०५ साउन २०८३, मंगलबार

केही गीत गाएर अमेरिका फर्किए प्रेमराजा

केही गीत गाएर अमेरिका फर्किए प्रेमराजा

‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता थुपै्रै हिट गीत दिएका लोक गीतका हस्ती प्रेमराजा महत २ दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । 

तर उनको नेपाल आउजाउ भने बाक्लै हुने गरेको छ । नेपाल आएको समयमा गीतसंगीतमा पनि उनी उत्तिकै सक्रिय हुने गरेका छन् । ७ महिना अगाडि नेपाल आगमनको क्रममा उनले ‘बन्दिपुरैमा’ बोलको गीत सार्वजनिक गरेर फर्किए ।

शान्तिश्री परियारसँगको स्वर रहेको गीतको भिडियोमा महत स्वयंमले अभिनय गरेका थिए । 

जुन गीतको भिडियोले अहिले यूट्युबमा ८५ लाख भ्युज कटाइसकेको छ । उनै प्रेमराजा केही हप्तादेखि नेपालमा थिए र बुधवार साँझ अमेरिका फर्किएका छन् ।

अमेरिका फर्किनुअघि बुधवार दिउँसो राजधानीमा एक कार्यक्रमबीच उनको स्वर र अभिनय रहेको ‘पीपल डाँडे साइँली’ बोलको गीत सार्वजनिक गरियो ।

गीतमा महत र अस्मिता परियारले स्वर दिएका छन् । भिडियोमा गायक महतले निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलासँग जोडी बाँधेका छन् ।

कार्यक्रमपश्चात लोकान्तरसँगको छोटो कुराकानीमा गायक महतले अहिले आफूले भिडियोमा अभिनय गर्नुको कारणबारे खुुलाए । ‘पहिले गीत सुनिन्थ्यो । अहिले गीत हेर्नेमा परिणत भयो,’ महतले भने, ‘त्यसका लागि त आफू भिडियोमा आउनुपर्‍यो । सोही कारण अभिनय गरेको हुँ ।’ यद्यपि आफू प्रसिद्ध हुनका लागि नभई समयको मागसँगै सुन्ने गीतलाई हेर्नका लागि मात्रै अभिनय गरेको बताए ।

उनले यस पटकको नेपाल आगमनमा अन्य केही गीतहरू समेत गाएको बताए । ‘अन्जु पन्तदेखि शान्तिश्री परियार लगायतसँग गीत गाएको छु,’ महतले भने, ‘क्रमशः ती गीतहरू सार्वजनिक हुनेछन् ।’ 

महतले यसअघि नेपाल आउँदा तयार पारेको ‘बन्दिपुरैमा’मा शान्तिश्रीसँग सहकार्य गरेका थिए । उनीसँग यसपटक हुम्ला, जुम्ला र रोल्पा, डोल्पाको ठेट भाकामा आधारित रहेर लोकगीत रेकर्ड गराएको उनले बताए । अञ्जु पन्तसँग भने लोकगीतमा आधारित थोरै आधुनिक लय मिसिएको गीत गाएको महतले बताए ।

‘असोजमा फेरि नेपाल आउनेछु । त्यतिञ्जेलसम्मलाई पुग्ने गीत रेकर्ड गराएको छु,’ महतले भने, ‘त्यतिबेला आएर फेरि अन्य गीतहरू ल्याउनेछु ।’

salt training

कमेन्ट गर्नुहोस्