०७ साउन २०८३, बिहीबार

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई चन्द्र ढकालको आग्रह

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई चन्द्र ढकालको आग्रह

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डन स्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आव्हानसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दीगोरुपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरूको दाँजोमा नेपालमा लगानीको सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए  ।

‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तब्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा लमजुङमा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत आयोजना निर्माण गर्दैछौँ,’ उनले भने,‘तपाईहरूले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैर आवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीहरूलाई आग्रह समेत गरे ।

‘यता विदेशमा विना ब्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याज समेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,’ उनले भने ।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए ।

‘यसका लागि तपाईहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्‍यो । नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्‍यो,’ उनले भने ।

बेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे ।

डिसिएम खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रशंशा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।

उनले बैंकको यस पहलले अहिले मुलुकभित्र देखिएको विदेशी मुद्रा सञ्चिति माथिको दवावलाई कम गर्न सहयोग पुग्ने विश्वास समेत राख्नुभयो ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रकाश पारेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ, टीएनबी ग्यारिसनका कमाण्डिङ अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।

उनीहरूले बैंकले विदेशमा रहेका नेपालीहरूको सेवा र सजिलोका लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैंकको प्रशंशा गर्दै यसले गैर आवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताएका छन्  ।

कार्यक्रममा बैंकका युके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रकाश पार्दै बैंकका सेवाहरू बारे प्रस्तुतिकरण गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्