बेलायत विगत ६ वर्षदेखि राजनीतिक संकटको स्थितिमा छ । ब्रेक्जिट अर्थात् युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि भएको जनमतसंग्रहपछि शुरू भएको संकटको सिलसिला अझै लामो समयसम्म जाने देखिएको छ ।
संकटको पछिल्लो कारक बहालवाला प्रधानमन्त्री बोरिस जोनसन हुन् । सन् २०१९ मा प्रचण्ड बहुमतका साथ कन्जर्भेटिभ पार्टीलाई विजय दिलाएका जोनसनले जनमतलाई कदर गर्न सकेनन् । उनी एकपछि अर्को विवादमा फस्दै गएपछि उनको आफ्नै दलका नेताहरू उनीविरुद्ध लाग्न थाले ।
विशेषगरी कोभिडको समयमा जनता चरम पीडामा रहेको अवस्थामा जोनसनले आफ्नो कार्यालयमा मदिरापान सहित रमाइलो गरे/गराएको घटना सार्वजनिक भएपछि उनीप्रति जनताका साथै कन्जर्भेटिभ पार्टीकै धारणा नकारात्मक बन्न पुग्यो ।
अझ जुन महिनाको अन्त्यतिर कन्जर्भेटिभ पार्टीका प्रमुख उपसचेतक क्रिस पिन्चरले मदिरा पिएर मात्तिएको सुरमा दुईजना पुरुषको शरीर छामछुम गरेको घटना बाहिरिएर राजीनामा दिएपछि जोनसनलाई पद छोड्नका लागि दबाब बढेको थियो । त्यो घटना विगत तीन महिनामा कन्जर्भेटिभ पार्टीमा भएको पाँचौं यौनजन्य विवाद थियो ।
यी घटनाहरू सार्वजनिक भएपछि जोनसन सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिन थाले । त्यसको शुरूआत तत्कालीन अर्थमन्त्री ऋषि सुनकले गरे ।
अहिलेको पाराले सरकार चलाउन सकिँदैन भनी उनीहरूले जोनसनको आलोचना समेत गर्दै राजीनामा दिएका हुन् । त्यसपछि बाध्य भएर जोनसनले जुलाई महिनाको पहिलो साता कन्जर्भेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिए तर प्रधानमन्त्री पद कायम राखे ।
अब सेप्टेम्बर महिनामा नयाँ कन्जर्भेटिभ प्रमुख चयन भएपछि त्यही व्यक्ति प्रधानमन्त्री बन्नेछ । कन्जर्भेटिभ पार्टीको प्रमुखका लागि विभिन्न नेताहरू लडेको भए पनि त्यो प्रतिस्पर्धा अहिले दुईजनामा खुम्चिएको छ ।
अर्थमन्त्री पदबाट राजीनामा दिएका सुनक र बहालवाला परराष्ट्रमन्त्री लिज ट्रस यस प्रतिस्पर्धामा छन् । कन्जर्भेटिभ पार्टीका १ लाख ५० हजारभन्दा बढी सदस्यले हुलाकमार्फत मतदान गरी नयाँ प्रमुख छान्नेछन् ।
विभिन्न चुवानी सर्वेक्षणहरूले ट्रस सुनकमाथि हावी हुने आकलन गरेका छन् । यूगोभ सर्वेक्षणमा ट्रसले ६२ प्रतिशत अनि सुनकले ३८ प्रतिशत मत पाउने आकलन छ ।
अगस्ट महिनाको आरम्भमा कन्जर्भेटिभ सदस्यहरूले मतपत्र पाउनेछन् । उनीहरूले अगस्टभरिमा मतदान गरिसक्नुपर्नेछ । ट्रस र सुनकले यही एक महिनाभित्र कन्जर्भेटिभ पार्टीका सदस्यहरूका सामुन्ने आआफ्नो नीतिको सशक्तता प्रमाणित गर्नका लागि बहस गर्नेछन् ।
