२९ असार २०८३, सोमबार
ताइवान संकट

पलोसीको ताइवान भ्रमण– अमेरिकाले चालेको चाल र सी चिनफिङले संकेत गरेको माओकालीन कठोरता

साउन १९, २०७९
पलोसीको ताइवान भ्रमण– अमेरिकाले चालेको चाल र सी चिनफिङले संकेत गरेको माओकालीन कठोरता

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ । 

एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पलोसी भ्रमणले औपचारिकता दिएको छ । 

ताइवानलाई सदैव समर्थन गरिरहने भनी पलोसीले रुसविरुद्ध युक्रेनको उपयोग गरेझैं चीनविरुद्ध ताइवानको उपयोग गर्ने अमेरिकी नीतिलाई उजागर गरेकी छन् । 

क्षयीकरण हुँदै गरेको अमेरिकाको एकध्रुवीय प्रभावलाई अक्षुण्ण राख्ने यस रणनीतिको अभीष्ट हो । यसको झलक अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले सन् २०१९ मा दिइसकेका थिए । 

सपचाइना डट्कमसँगको अन्तर्वार्तामा सलिभानले सोभियत संघको पतनपछि संसारलाई आफ्नो पक्षमा एकजुट बनाउन तथा मानवताको मसिहाका रूपमा प्रस्तुत गर्न अमेरिकालाई आवश्यकता परेको बताएका थिए । त्यसका लागि अमेरिकालाई जोखिम पुर्‍याउन सक्ने एक तत्त्व आवश्यक रहेको उनको कथन थियो । जोखिममा पार्न सक्ने शक्ति चीन भएको उनले स्पष्ट बताएका थिए । 

हुन पनि अमेरिकी सुरक्षानीतिमा चीनलाई समकक्षी प्रतिस्पर्धीका रूपमा चित्रित गर्ने गरिएको छ र चीनको घेराबन्दीका लागि हिन्द प्रशान्त रणनीति ल्याइएको छ । 

तर चीन अमेरिकाका लागि खतरा हो भन्ने विषयमा अमेरिकीहरूलाई आश्वस्त तुल्याउन दोस्रो विश्वयुद्धमा जापानले गरेको पर्ल हार्बर आक्रमण जस्तो कुनै घटना आवश्यक रहेको सलिभानले बताएका थिए । 

पलोसीले ताइवानको भ्रमण गर्दा उनको विमानमाथि चिनियाँ सेनाले आक्रमण गरेको भए त्यस्तो क्षण निर्माण हुन सक्थ्यो । ताइवानको भूमिमा नटेक्दै पलोसीमाथि आक्रमण गर्ने चीन अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि सबभन्दा ठूलो जोखिम हो भनी अमेरिकाले भाष्य निर्माण गर्न पाउँथ्यो । 

तर अमेरिकाले बिछ्याएको यो जालमा चीन फसेन । आफूलाई संयमित राख्दै चीन कठोर चेतावनी र सैन्य अभ्यासमा सीमित रह्यो । 

यसरी ताइवानलाई थप हातहतियारले सुसज्जित बनाएर चीनविरुद्ध लडाउने अनि उक्त लडाइँलाई लामो समयसम्म तन्काएर चीनलाई कमजोर गराउने अमेरिकाको रणनीति देखिन्छ । युद्ध लम्बिँदै गएमा राष्ट्रपति सी चिनपिङप्रति चिनियाँहरूको विश्वास गुमेर सत्ता परिवर्तन हुने सपना पनि अमेरिकाले देखेको छ । यो ठ्याक्कै युक्रेनी मोडलको प्रतिरूप हो । 

अब अमेरिका चीनलाई राष्ट्रिय सुरक्षामाथिको जोखिमका रूपमा प्रस्तुत गर्न अझै लागिपर्नेछ । त्यसको तयारीका रूपमा अमेरिकी सिनेटरहरू बब मेनेन्डेज र लिन्डसे ग्राहमले ताइवान पोलिसी याक्ट अफ २०२२ माथिल्लो सदन सिनेटमा पेश गरेका छन् । उक्त विधेयकले ताइवानका विषयमा अमेरिकाले अहिलेसम्म लिँदै आएको नीतिमा आमूल परिवर्तन गर्ने बताइएको छ । 

अमेरिकाले ताइवानलाई उपलब्ध गराउन सक्ने प्रतिरक्षात्मक हतियार प्रणालीको संख्या बढाउन विधेयकले सहयोग गर्नेछ । क्विन्सी इन्स्टिच्युट नामक अमेरिकी थिंकट्यांकका माइकल स्वाइनले यस विधेयकले एक चीन नीतिलाई धुजाधुजा बनाउने बताएका छन् । 

