
‘कच्चा बदाम...’ गर्ल अन्जली अरोराले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमएमएस काण्डबारे मुख खोलेकी छन् ।
हुन त उनी अभिनेत्री कंगना रनावातको शो ‘लकअप’मा सहभागी भएपछि नै समाचारहरूमा छाइरहेकी थिइन् । उनी फेरि एकपटक चर्चाको शिखरमा पुगेकी छन् । यसपटकको उनको चर्चा कुनै कामको कारण भइरहेको छैन, उनको चर्चा फोटोशूटका कारण पनि भएको होइन, यसपटक उनको चर्चा अन्तरंग दृश्यसहितको एमएमएस ‘लिक’ का कारण भएको हो ।
सामाजिक सञ्जालमा उनको भनी दाबी गरिएको भिडियो भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा उक्त भिडियोमा आपत्तिजनक अवस्थामा देखिएका युवती अन्जली अरोरा नै भएको दाबी गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि उनीमाथि भद्धा प्रकारका कमेन्टहरू गरिएका छन् ।
भिडियो पछिल्लो सातादेखि नै भाइरल भइरहेको छ । हालै आएर उनले यसबारेको मौनता तोडेकी छन् । अञ्जलीले सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘२१ वर्षमा सफलताको स्वाद चाखिरहेकी एक युवती, जसले चर्चा पनि कमाइरहेकी छन्, जब उनको दाबी गर्दै आपत्तिजनक भिडियो सबैतिर फैलिन्छ, के २१ वर्षकी युवतीले यो सबै सहन सक्छिन् ?’
उनले मान्छेहरूले किन यस्तो गरिरहेको भनेर आश्चार्य प्रकट गरेकी छन् । उनले भनिन्, ‘मलाई थाहा छैन कि मान्छेहरू किन यो सब गरिरहेका छन् । मेरो नाम लिएर, मेरो फोटो प्रयोग गरेर किन यो अञ्जली अरोराको एमएमएस हो भनिरहेका छन् ? यी सबैले मलाई आज यो स्थानसम्म पु¥याएका हुन् । उनीहरूका पनि परिवार छ । मेरो पनि परिवार छ । मेरा सबै भाइहरू यो भिडियो हेरिरहेका छन् ।’ यति भन्दाभन्दै उनी रुन थाल्छिन् ।
उक्त भिडियोलाई लिएर आफूलाई ट्रोलको शिकार गरिएकोमा आपत्ति जनाएकी छन् । अञ्जली अगाडि भन्छिन्, ‘केहिलेकाही मलाई लाग्छ, जब म यो सबै देख्छु, म सोच्छु की आखिर सबैजना किन यो सब गरिरहेका छन् । जबकी भिडियोमा भएकी पात्र म होइन ।’ युट्युबमा भ्यूज कमाउनका लागि धेरैजना यो फाल्तू कुरामा लागिरहेको आरोप लगाएकी छन् ।
अञ्जली अरोराले ‘कच्चा बदाम’ गीतको भिडियोमा अभिनय गरेपछि चर्चा कमाएकी थिइन् । रातारात उनी सामाजिक सञ्जालमा ‘स्टार’ बनेकी थिइन् । इन्स्टाग्राममा उनको ११ मिलियनभन्दा धेरै ‘फलोवर्स’ छन् । त्यसपछि उनी कंगना रनावतको रियालिटी शो ‘लक अप’ मा सहभागी भइन् । उक्त शो मा स्ट्याण्डअप कमेडियन मुनब्बर फारुकीले उनलाई प्रेम प्रस्तावसमेत राखेका थिए । सोही विषयले उनको चर्चा चुलिएको थियो ।