्रीलाई विवादमा पार्ने तरिका अपनाइयो । विश्वव्यापी आर्थिक संकटमा मुलुक जोगाउन सक्यो र बजेटका केही कार्यक्रमहरू लन्च गर्‍यो भने आगामी निर्वाचनमा सत्ता गठबन्धन र माओवादी पार्टीले लोकप्रियताको लाभ हासिल गर्न सक्छ भन्ने भयले यस्ता तानावानाहरू बुनिए ।

salt training

कमेन्ट गर्नुहोस्