विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको अवस्था दयनीय बनेको छ ।
एक शताब्दी लामो इतिहास बोकेको क्याम्पस अहिले भौतिक रूपमा पूर्ण जीर्ण अवस्थामा पुगेको हो ।
क्याम्पसको घण्टाघर पट्टिको भागमा जताततै चर्केको भवन, भित्ताभरि घाँस, लेउ अनि रसाएको पानी, विद्यार्थी पढ्ने कक्षा कोठाको छतबाट भुइँसम्म पानी तपतप चुहिएको अवस्था छ ।
जताततै परेवाको गुण अनि घाँसैघाँसले भवन घेरिएर ज्यादै अव्यवस्थित देखिएको छ । २०७२ सालको भूकम्पले त्रिचन्द्र क्याम्पसको पुरातात्विक भवनमा ठूलो क्षति पुगे पनि यसलाई जीर्णोद्धार गर्नेतर्फ भने सरोकारवालाको ध्यान पुग्न सकेको देखिँदैन ।

त्रिचन्द्र क्याम्पसको तथ्यांक शास्त्रमा चौथो वर्षमा अध्ययनरत प्रदीप पोखरेलले भने, ‘पढ्नका लागि ओत लाग्ने ठाउँ छैन, छतबाट पानी चुहिन्छ । चुहिएको पानी कक्षा कोठामा जमेको छ । कतिबेला छत माथिबाट इँटा खस्ने हो भन्ने त्रासले मानसिक रूपले कक्षा कोठामा बसेर पढ्न सक्ने वातावरण नै छैन ।’
कक्षा कोठादेखि शौचालयसम्म क्याम्पसमा पढ्ने विद्यार्थीले सुरक्षित महसूस गर्न नसकेको पोखरेलले बताए ।

सोही विधाको चौथो वर्षमा अध्ययनरत प्रदीप आचार्यको भनाइ पनि उस्तै छ । उनले भने, ‘सबै भवन पूर्ण रूपले जीर्ण छ । अरु विधाका विद्यार्थीले पनि यहाँ भएको एक मात्र कक्षा कोठा नै प्रयोग गर्नुपरेको छ । जसले गर्दा कक्षाका लागि कुर्दाकुर्दा हाम्रो पहिलो कक्षा नै दिउँसोको ३ बजेबाट मात्र शुरू हुन्छ ।’
‘अहिले पनि जीर्णोद्धार हुने कुनै संकेत देखिँदैन,’ उनले भने, ‘हामी यहाँ अध्ययन सकिएर नजाँदै जीर्णोद्धार शुरू भएको हेर्ने रहर छ ।’

विपिन पाठकले क्याम्पसको भग्नावशेषले गर्दा पहिलो वर्षको कक्षासँग आफ्नो कक्षा जुधिरहेकाले पढ्नमा बाधा पुगिरहेको उनले बताए । कहिलेकाहीँ कक्षा कोठा नभएरै पढ्न नपाएकोमा दुःख लाग्ने गरेको उनले बताए ।
‘कुनै समय अर्थमन्त्रीले यस क्याम्पसको पुनर्निर्माणका लागि भनेर बजेट छुट्याएका भए पनि त्यो अहिलेसम्म लागू हुन सकेन, जहिले भोलि–भोलि भनेर टार्ने काम भयो र आज यस क्याम्पसको हालत भूकम्प जाँदा जस्तो थियो, अहिले पनि उस्तै छ,’ उनले व्यंग्यात्मक शैलीमा गुनासो पोख्दै भने, ‘तर हामीले ४ वर्षसम्म यस क्याम्पसमा अध्ययन गरिसकेका छौं । हाम्रो आत्मा यहाँ बसिसकेको छ । त्यस हिसाबले चाँडोभन्दा चाँडो पुनर्निर्माण शुरू भएर सम्पन्न होस् भन्ने चाहना रहेको छ ।’

यो प्रधानमन्त्री शेरबहादुर देउवा पढेको क्याम्पस समेत हो । कांग्रेसका महामन्त्री गगन थापाले पनि यही क्याम्पसमा पढेका थिए । विद्यार्थी नेताका रूपमा गगनले राजनीतिक ‘हाइट’ नै यही कलेजबाट बनाएका थिए ।
हेर्नुहोस्, भिडियो :