नेपालको विज्ञापन सिर्जनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस बर्ष भाद्र २६ गते हुने भएको छ । यस संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् राखिएको छ ।
कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा बुधवार आयोजित उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको थिएन । कृति अबार्डस् विज्ञापन क्षेत्र लगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरूको सामूहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।
गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरूलाई समाबेश गरिने छ । संघका सदस्य एजेन्सीहरूले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ ।
गोल्डेन ओक १२औं कृति अवार्डस्मा विज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ विधामा पुरस्कृत गरिने छ ।
कार्यक्रममा परेका मनोनयनहरू छनौट तथा मुल्याङ्कन लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त बिभिन्न विधामा परेको मनोनयनहरूलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरू सहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरू रहने आनले जनाएको छ ।