०५ साउन २०८३, मंगलबार
मौद्रिक नीति

आर्थिक संकटको त्रासबीच कसिलो मौद्रिक नीति– यी हुन् मुख्य १३ विशेषता

सर्वसाधारणले ऋण पाउनै मुस्किल
साउन ६, २०७९
आर्थिक संकटको त्रासबीच कसिलो मौद्रिक नीति– यी हुन् मुख्य १३ विशेषता

चालू आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीति संकटोन्मुख अर्थतन्त्र सुधार्ने अपेक्षासहित आएको छ ।

कसिलो मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जालाई नियन्त्रण गर्ने भएको छ । 

अर्थतन्त्र जोगाउन १२ प्रतिशतमात्रै कर्जा विस्तार गर्न पाउने सीमा दिइएको छ । यसले बजारमा मुद्रा प्रवाह कम हुन्छ भने पैसाको महत्व बढाउने हुँदा महँगी नियन्त्रणमा नै राख्ने अनुमान गरिएको छ । 

समग्रमा कर्जा प्रवाह नियन्त्रण गर्ने गरी मौद्रिक नीति आएको छ । बजारमा मुद्रा प्रवाह कम हुने हुँदा महँगीको दर भने घटाउन सहयोग गर्ने गरी मौद्रिक नीति आएको डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेल भनाइ छ । उनका अनुसार अहिलेको अर्थव्यवस्था जोगाउने गरिएको अपेक्षा अनुसारकै मौद्रिक नीति आएको छ ।

उनले भने ‘बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर) ३ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याउँदा बैंकहरूबाट अब कम्तिमा ५० अर्ब रुपैयाँ राष्ट्र बैैंकमै फर्कन्छ  यसले बैंकमा नगद मौज्दात बढाउँछ ।’ स्थायी तरलता सुविधा (एसएसएफ)को दर पनि १ प्रतिशतले बढेर ८.५ प्रतिशत पुग्नुले बैंकको लागत बढाउँछ । यसले अन्तर बैैंक दरमा लिन प्रोत्साहन भने नगर्ने भएको छ । 

शेयर बजारको लागि सकारात्मक काम भएको उनको बुझाइ छ । न्यूनतम ४ करोडको सीमा हटाएर अब १२ करोडको एउटै सीमा राखिनुले शेयर लगानीकर्ताका लागि सकारात्मक सन्देश दिएको पनि उनको भनाइ छ । लघुवित्त वित्तीय संस्थाले पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने हुनु सकारात्मक पक्ष भएको बुझाइ पनि बैंकर्सको छ ।

निजी क्षेत्रको कर्जा विस्तार १२ प्रतिशत मात्रै गर्नु र उत्पादनमूलक क्षेत्रमा भने कर्जा लगानी बढाउने नीति लिनु सकारात्मक पक्ष भएको पनि उल्लेख छ । 

यस्ता छन्, मौद्रिक नीतिले गरेका मुख्य व्यवस्था

  • बैंकहरूको कर्जा प्रवाह १२ प्रतिशतभित्रै राखिने भएको छ ।
  • अन्तर बैंक ब्याजदर १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत पुगेको छ ।
  • बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत विन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्‍याइने भएको छ ।
  • बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरूले १० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था गरिएको छ ।
  • मौद्रिक नीतिको प्रसारण संयन्त्रलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले ब्याजदर तय गर्ने सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने भएको छ ।
  • कोभिड महामारीको समयमा आर्थिक पुनरुत्थानलाई गति प्रदान गर्न अवलम्बन गरिएका कर्जा पुनर्संरचना एवम् पुनरतालिकीकरण, ब्याज पुँजीकरण, लाभांश वितरणलगायतका नियामकीय व्यवस्थामा पुनरावलोकन हुने छ ।
  • वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरू मर्ज भए वा गाभिएमा गत असारसम्म पाएको छुट सुविधालाई बढाएर आगामी पुस मसान्तभित्रसम्म एकीकृत कारोबार गर्नेले पाउने छन् ।
  • बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरूले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था भएको छ ।
  • शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको छ । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने भएको छ ।
  • शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।
  • बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टीटी जारी गर्दा वा प्रतितपत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच विश्लेषण गरेर मात्र जारी गर्ने/खोल्नु पर्ने व्यवस्था गरिनेछ ।
  • कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनरकर्जा सुविधा उपलव्ध गराउने गरी निरन्तरता दिइनेछ । पुनरकर्जा सुविधालाई क्रमशः कम गर्दै २०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराबर हुने गरी उपलव्ध गराइनेछ ।
  • लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्