अहिले बेलायतको आर्थिक अवस्था कमजोर छ । लामो समयदेखि लथालिंग बनेको बेलायती अर्थतन्त्रलाई ऊर्जाको मूल्य आकासिएको तथा आपूर्ति शृंखलामा अवरोध आएको अवस्थाले झन् थिलथिलो बनाएको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन यान्ड डेभलोपमेन्टले बेलायती अर्थतन्त्र सन् २०२३ मा रोकिने अर्थात् शून्य विकास हुने आकलन गरेको छ ।
यस्तो अवस्थाको बेलायती अर्थतन्त्र उकास्नका लागि यी दुई उम्मेदवारले फरक–फरक नीति अपनाएका छन् । ट्रसले ३० अर्ब पाउन्ड बराबरको आर्थिक प्याकेज ल्याएर तत्कालै कर कटौती गरिने र सार्वजनिक खर्च बढाइने भनेकी छन् ।
उनले राष्ट्रिय बीमामा गरिएको वृद्धिको नीतिलाई उल्ट्याउने, कर्पोरेट संस्थाहरूलाई गर्न लागिएको कर वृद्धिको योजना खारेज गर्ने र ऊर्जा उपभोगमा लगाइएको वातावरण कर हटाइने घोषणा गरेकी छन् । अहिले हातमुख जोर्न मुश्किल परिरहेका लाखौं बेलायतीहरूका लागि करकटौतीको यो नीति सुखद छ । तर अर्थशास्त्रीहरूले यस नीतिका कारण महंगी बढ्ने र सार्वजनिक ऋणमा पनि अभिवृद्धि हुने अनि बेलायती अर्थतन्त्र नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
सुनक चाहिँ तत्काल करकटौती गर्न नहुने पक्षमा छन् । पहिला मूल्यवृद्धिलाई व्यवस्थापन गरेपछि मात्र करकटौतीको नीति अपनाउनु उपयुक्त हुने उनको धारणा छ । सन् २०२३ को अक्टोबर महिनासम्म मूल्यवृद्धि कायम रहने भएकाले करकटौतीका लागि त्यसबेलासम्म कुर्नुपर्ने उनी बताउँछन् । उनी कन्जर्भेटिभ पार्टीले लिएको सरकारी खर्चकटौती नीतिका समर्थक हुन् ।
परराष्ट्रनीतिको कुरा गर्दा ट्रस र सुनक दुवै जी७ तथा नेटोका समर्थक हुन् । सुनकले जी७ को सदस्य मुलुकको अर्थमन्त्रीको हैसियतमा विश्वव्यापी कर्पोरेट संस्थाहरूका लागि न्यूनतम करको दरसम्बन्धी नीति ल्याउन योगदान गरेका छन् । ट्रसले जी७लाई थप आक्रामक बनाउँदै त्यसलाई आर्थिक नेटोका रूपमा विकसित गर्ने भिजन सार्वजनिक गरेकी छन् ।
नेटोका सदस्य मुलुकहरूले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने मागमा ट्रस पूर्ण प्रतिबद्ध छिन् भने सुनक पनि यसमा सकारात्मक छन् तर स्वेच्छाचारी रूपमा लक्ष्य तोक्ने कुराको उनले विरोध गरेका छन् । समयक्रममा रक्षा खर्च साढे २ प्रतिशतसम्म बढाइने सुनकको भनाइ छ भने ट्रसले स्पष्ट रूपमा सन् २०३० सम्म बेलायतको रक्षा खर्च ३ प्रतिशत पुर्याइने बताएकी छन् ।
पश्चिमलाई चुनौती दिइरहेका दुई शक्तिराष्ट्रहरू रुस र चीनका विषयमा ट्रस र सुनक आक्रामक छन् । दुवैलाई रुसले प्रतिबन्ध लगाएको छ तर सुनकभन्दा ट्रस बढी जोधाहा छिन् । सुनक ती दुई मुलुकप्रति नरम रहेको आरोप उनले लगाएकी छन् ।
युक्रेनमाथि रुसको आक्रमणपछि सुनकले कुनै पनि बेलायती कम्पनीहरूलाई रुसमा लगानी नगर्न आग्रह गरेका थिए भने बीपी र शेल जस्ता बेलायती ऊर्जा कम्पनीहरूले रुसबाट हट्ने भनी गरेको निर्णयको स्वागत गरेका थिए ।
