१७ असार २०८३, बुधबार
प्रचण्डको भारत भ्रमण

नेपाल र भारतले आर्थिक विकासका लागि धेरै कुरामा साझेदारी गर्न सक्छन्ः प्रचण्ड

असार ३२, २०७९
नेपाल र भारतले आर्थिक विकासका लागि धेरै कुरामा साझेदारी गर्न सक्छन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भौगोलिक मात्र नभई सांस्कृति र सामाजिक सम्बन्ध अझ बलियो भएको बताएका छन् । नेपाल र भारतबीचको सम्बन्ध परापूर्व कालदेखि नै बलियो भएको बताए । 

भारतको तीनदिने भ्रमणमा रहेको अध्यक्ष प्रचण्डले शनिवार फाउण्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसीले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रियामा नेपाल र भारत असल छिमेकी राष्ट्र भएको बताएका हुन् । नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको भन्दै सामाजिक र सांस्कृतिक रुपमा समेत नजिक रहेकाे उनको दाबी छ । रामायणको प्रसंग निकाल्दै उनले भारत र नेपालको सम्बन्ध प्राचिनकालदेखि नै प्रगाढ रहेको बताए । ‘नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ छ’, उनले भने, ‘यो सम्बन्ध सामाजिक, सांस्कृतिक, परम्परागत र जनता–जनताबीच जोडिएको छ ।’ 

अध्यक्ष प्रचण्डले २०७२ सालको भूकम्प, कोभिड १९ महामारी लगायतका विपदमा भारत सरकार र त्यहाँका जनताले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘भूकम्पपछि उद्धार र पुनर्निर्माणमा भारत सरकार र भारतीय जनताले गरेको सहयोगका लागि विशेष धन्यवाद छ’, उनले भने, ‘यस्तै कोभिड १९ मा अत्यावश्यक रहेको खोप भारत सरकारले तत्कालै उपलब्ध गराएकोमा पनि धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष प्रचण्डले दुई देशबीचको सीमापार सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताएका छन् । नेपाल र भारत संस्कृति, सभ्यता र जनता–जनताबीचमा मात्र नभई द्विपक्षीय व्यापार र अर्थतन्त्रले पनि जोडिएको उनकाे भनाइ छ । नेपालले आयात गर्ने वस्तुहरुमध्ये सबैभन्दा धेरै भारतबाट ने आयात गर्ने गरेको बताउँदै उनले दुई देशको आर्थिक सम्बन्ध पनि महत्वपूर्ण भएको बताए । 

नेपालमा जलविद्युत्को प्रचुर संभावना रहेको र यसबाट भारतले पनि लाभ लिनसक्ने अध्यक्ष प्रचण्डको  भनाइ छ । त्यस्तै दुई देशको आर्थिक विकासका लागि धेरै कुरामा साझेदारी गर्न सकिने उनको विश्वास छ । आगामी दिनमा अर्थतन्त्र र व्यापार बढाउन नेपालले दुई देश जोड्ने पूर्वाधार जसमा सडक, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारणलाइनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्