
यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने भएको छ । अवार्डले स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पु¥याउने स्वास्थ्यकर्मीहरूको योगदानको पहिचान र सम्मान गर्ने उद्धेश्यका साथ वार्षिक रूपमा वितरण हँुदै आएको छ ।
आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा विभिन्न तह र तप्कामा रही सेवा पु¥याएका स्वास्थ्यकर्मीहरूलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।
आयोजकका अनुसार यस वर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ । कोभिड महामारीको जोखिममा समेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन् ।
उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदा-रहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरूलाई विशिष्ठ सेवा सम्मानले सम्मानित गरिने छ । यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ ।
आगामी भदौ १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजकले जनाएको छ ।
अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित निर्णायक समिति गठन गरिएको छ ।
समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्ला–जिल्लाबाट सूचना संकलन कार्य गरिरहेको बताइएको छ ।
हालसम्म देशैभरिबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरूको नामावली संकलन भएको छ ।
१२ वर्षअघि शुरू भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई वर्ष कोभिड महामारीका कारण स्थगित भएको थियो । सरकारी तथा सामुदायिक संस्थाहरूमा रहेर अति विपन्न तथा गरिब परिवारहरूको स्वास्थ्य अधिकारका लागि खटिने स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने अवार्डले स्वास्थ्यमा सेवाभाव प्रबद्र्धन गर्ने आयोजकको विश्वास छ ।