तर सुनककी पत्नी अक्षता मूर्तिका पिता एनआर नारायण मूर्तिको आईटी कम्पनी इन्फोसिसले युद्ध शुरू भएपछि पनि रुसमा रहेको आफ्नो कारोबार बन्द नगरी मुनाफा कमाइरहेको भनी विवाद आएको थियो । सुनकले आफू इन्फोसिसको आयआर्जनको हिस्सेदार नभएको बताएर विवाद सामसुम पार्ने कोशिश गरेका थिए ।
ट्रसले चाहिँ रुसविरुद्ध एकपछि अर्को कठोर बयान दिइरहेकी छन् । युक्रेनबाट रुसलाई पूरै हटाउने उनको भनाइ छ । त्यस्तै बेलायतमा रहेको रुसको रोक्का सम्पत्तिलाई अधिग्रहण गर्ने अनि युक्रेनका युद्धपीडितलाई बाँड्ने निर्णयको उनले समर्थन गरेकी छन् ।
आर्थिक सुझबुझ भएका सुनकले चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्ने गरेका छन् । सन् २०२१ को जुलाई महिनामा वार्षिक म्यान्सन हाउस स्पीचमा सुनकले चीनसँगको व्यापारिक सम्बन्ध बढाउनुपर्ने बताएका थिए । उनले चीनको संवेदनशील हङकङ र सिन्च्याङ मामिलामा पनि खासै टिप्पणी गर्ने गरेका छैनन् ।
तर ट्रसले चीनमाथि लगातार आक्रमण गर्ने गरेकी छन् । गत डिसेम्बर महिनामा उनले चीनको उदयलाई रोक्नका लागि स्वतन्त्रता सञ्जाल (नेटवर्क अफ लिबर्टी) बनाउनुपर्ने प्रस्ताव गरेकी थिइन् । गत अप्रिल २७ मा उनले चीनको उदय अवश्यम्भावी नरहेको तथा चीनले पश्चिमी नियम पालन गर्नुपर्ने बताइन् । अझ, उनले एक कदम अघि बढेर ताइवानमा नेटोले हस्तक्षेप गर्नुपर्ने धारणा समेत राखिन् ।
बेलायतको आगामी प्रधानमन्त्री बन्नका लागि प्रतिस्पर्धा गरिरहेका दुवै उम्मेदवारप्रति आम मतदाता खासै उत्साहित देखिएका छैनन् । सुनकले अहिलेको विषम परिस्थितिमा शासन चलाउने विश्वसनीयता आफूले हासिल गरेको बताएका छन् तर अर्थमन्त्रीका रूपमा उनको कार्यकाल सम्झनलायक नरहेको विश्लेषकहरू बताउँछन् ।
ट्रस चाहिँ चर्का कुरा गरेर आफूलाई बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न खोज्दैछिन् । त्यसले कन्जर्भेटिभ पार्टीका उग्रदक्षिणपन्थीहरूलाई त खुशी बनाएको छ, तर कामकाजी वर्गका मानिसप्रति उनको समझ र सहानुभूति दुवै नभएकाले (करकटौतीमार्फत उनीहरूको पीडा शमन गर्न प्रयास गर्न सक्ने भए पनि) उनको नेतृत्वमा पार्टीले आगामी आमनिर्वाचन जित्ने कुरा नै शंकाको घेरामा रहेको विश्लेषकहरूको भनाइ छ ।
तमाम चारित्रिक कमजोरी भए पनि बोरिस जोनसनसँग जनताको चाहना बुझ्न सक्ने क्षमता थियो । उनी पदबाट हटेपछि उनी जत्तिको उचाइको नेता कन्जर्भेटिभ पार्टीमा बाँकी छैन ।
अहिलेका चुनावी सर्वेक्षणले ट्रसलाई जोनसनको उत्तराधिकारी बनाउने देखिएको छ । तर ट्रसको खतरनाक आर्थिक नीतिले अर्थतन्त्रमा पार्ने असरका कारण आगामी चुनावमा विपक्षी लेबर पार्टी हावी हुने बाटो खुल्न सक्ने देखिन्छ । त्यसो त लेबर पार्टीसँग पनि जनताको मन जित्ने खासै एजेन्डा र (टोनी ब्लेयर जस्तो) व्यापक अपील भएका नेताहरू छैनन् ।