
कैलालीका स्थानीय तहले अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ ।
स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा रहेका अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा सघाएका हुन् ।
नागरिकलाई थप उपचारका लागि बाहिर जानु नपरोस् भनी चिकित्सक सेवा दिएपछि नागरिकले सहज सेवा पाएका छन् । कैलालीको लम्कीचुहा अस्पतालमा १ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, २ मेडिकल अधिकृत, एकजना स्टाफ नर्स, ४ हेल्थ असिस्टेन्ट, २ अनमी र १ अहेबले सेवा दिइरहेका छन् ।
लम्कीचुहा अस्पतालमा ५७ जनशक्तिले दैनिक काम गरिरहेका र त्यसका लागि वार्षिक ३ करोड खर्च भइरहेको छ । लम्कीचुहा नगरपालिकाले १५ शय्याको आफ्नै अस्पताल खोलेपछि २०७८ साउनयता ४५ हजार ७२९ जनाले स्वास्थ्य सेवा पाएका अस्पतालका व्यवस्थापक जयन्द्र जैसीले जानकारी दिए ।
लम्कीचुहा अस्पतालबाट स्त्रीरोग विशेषज्ञले मात्र गत वर्ष २ हजार ४०० लाई सेवा दिएका छन् । नेपाल सरकारको सहयोगमा बनेको बलिया स्वास्थ्य चौकीको भवन र प्रदेश सरकारले बनाएको बर्थिङ सेन्टरलाई प्रयोगमा ल्याइएको छ भने कर्मचारी लम्कीचुहा अस्पताल विकास समितिबाट भर्ना भएर काम गरिरहेका व्यवस्थापक जैसीले बताए ।
टीकापुर नगरपालिकाले पनि टीकापुर अस्पतालमा २ जना विशेषज्ञ डाक्टर उपलब्ध गराएको छ । टीकापुरमा उपलब्ध गराइएका बालरोग विशेषज्ञ र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरबाट वर्षमा हजारौँ नागरिकले सेवा पाएका छन् ।
नगरपालिकाको खर्चमा काम गरिरहेका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरले ९ हजार बढी बालबालिकाको स्वास्थ्य परीक्षण र उपचार गरेका छन् भने २५० बालबालिकाको एसएनसीयूमा उपचार भएको छ ।
‘गत वर्ष ९ हजारभन्दा बढी बालबालिकाले उपचार सेवा लिएका छन्, सबैखाले समस्या भएका बालबालिकाको उपचार भएको छ,’ डा. ठाकुरले भने, ‘अभिभावक यही उपचार पाएर खुशी हुनुहुन्छ ।’ – दुर्गा देवकोटा/रासस