२८ असार २०८३, आइतबार

मधेश प्रदेशमा पुनः कोरोना संक्रमण बढ्दै

मधेश प्रदेशमा पुनः कोरोना संक्रमण बढ्दै

मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेश प्रदेशमा शून्य रहेको कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीवार सूचना जारी गरी सतर्कता अपनाउन अपिल गरेको हो । 

हाल कोभिड–१९ को संक्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, संक्रमणको शंका भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना संक्रमित पाइएको छ । यसअघि गत मंगलबार पनि मधेश प्रदेशसमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

योसँगै मधेश प्रदेशमा कोरोना पोजेटिभका सक्रिय संक्रमितको संख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशनालयले जनाएको छ । 

यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्