०२ साउन २०८३, शनिबार

द्विअर्थी अपाच्य गीत नल्याउन दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल

द्विअर्थी अपाच्य गीत नल्याउन दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल

रेकर्डिङ स्टुडियोहरूलाई तीज लागिसकेको छ ।

चलेका अधिकांश स्टुडियोमा यतिबेला धमाधम तीज गीतहरूको रेकर्डिङ चलिरहेको छ । यस्तै, तीज गीतको भिडियोको छायाँकन पनि शुरु धमाधम रुपमा भैरहेका छन् ।

विशेषगरी लोकदोहोरी विधाका कलाकारहरूलाई तीज गीतको चटारोले बढी छुने गर्छ । यद्यपी, अन्य विधाका कलाकारहरूले पनि तीज गीत रेकर्डिङ र भिडियोमा अभिनय गर्ने गर्छन् । सम्भवतः अबको चार÷पाँच दिनपछि तीजका गीतहरू समेत सार्वजनिक हुने क्रम शुरु हुन्छ । 

तीज गीतमा हरेक वर्ष विकृतिका कुराहरू सुन्ने गरिन्छ । केही कलाकारहरूले भाइरल हुने मोहमा दुईअर्थी अपाच्य खालका तीजगीतहरू समेत ल्याउँदै आएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू नल्याउन हरेक वर्ष अपिल समेत गर्दै आएको छ । यसवर्ष पनि तीज गीतहरू सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत प्रतिष्ठानले अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गरेको छ । प्रतिष्ठानले हालै एक अपिलपत्र जारी गर्दै यस्तो अनुरोध गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा तीजगीतको नाममा संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न स्रष्टा, सर्जक, गायक÷गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरूमा अनुरोध गरिएको छ ।  

‘हरेक वर्ष उल्लेखित मात्रामा तीजगीतहरू कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न सुन्न पाइन्छ । यो सुखद् पक्ष हो’ अपिलपत्रमा भनिएको छ ‘तथापि कतिपय तीजगीतको नाममा देखिएका विकृति, विसङ्गती, अभद्र श्रव्यदृश्यहरूप्रति समस्त दर्शक स्रोताहरूको गुनासो वर्षेनी आइरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।’ 

संस्थागत अपिललाई वेवास्ता गरी समाजमा अपाच्य किसिमका सिर्जनाहरू प्रस्तुत गरेको पाइएमा साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाहरूबाट समेत वञ्चित गर्न सकिने प्रतिष्ठानले जनाएको छ । संस्थाको अपिललाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि गतवर्ष गायक दुर्गेश थापालाई प्रतिष्ठानले साधारण सदस्यबाट हटाएको थियो । यसवर्षको तीज आगामी भदौ १४ गते मंगलबार मनाइँदैछ ।


 

salt training

कमेन्ट गर्नुहोस्