
आशा र निराशाकाबीच नेप्से परिसूचक ११ अंकले बढेको छ । मंगलवार नेप्से परिसूचक ३७ अंकभन्दा बढीले बढेर १९४७ विन्दूमा पुगेको भए पनि कारोवार बन्द हुने बेलासम्म आइपुग्दा भने १९२७ विन्दूमा अडिएको छ ।
नेप्से मंगलवार कारोवार अवधिभरै बढ्ने र घट्ने क्रम चलिरह्यो । विहान साढे ११ देखि सवा १२ बजेसम्म निरन्तर बढेको नेप्से त्यसपछि भने घटेर २ बजेसम्म १९१६ विन्दूमा आइपुगेको थियो । त्यसपछि पुनः ११ अंकले बढेर १९२७.२८ विन्दूमा पुगेको हो ।
बजार बढेको भएपनि ६२ वटा कम्पनीले भने ४.६५ प्रतिशतसम्मले गुमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ ।
मंगलवार कमाउनेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यसका लगानीकर्ताले ९.३५ प्रतिशतले कमाएका छन् ।
मंगलवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२६ कम्पनीले ४९ लाख ६७ हजार कित्ता शेयरको ६० हजार ६ सय पटक कारोवार गरेका छन् । यसबाट जम्मा १ अर्ब ७० करोडको कारोवार भएको नेप्सेले जानकारी दिएको छ ।