काठमाडौं, ९ साउन — श्रावण शुक्ल पूर्णिमा हिन्दू धर्मावलम्बीहरूका लागि धेरै शुभ अनि पवित्र दिन मानिन्छ । धर्मग्रन्थहरूमा यस दिन गरिने तपस्या तथा दानको विशेष महत्त्वसमेत रहेको छ ।

हिन्दू धर्मदर्शन अनुसार यस दिन व्रतबन्ध गरेकाहरूले जनै फेर्ने दिन हो । यही दिन नाडीमा डोरो पनि लगाइन्छ जसलाई रक्षाबन्धन भनिन्छ ।
ऋषितर्पणीको रूपमा समेत मनाइने जनैपूर्णिमाको दिन यस वर्ष भने चन्द्रगहण लाग्ने भएका कारण जनै लगाउने लगायतका कार्य गर्न नमिल्ने शास्त्रीय व्यवस्था रहेको छ । यसका कारण यस वर्षको जनैपूर्णिमाको कार्य नागपञ्चमीमै गर्नुपर्ने बाध्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसअनुसार यस वर्ष साउन १३ गते शुक्रवार नागपञ्चमीको दिन जनै लगाउनुपर्ने व्यवस्था छ ।
यसपटकको श्रावण पूर्णिमाको दिन भद्रा परेका कारण पनि जनै धारण गर्न नमिल्ने व्यवस्था निर्णयसिन्धु अनुसार गरिएको छ । निर्णयसिन्धु हिन्दू धर्मशास्त्रको आधिकारिक व्रतनिर्णय ग्रन्थ हो ।
धर्मशास्त्रका अनुसार पूर्णिमाको दिन ग्रहण लगेको खण्डमा पूर्णिमानजिकैको शुक्ल पञ्चमीमा त्यसस दिनको संस्कार गर्ने व्यवस्था छ ।
यसका कारण शात्रीय विधिअनुसार यसपटकको ऋषितर्पणी पूिर्णमाका दिन गरिने रक्षाबन्धन र जनैधारण जस्ता विशेष कार्यहरू पूर्णिमाबाट नजिक पर्ने श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन नै गर्नुपर्ने हुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसअघि चारपटक यस्तो भएको थियो । विसं १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि यस्तै भएको थियो ।