यसरी ताइवानलाई थप हातहतियारले सुसज्जित बनाएर चीनविरुद्ध लडाउने अनि उक्त लडाइँलाई लामो समयसम्म तन्काएर चीनलाई कमजोर गराउने अमेरिकाको रणनीति देखिन्छ । युद्ध लम्बिँदै गएमा राष्ट्रपति सी चिनपिङप्रति चिनियाँहरूको विश्वास गुमेर सत्ता परिवर्तन हुने सपना पनि अमेरिकाले देखेको छ । यो ठ्याक्कै युक्रेनी मोडलको प्रतिरूप हो । 

युक्रेन संकटको चुरो सन् २०१४ मा अमेरिकाले किएभमा गराएको सत्तापरिवर्तनमा भेटिन्छ । रुस र युरोप दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ भन्ने भिक्टर यानुकोभिचलाई युरोमैदान कूमार्फत अपदस्थ गरी अमेरिकाले रुसका घोर विरोधी दक्षिणपन्थीहरूलाई सत्तामा पुर्‍याएको थियो । 

त्यही तरिका अपनाएर अमेरिकाले ताइवानको सत्तारूढ दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) लाई ताइवान स्वतन्त्रताका लागि भड्काउने सम्भावना छ । ताइवान संसारको सबभन्दा स्वतन्त्र स्थानमध्ये एक हो भनी पलोसीले त्यसको छनक दिइसकेकी छन् । अनि डीपीपीले सन् १९९२ मा परिभाषित गरिएको एक चीन नीतिलाई अस्वीकार गरी स्वतन्त्रताको अभिलाषालाई जीवितै राखेको छ । 

रुसले लक्ष्मणरेखाका रूपमा परिभाषित गरेको युक्रेनलाई समेत अमेरिकाले नेटोमा लाने प्रयास गरेपछि रुस आक्रोशित भई युक्रेनमाथि आक्रमण गरेको हो । युक्रेनलाई नेटोमा जोड्ने प्रपञ्च सन् २०१४ को कूपछि संविधानमै उल्लेख गरी औपचारिकता दिइएको स्मरणीय छ । 

त्यसैगरी अमेरिकाले जापान, दक्षिण कोरिया, फिलिपिन्स र ग्वाम जस्ता स्थानबाट चुनौती तेर्स्याउँदा मात्र पर्याप्त नहुने ठानेर चीनको लक्ष्मणरेखाका रूपमा रहेको ताइवानलाई उपयोग गर्न खोजिरहेको छ । त्यसैको सिलसिलामा ताइवानलाई थप सैन्य सहयोग गर्ने र उस्तै परेमा एक चीन नीतिलाई विधिवत रूपमै अन्त्येष्टि गर्ने अमेरिकाको योजना हो ।

अमेरिकी संस्थापन युद्धप्रेमी छ किनकि युद्ध हुँदा त्यसका घटकहरूले हातहतियार बेचेर कुस्त नाफा कमाउन पाउँछन् । अनि युद्धमार्फत नै संसारभरि प्रभुत्व जमाउन अमेरिकीहरूलाई सहज हुन्छ । 

मध्यम शक्ति भएका मुलुकहरूमा पुगेर अमेरिका युद्ध गर्छ भने रुस र चीन जस्ता महाशक्ति मुलुकहरूसँग ऊ छद्मयुद्ध (प्रोक्सी वार) गर्ने गर्छ । युक्रेन प्रोक्सी वारको उम्दा उदाहरण हो । युक्रेनको भूमि उपयोग गरी रुसलाई हदैसम्म जिस्क्याएपछि रुसले प्रत्याक्रमण गरेको हो । 

ठीक त्यसैगरी अमेरिकाले चीनमाथि घात गर्नका लागि ताइवानलाई तयार पारिरहेको छ । ताइवानको भूमिमा चीनविरुद्ध प्रोक्सी वार गर्न अमेरिका उद्यत देखिन्छ । चीनले ताइवानमाथि कुनै किसिमको सैन्य कदम चालोस् भनी उत्तेजित बनाउनका लागि हतियार सहयोग गर्ने अनि आफ्ना सांसद तथा कर्मचारीलाई ताइवान पठाउने काम अमेरिकाले गरिरहेको हो । 

चीन अमेरिकाको यस जालमा परेको त छैन तर ताइवान क्षेत्रमा सैन्य अभ्यास तथा ताइवानमाथि आर्थिक प्रतिबन्धमार्फत आक्रोशलाई अभिव्यक्त गरिरहेको छ । चीनले तत्कालै ताइवानमाथि आक्रमण गरेको भए अमेरिकाले चीन ताइवान मात्र नभई संसारका लागि नै जोखिम हो भन्ने अवसर पाउँथ्यो । अनि लोकतान्त्रिक ताइवानको रक्षा गर्ने मसिहाका रूपमा आफूलाई प्रस्तुत गर्ने मौका पनि उसले पाउँथ्यो । 

