०८ असार २०८३, सोमबार

दुई श्रीमतीको अंश विवादले काभ्रेमा आत्महत्या बढ्यो, १४ दिनमा १४ कै मृत्यु

कात्तिक २०, २०७४
दुई श्रीमतीको अंश विवादले काभ्रेमा आत्महत्या बढ्यो, १४ दिनमा १४ कै मृत्यु

काभ्रे, १३ साउन– गत शुक्रबार काभ्रेको बनेपामा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए । त्यसको पाँच दिन नवित्दै विहीबार धुलिखेल नगरपालिका वडा नम्बर ८ मा एक जोडी दम्पती ले एउटै रुखमा झुण्डिएर आत्महत्या गरे ।

आफैले लगाएको पाईन्ट र सल जोडेर पासो बनाई एउटै पासोमा धुलिखेल ८ घर भएका भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती मनिषा दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

२८ बर्षका सोमप्रसादकी जेठी श्रीमती विद्यालयकी शिक्षिका हुन् । एक छोरा र एक छोरीका बाबु सोमप्रसादले केही दिन अघि मात्रै धुलिखेल वडा नम्वर २ रविगाउँ घर भई बनेपाको एक सहकारीमा कार्यरत कक्षा १२ मा अध्ययनरत १९ वर्षीया मनिषासँग विवाह गरेका थिए ।

सोमप्रसादले दोस्रो विवाह गरेसँगै उनको परिवारमा सम्पति विवाद भयो ।

एक दुग्ध डेरीका सवारी चालकको रुपमा काम गर्ने सोमप्रसादकी जेठी श्रीमतीले प्रहरीकोमा मंगलबार मात्रै उजुरी दिएकी थिईन् ।

कान्छी श्रीमती नलिई सोमप्रसाद जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुगेका थिए । बुधबार जेठी श्रीमती टिकादेवी र सोमप्रसादबीच भएको सम्पत्ति आधा गर्ने सहमति भएको थियो भने श्रीमतीलाई कुटपिट र हिंसा नगर्ने मिलापत्र प्रहरी कार्यालयमा भएको थियो ।

सोमप्रसादले आफ्नो नाममा रहेको आधा जग्गा टिकादेवीलाई पास गरिदिने सहमति अनुसार बुधबार दिउँसो घर गएका थिए ।

सोमप्रसाद कान्छी श्रीमती मनिषालाई लिएर राति घरबाट निस्किए ।

बिहीबार दिनभर आफन्तले उनको खोजी ग-यो तर फेला परेनन् । घाँस काट्न गएका स्थानीयले बिहीबार दिउँसो चारबजे सोमप्रसाद र मनिषालाई अर्धनग्न अवस्थामा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरे ।

चार जनाको सामूहिक आत्महत्या

गत शुक्रबार बनेपा नगरपालिकाको बसपार्कमा हरिभक्त दाहाल, उनको श्रीमती हरिमाया दाहाल, छोरा राजाराम दाहाल र छोरी रञ्जना दाहाल सामूहिक आत्महत्या गरेको घटनामा अनुसन्धान भईरहेको छ ।

दाहाल परिवारमा पनि दुई श्रीमतीको अंश विवादका कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ ।

विगत १५ दिनमा काभ्रेमा ११ जनाले आत्महत्या गरेका छन् ।

श्रीमतीको खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

विहीवार नै काभ्रेको पनौति नगरपालिका २ बस्ने ३१ वर्षीय सन्तबहादुर तामाङलाई श्रीमतीले धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनकी श्रीमती लालुमायाँ तामाङले दाउरा काट्न प्रयोग गरिने खुर्पा प्रयोग गरी हत्या गरेकि हुन् । श्रीमानले रक्सी खाएको रिसमा तामाङले खुर्पा प्रहार गर्दा सन्तबहादुरको घटनास्थलमै मृत्यू भएको थियो ।

त्यसैगरी बुधबार दिउँसो धुलिखेल नगरपालिका भट्टेडाँडाको निर्माणाधिन सारथी होटलमा काम गर्ने बर्ष ४० का सप्तरी घर भएका कुमार पौड्याल मृत भेटिए । उनको मृत्यूको कारण खुल्न सकेको छैन ।

