०५ साउन २०८३, मंगलबार

मुख्यमन्त्री राईद्वारा ४ अस्पताललाई आधुनिक एम्बुलेन्स हस्तान्तरण

मुख्यमन्त्री राईद्वारा ४ अस्पताललाई आधुनिक एम्बुलेन्स हस्तान्तरण
प्रतिकात्मक तस्वीर

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आधुनिक स्वास्थ्य सामग्रीयन्त्र जडान भएको ४ एम्बुलेन्स ४ अस्पताललाई हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मंगलवार आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले स्वास्थ्य तथा विपद् आपतकालीन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत एम्बुलेन्स भन्सार छुटसहित प्रतिथान ५९ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो ।    

सरकारको स्वास्थ्य नीतिअनुसार १४ जिल्ला अस्पतालमा १४ एम्बुलेन्स र १४ शवबाहन उपलब्ध गराउने नीतिअनुसार पहिलो चरणमा एम्बुलेन्स प्रदान गरिएको हो ।
     
मुख्यमन्त्री राईले एम्बुलेन्सको चाबी इनरुवा जिल्ला अस्पताल सुनसरी, उदयपुर जिल्ला अस्पताल उदयपुर, मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारी मोरङ र मेची अस्पताल झापाका मेडिकल सुपरिन्टेन्डेन्ट क्रमशः डा. देवराज घिमिरे, डा. मुकेश झा, डा. रवि साह र डा टंकप्रसाद बराकोटीलाई हस्तान्तरण गरे ।
    
मुख्यमन्त्री राईले सरकारले जनतालाई गुणस्तरीय एवं सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वअनुसार एम्बुलेन्सको व्यवस्था गरेको बताए । उनले जनतालाई आफ्नो घरठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ स्वास्थ्य केन्द्र स्थापित गर्ने र भएका अस्पतालको स्तरोन्नति गर्न क्रियाशील रहेको धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस्