
सर्जक एवं गायक कस्तुप पन्तले शुक्रवार फेसबुकमा एक ‘लाइभ दोहोरी’को अंशमा बनेको टिकटक पोष्ट गर्दै लेखे, ‘हामी अग्रजले सिकाएको बाटोमा छौँ कि अनुजले देखाएको बाटोमा । डलरले दोहोरीको कलर बिगार्न पाइँदैन । अहिले नबोले कहिले बोल्ने ?’
उनले पोष्ट गरेको भिडियोमा दोहोरी गाउँदा द्विअर्थी शब्द प्रयोग गरिएको छ । पछिल्लो दुई वर्षयता युट्युबमा लाइभ दोहोरीको बाढी आयो । त्योसँगै विकृति पनि ह्वात्तै बढेको गुनासो सुनिन थालियो । चाँडै चर्चा अनि डलर कमाउने मोहका कारण विशेषगरी नव कलाकारहरू द्विअर्थी दोहोरी गायन उद्देलित देखिए । तर, गीतकार कस्तुपले पोष्ट गरेको भिडियोमा लोकदोहोरीका एकजना अग्रज स्रष्टा पनि देखिन्छन् । खासमा कस्तुपको आक्रोश अग्रज कलाकार भएर त्यसरी द्विअर्थी दोहोरी गाउनुमा रहेको हुनुपर्छ ।
कस्तुप मात्र होइन्, सांगीतिक क्षेत्रका अन्य कलाकारहरूले पनि यसप्रकारको क्रियाकलापमा असन्तुष्टि जनाएका छन् । उक्त ‘क्लिप’ १० दिनअघि ‘अर्जुन खड्का’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको लाइभ दोहोरीको हो । शीर्षक नै अपाच्य राखिएको उक्त लाइभ दोहोरी द्विअर्थी र अपाच्य शब्दले भरिएको छ ।
उसो त द्विअर्थी र अपाच्य शब्दले भरिएको लाइभ दोहोरी यो मात्र होइन् । युट्युबमा उच्छृंखल लाइभ दोहोरीहरू प्रसस्तै छन् । यसअघि पनि लाइभ दोहोरी फोहोरी भएको गुनासो आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । तर, द्विअर्थी र अपाच्य लाइभ दोहोरी सार्वजनिक हुने क्रम रोकिन सकेको थिएन ।
युट्युबमा सार्वजनिक भएका द्विअर्थी र अपाच्य खालका लाइभ दोहोरीलाई लिएर स्रोता एवं कलाकारहरूले समेत गुनासो पोख्ने गरेका छन् । कतिपयले यस्ता क्रियाकलापमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ध्यान नदिएको भन्दै संस्थाप्रति आक्रोश समेत पोख्ने गरेका छन् । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. लाइभ दोहोरीमा देखिएका विकृतिलाई लिएर शुभचिन्तक एवं स्रष्टामा देखिएको आक्रोशप्रति आफूहरूको ध्यान गइरहेको बताउँछन् ।
लोकदोहोरीका अग्रज स्रष्टा सम्मिलित लाइभ दोहोरीतर्फ संकेत गर्दै बिजीले भनेका छन्, ‘सम्मानित स्रष्टाहरू नै सम्मिलित भएको ठाउँमा त्यस प्रकारको निर्लज्जला अत्यन्तै दुःखद् हो ।’
अध्यक्ष बि.जीले संस्थाको तर्फबाट बारम्बार गरिएका अनुनयलाई बेवास्ता गरी मनपरी किसिमले प्रस्तुत हुने कलाकारहरूलाई छलफलका लागि प्रतिष्ठानको कार्यालयमा उपस्थित हुन आग्रह गर्न लागिएको जानकारी दिएका छन् । उनले प्रतिष्ठानको विकृति विसंगति न्यूनीकरण समिति संयोजक शिव हमालमार्फत् तत्काल पत्र काट्दै उपस्थितिका लागि अनुरोध गर्न लागिएको जनाएका हुन् ।
बिजीले फेसकुबमा स्टाटस लेख्दै कसैले डलर मोहका कारण गरिएका कमीकमजोरीलाई लिएर सिँगो संस्थालाई गाली नगर्न समेत आग्रह गरेका छन् । प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले पनि लाइभ दोहोरीमा देखिएका विकृतिलाई न्यूनीकरण गर्न संस्थागत विधान र अधिकारले दिएको कुरा आफूहरूले गरिरहको बताएका छन् ।