विगत १४ दिनमा काभ्रेमा विभिन्न कारणले १४ जनाको ज्यान गएको छ जसमध्ये ११ जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यलयले जानकारी दियो ।

असार १ गते काभ्रेकोे चौरी देउराली गाउँपालिका स्थित आफ्नै घरमा बर्ष १९ कि मनिषा चौलागाईले आत्महत्या गरिन् ।

असार ४ गते तिमाल वडा नं. ८ का बर्ष ६२ का नरकुमारी रायमाझी आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन् । असार ६ गते कटुन्जेवेशीकी लम्बरी तामाङले झुन्डिएर आत्महत्या गरिन् । असार ६ गते नै बनेपामा एकै परिवारका ४ जनाले विष सेवन गरी आत्महत्या गरे ।

त्यसैगरी असार ११ गते बनेपाका २६ बर्षिया दिवाकर परियारले आत्महत्या गरे । असार ११ गते नै पनौतीकी ६२ बर्षिया सावित्रि श्रेष्ठले विष सेवन गरी आत्महत्या गरिन् ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुशार विविध कारणले १४ दिनमा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ६ जना झुन्डिएर, ५ जना विष सेवन गरी एकजनाको कारण नखुलेको र दुईको जना करेन्ट लागेर र एक जनाको कर्तव्य ज्यानमा मृत्यू भएको हो ।

पछिल्ला घटनालाई हेर्ने हो भने काभ्रेमा आत्महत्याका घटना निरन्तर बढिरहेको देखिन्छ । काभ्रेमा आत्महत्याका धेरै जसो घटनां दुई श्रीमतीका कारण हुने गरेको प्रहरी वताउँछ । काभ्रे प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन राईका अनुसार काभ्रेमा पछिल्लो समय आत्महत्याको दरमा वृद्धि भएको छ ।

‘पारिवारीक समस्या, दुईवटी श्रीमती र अंश विवादका कारण आत्महत्या गर्नेको संख्या बढेको छ, राई भन्छन्,‘यसका लागि सामाजिक परिस्थिति र कमजोर मनस्थिति मुख्य कारण हुन सक्छन् ।’

शिक्षाको कमी, मदिरा र माया प्रेममा असफतापछि मानिस आवेस र उत्तेजनामा आउँदा मानिसहरुले मृत्युलाई अंगिकार गर्ने गरेको देखिएको राई बताउँछन् ।

किन हुन्छ त आत्महत्या ?

जानिजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ ।

धुलिखेल अस्पतालका वरिष्ठ डाक्टर राजेन्द्र कोजुका अनुशार विभिन्न सामाजिक एवं मानसिक कारणले मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । ‘मानसिक रुपमा कमजोर भएपछि मानिसको सोचाइमा नकारात्मताले प्रभाव पर्छ,’ डाक्टर कोजु भन्छन्,‘यसले मानिसमा गतल गर्ने निर्णयलाई थप प्रभावकारी बनाउँछ र आत्महत्या गर्ने निर्णयमा पुग्छ ।’

कोजुका अनुसार व्यक्तिले सहन गर्न नसक्ने घटनाका कारण पर्ने प्रभावले उनीहरु मृत्यु अगाल्ने निर्णयमा पुग्न सक्छन् । जुन योजनावद्ध भन्दा पनि हठात् हुने निर्णय हो ।

विश्व स्वास्थ्य संघको एक अनुसन्धान अनुसार प्रत्येक वर्ष संसारका नौ देखि १० लाख मानिसहरु आत्महत्या गर्छन् ।

अध्ययन अनुसार नेपालमा प्रत्येक एक लाख जनसंख्यामा नौदेखि दश जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । तर, सन् २०१५ को अर्को एउटा रिपोर्ट अनुसार नेपालमा वर्षेनी करिव ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्छन् अर्थात एक लाखमा करिव २५ जनाले आत्महत्या गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्