
मेक्सिकोमा एफबिआईको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका लागुऔषध तस्कर राफेल कारो क्विन्टेरोलाई पक्राउ गर्न परिचालित एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटना देशको उत्तरी भागमा शुक्रवार भएको मेक्सिकोको नौसेनाले शनिवार जानकारी दिएको छ ।
लागुऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिकको सुरक्षार्थ परिचालित हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एकजना भने बाँचेको सेनाले जानकारी दिएको छ ।
नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।
राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।