३० असार २०८३, मंगलबार

नख्खु–भैंसेपाटी सडक साेमवारबाट कालाेपत्रे गर्ने सहमति, काम सुचारु नगरे मोसो दल्ने स्थानीयकाे चेतावनी [भिडियो]

साउन २२, २०७९

ललितपुरको नख्खु– भैंसेपाटी सडक भोलि (सोमवार) बिहान ८ बजेबाट कालोपत्रे शुरू हुने भएको छ । 

स्थानीय, ठेकेदार र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधिबीच आइतवार उक्त सडक सोमवारदेखि नै कालोपत्रे गर्ने सहमति भएको हो । आइतवार भएको वार्तामा आफूहरूबीच भोलिदेखि नै सडक कालोपत्रे गर्ने सहमति भएको एक स्थानीयले जानकारी दिएका छन् । उनले सहमतिबमोजिम ठेकेदार कम्पनीले काम सुचारु नगरे मोसो दल्ने चेतावनी समेत दिए ।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेको भन्दै त्यस क्षेत्रका बासिन्दा पछिल्लोपटक ७ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आवागमन नै अवरुद्ध बनाएका छन् । आवागमन नै बन्द गरेर स्थानीयबासीले आन्दोलन थालेपछि स्थानीय प्रशासनको रहोबरमा आइतवार त्रिपक्षीय वार्ता भएको थियो । 

वार्तामा ठेकेदार कम्पनीले भोलिबाट निसर्तः काम शुरू गरी दशैंको घटस्थापनासम्ममा सडक कालोपत्रे गरिसक्ने सहमति जनाएको स्थानीय भैंसेपाटी–६ छैबूका रविन्द्र थापाले जानकारी दिए । उनले भने, ‘हामी अब भोलि बिहान ८ बजेसम्मको पर्खाइमा छौँ ।’ उनले सहमतिअनुसार ठेकेदार कम्पनीले सोमवार बिहानबाट सडक कालोपत्रे गर्न शुरू नगरे कडा संघर्षमा उत्रने चेतावनी दिए । 

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘हामीले आजसम्म एम्बुलेन्स, बिरामी, अफिस ओहोर–दोहोर गर्ने सवारीलाई छुट दिएका छौँ । यदि भोलि काम थालिएन भने कसैलाई पनि आवतजावत गर्न दिँदैनौँ ।’

त्यस्तै, भैंसेपाटी –१८ बस्ने निरन्जन थापाले जिल्ला प्रशासन कार्यालयमा आज भएको वार्ताबमोजिम भोलिबाट काम सुचारु नभए ठेकेदारलाई मोसो दल्ने चेतावनी दिए । ‘आज वार्तामा भने बमोजिम भोलि बिहान ८ बजेबाट ठेकेदार कम्पनीले काम शुरू नगरे ठेकेदारलाई मोसो दल्न पनि पछि हट्दैनौँ’ थापाले चेतावनी दिँदै भने । 

भैंसेपाटी –२५ बस्ने रमणकुमार शाहीले नख्खु– भैंसेपाटी सडकमा ट्रिपर आतंकले गर्दा आफूहरूको ‘निन्द्रा हराम’ गरेको बताए । रातभरि सुत्न नसकेको उनले लोकान्तरसँगको कुराकानीमा गुनासो गरे । ‘ट्राफिकले साधारण ट्याक्सी चालकलाई तीब्र गतिमा सवारी चलाउँदा समातेर चिट काट्छ, तर ट्रिपरले रफ तरिकाले सवारी हुँइकाउँदा पनि कुनै कारबाही गर्दैन किन ?’ शाहीले प्रश्न गरे ।

काठमाडौं उपत्यकाको नख्खु– भैंसेपाटी सडक विगत ७ वर्षदेखि अस्त–व्यस्त छ । उक्त सडक खण्डमा जताततै खाल्डाखुल्डीका साथै हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा आफूहरू हैरान बनेको स्थानीयको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्