०५ साउन २०८३, मंगलबार

जिल्ला अस्पताल महोत्तरीमा प्रसूति सेवा बन्द

जिल्ला अस्पताल महोत्तरीमा प्रसूति सेवा बन्द

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा ‘निक साइमन्स’ संस्थाले प्रसूतिका लागि उपलब्ध गराउँदै आएको निःशुल्क शल्यक्रिया सेवा बन्द भएको छ ।

उक्त दातृ संस्थाले २०७० असोज महिनादेखि जलेश्वर अस्पतालमा प्रसूति हुने महिलाका लागि निःशुल्क शल्यक्रिया सेवा दिँदै आएकोमा गत असार मसान्तदेखि सोे कार्यक्रम सकिएकाले आइतवारदेखि प्रसूति सेवा बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले जानकारी दिए ।

उक्त अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सुविधाको थालनी नै २०७० मा निक साइमन्स संस्थाले गरेको थियो भने अहिले सो संस्थाले  कार्यक्रम सकेर गएपछि सो सेवा पनि बन्द भएको हो । निक साइमन्सले पाँच प्राविधिक (एमडिजीपी–१, मेडिकल अफिसर–१, एनेथिसिया असिस्टेन्ट–१, स्टाफनर्स–१ र बीएमईटी–१ जना) लाई पठाएर नौ वर्षसम्म जलेश्वर अस्पतालमा बच्चा जन्माउन आउने महिलालाई निःशुल्क सिएस शल्यक्रिया दिँदै आएको थियो । 

यो सेवा यस अस्पतालको मुख्य सेवामध्ये एक थियो भने गरिब तथा जलेश्वर अस्पतालमाथि विश्वास गर्ने सम्पूर्ण व्यक्तिका लागि निक्कै उपयोगी सावित पनि भएको थियो । सेवा बन्द भइसकेपछि त्यस्ता व्यक्तिलाई प्रसूतिको क्रममा गरिने शल्यक्रियाका लागि जलेश्वर बाहिर जानुपर्ने बाध्यता आएको उनले  बताए ।

करिब एक दशक महोत्तरीका हजारौँ महिलालाई प्रसूतिको क्रममा निःशुल्क शल्यक्रिया गर्न÷गराउनमा सक्रिय रहनुभएकी निक साइमन्सकी स्टाफनर्स चन्डिका अधिकारीले अब जलेश्वरलगायत वरपरका महिलालाई प्रसूतिको बेला पाउने निःशुल्क शल्यक्रिया उपलब्ध नहुने भएपछि बच्चा जन्माउन पनि समस्या हुने बताइन् । उनले अब बाहिर जाँदा निजी अस्पतालमा एकलाखदेखि डेढलाख रुपैयाँसम्म खर्च हुने बताइन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्