०२ साउन २०८३, शनिबार

विशेषज्ञ वडा क्लिनिकबाट १८२ जनाले लिए उपचार सेवा

विशेषज्ञ वडा क्लिनिकबाट १८२ जनाले लिए उपचार सेवा
प्रतिकात्मक तस्वीर

धनगढी उपमहानगरपालिकाले बुधवार सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा १८२ जनाले उपचार सेवा लिएका छन् ।

उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियनबाट १३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

प्रयोगशाला सेवा लिने सेवाग्राहीको संख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको संख्या ३३ रहेको छ । ईसीजी सेवा १८ जनाले लिएका छन् भने ७० वर्षमाथिका सेवाग्राही संख्या ४३ जना रहेको बताइएको छ ।

धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ । उपमहानगरपालिकाका आमजनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

क्लिनिकबाट प्रत्येक महिना तालिकाअनुसार उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्