
हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रामाथि अभद्र व्यवहार भएको विषयमा तनाव बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका छन् ।
चीट चेक गर्ने बहानामा महिनावारी भएका छात्रालाई प्याडसहित कपडा खोल्न लगाएको भन्दै आक्रोशित विद्यार्थीहरूले बुधवार क्याम्पसमा तोडफोड गरेका हुन् ।
स्नातक तह दोस्रो वर्षको परीक्षाका क्रममा तनाव भएको हो ।
हेटौंडा– २ स्थित मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीको परीक्षा केन्द्र हेटौंडा– ४ स्थित हेटौँडा क्याम्पसमा तोकिएको थियो ।
तेकिएको परीक्षा केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका २ छात्रालाई मंगलवार क्याम्पसका महिला कर्मचारीले चीट खोज्ने बहानामा भित्री कपडासमेत खोल्न लगाएको भन्दै विद्यार्थीहरू आक्रोशित भएका हुन् ।

पीडित छात्राहरूले आफूहरूले महिनावारीका कारण लगाएको प्याड समेत खोल्न लगाइएको गुनासो गरेका छन् । प्याडभित्र समेत चीट हुनसक्छ भन्दै खोल्न लगाएको उनीहरूको आरोप छ ।
यो घटना सार्वजनिक भएसँगै आक्रोशित विद्यार्थीहरू सत्यतथ्य छानबिन र दुर्व्यवहार गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै आन्दोलित बनेका छन् ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ ।
बुधवार बिहानैदेखि आन्दोलित विद्यार्थी तोडफोडमा उत्रिएपछि क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक डाकेको छ ।
अहिले मकवानपुरमा क्रियाशील विभिन्न विद्यार्थी संगठन र सरोकारवालाहरू सहितको बैठक बसिरहेको छ ।