तर चीनले संयम अपनाएर त्यो अवसरबाट अमेरिकालाई वञ्चित गरेको छ । तथापि चीनलाई युद्धका लागि उत्तेजित पार्न अमेरिकाले कुनै कसर बाँकी नराख्ने देखिन्छ । सकेसम्म आफू नलड्ने र ताइवानीलाई नै लडाउने उसको रणनीति हो । 

तर चीनसँग प्रत्यक्ष भिडन्तको अवस्था आएछ भने चिनियाँ अर्थतन्त्र र राजनीतिक स्थिरतालाई नष्ट गर्ने अमेरिकाको सोच देखिन्छ । चीनको अर्थतन्त्र ध्वस्त हुँदा संसारभरिको अर्थतन्त्रमा असर पर्नेछ । तर अमेरिकाले आफ्नो अर्थतन्त्रलाई जोगाउनका लागि कदम चाल्न खोजेको छ । 

चिनियाँ आपूर्ति शृंखलाबाट स्वतन्त्र हुने रणनीति अमेरिकाले अख्तियार गर्न थालेको छ । ट्रम्प प्रशासनले चीनविरुद्ध चलाएको व्यापारयुद्ध त्यसैको परिणाम थियो । 

अहिले बाइडनको कार्यकालमा डेमोक्रेटिक पार्टी र विपक्षी रिपब्लिकन दुवै मिलेर अमेरिकामा सेमीकन्डक्टर उत्पादनलाई अभिवृद्धि गर्न सहायता गर्ने चिप्स विधेयक पारित गरेका छन् । त्यसमा राष्ट्रपति बाइडनले हस्ताक्षर गर्न मात्र बाँकी छ । चीन (र ताइवान) बाट विद्युतीय सामग्रीमा उपयोग गरिने सेमीकन्डक्टर मात्र नभई अरू धेरै वस्तु आयात नगर्ने रणनीति अमेरिकाले बनाएको छ । 

यस भ्रमणले अमेरिकाप्रति चीनको विश्वास पूरै तोडिएको छ । चीनका राष्ट्रपति सी चिनपिङले पलोसी भ्रमणपछि अमेरिकालाई प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिको संज्ञा दिएर माओकालीन कठोरताको आभास दिलाएका छन् । 

त्यसका साथै विगत केही वर्षयता अमेरिकामा व्यापक रूपमा चीनविरोधी भाष्य निर्माण गरिएको छ । चीनले अमेरिकाको उद्योग व्यवसाय नष्ट गरेको भन्दै ट्रम्पका सल्लाहकार पिटर नाभारोले डेथ बाई चाइना नामक पुस्तक र फिल्म नै प्रकाशित गरेका छन् । 

अमेरिकाको प्रतिष्ठित सर्वेक्षण संस्था प्युले गरेको पछिल्लो सर्वेक्षणमा सहभागी दुईतिहाइ अमेरिकीले चीनप्रति नकारात्मक धारणा व्यक्त गरेबाटै चीनलाई शत्रुराष्ट्र र जोखिमका रूपमा अमेरिकी संस्थापनले गर्न खोजेको चित्रणको योजना सफल भइसकेको देखिन्छ । 

कोभिड महामारी शुरू भएपछि त झन् चीनलाई त्यसका लागि दोषी ठहर गर्दै चिनियाँ मूलका मानिसमाथि अमेरिकाका विभिन्न शहरमा भौतिक आक्रमणका घटना हुनुले पनि चीनविरोधी माहोलले जरा गाडिसकेको देखिन्छ ।

अब त्यही विरोधी माहोललाई एक कदम अघि बढाएर चीनलाई युद्धमा उद्यत गराउन अमेरिकाले ताइवानमा पासा फ्याँकेको देखिन्छ । पलोसी भ्रमण त्यसैको एक हिस्सा हो । 

यस भ्रमणले अमेरिकाप्रति चीनको विश्वास पूरै तोडिएको छ । चीनका राष्ट्रपति सी चिनपिङले पलोसी भ्रमणपछि अमेरिकालाई प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिको संज्ञा दिएर माओकालीन कठोरताको आभास दिलाएका छन् । 

यस्तो अवस्थामा चीन र अमेरिकाबीचको युद्ध अवश्यम्भावी छ । तर त्यो कहिले हुन्छ र कुन कुन मोर्चामा लडिन्छ भविष्यले बताउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्