
अध्यात्म र हाम्रो जीवन यी दुई नङ र मासु, हाड र छाला वा शरीर र श्वास समान छन् । जसरी मासुको बलमा नङ अडेको हुन्छ, छालाले गर्दा हाडको महत्त्व हुन्छ अनि श्वासले शरीरलाई टिकाइरहेको हुन्छ, त्यसैगरी अध्यात्मले हाम्रो जीवन टिकाएको हुन्छ । यी दुई भिन्न–भिन्न नभई एक–अर्काका परिपूरक हुन्, एक–अर्काका सहयोगी हुन् र एक अर्काका मित्र हुन् । मित्र मात्र नभई परममित्र हुन् । यी दुईको मिलनबाट मात्रै हाम्रो जीवन ‘स्वर्गीय जीवन’ हुन्छ ।
त्यसपछि जीवन जिउनुको मजा आनन्द मात्र नभई परम आनन्दमा रूपान्तरण हुन्छ । जीवनमा सुख मात्र हैन, परम सुखको रसास्वादन हुन थाल्दछ । शान्ति मात्र हैन, परमशान्तिको अनुभूति हुन थाल्छ ।
वास्तवमा मानिसको खोज पनि सुख, शान्ति र आनन्द मात्र हैन, परमसुख, परमशान्ति र परमआनन्द हो । हाम्रो जीवनको मूल खोज पनि यही नै हो । हामीले अहिले जीवनमा प्राप्त गरेका सुख, शान्ति र आनन्द त क्षणिक हुन् ।
केही समयका लागि सुख, शान्ति र आनन्द प्राप्त भएको जस्तो लाग्दछ । तर त्यो स्थायी हुँदैन र फेरि आफ्नो वास्तविकता उही दुःख, तनाव, निराशा हाम्रो हात आइलाग्छ । जब जीवनमा अध्यात्म हराउँछ, तब तनावै–तनाव, चिन्तै–चिन्ता, निराशा नै निराशा मात्रै हुन्छ । बितेको समयको चिन्ता र आउँदो समयको सुख र शान्तिको आश मात्र बाँकी रहन्छ ।
अध्यात्म के हो र यसले जीवनमा कसरी प्रभाव पार्छ भन्ने विषयमा केही चर्चा गरौं ।
अध्यात्म भनेको साधारण भाषामा आत्माको अध्ययन हो । हाम्रा अग्रजहरू, ऋषिहरू र सद्गुरुहरूले त हामीलाई आत्माको विषयमा जान्न धेरै योग र ध्यानका विधिहरू सिकाउनुभएको छ । तर त्यसलाई हामीले सही तरिकाबाट बुझ्न र ग्रहण गर्न सकेका छैनौं । गीता जस्तो विश्वकै महान् ग्रन्थ जुन हाम्रो धर्मको अमूल्य सम्पत्ति हो, त्यसलाई पनि हामी अधिकांशले सही ढंगबाट बुझ्न र बुझाउन सकेका छैनौं । समाजका कतिपय पण्डित र पुरोहितहरूले समेत अपव्याख्या गरी बुझाउँदा हामी झनै दिग्भ्रमित भएका छौं ।
भगवान् बुद्धले आत्मा अर्थात् आफूलाई चिन्न, जान्न र महसूस गर्नका लागि आजभन्दा २,५६५ वर्षअघि आफूले गरेको खोज र अनुसन्धान मनुष्यलाई दिनुभएको छ । आज विश्वले नै सम्मान गर्ने भगवान् बुद्धको ज्ञानलाई हाम्रो देशमा भने सत्ताको बागडोर सम्हालेका राजनेताहरूले नै भगवान् बुद्धलाई मागी खाने भाँडो बनाए । भगवान् बुद्धको ‘विपश्यना’ अर्थात् आफूतिर फर्क, आफूलाई जान, आफू असीमित भएको महसूस गर, आफूलाई शरीरमा मात्र सीमित नराख ।
तिमीसँग असीमित शक्ति छ । तिमीहरूसँग असीमित ऊर्जा छ, जसलाई महाकाली, महालक्ष्मी, महासरस्वती भनिन्छ, यस्तो असीमित स्रोतबाट सञ्चालित तिमी आत्मा हौ । जान, आफूलाई सदा मनमा प्रश्न बनाऊ, जिज्ञासु बन, म को हुँ ? तिमी ‘तिम्रा आमा–बुबाले दिएको नाम तिमी होइनौ’ । ‘तिमी तिम्रो समाजले दिएको परिचय तिमी होइनौ’ । त्यसभन्दा पनि अगाडि तिमी केही थियौ, कोही थियौ । ‘याद गर आफ्नो मूलको’ । जुन दिन आफूले आफैंसँग जिज्ञासा राख्न थालिन्छ, त्यस दिन हाम्रो पुनर्जन्म हुन्छ र आप्mनो विशाल परिचयसँग जोडिन पुगिन्छ । त्यसका लागि हामीलाई गुरु, सद्गुरुको आवश्यकता पर्छ । विना गुरु, विना सद्गुरु हामीलाई अध्यात्ममा प्रवेश गर्न कठिन हुन्छ । हामीमा रहेको परमआनन्दस्वरुप आत्मालाई जान्न कठिन हुन्छ ।
जन्मदेखि मृत्युसम्म चल्ने अवधि जीवन हो । आफूले आफैंलाई नियालौं– कस्तो छ आफ्नो जीवन ? कसरी व्यथित भइरहेको छ– आफ्नो जीवन । केहीबेर आँखा बन्द गरेर बसौं । लामो गहिरो श्वास लिआंै र केहीबेर शान्त भएर बसौं र आफूले बिताएको समयलाई सर्सर्ती नियालौं । सुखको क्षण कम भेटिन्छ, दुःखको समय धेरै । के मानिस दुःख भोगका लागि मात्र यस धर्तीमा आएको हो त ? दुःख, चिन्ता, भय मात्र जीवनका भोगाइ हुन् त ?
अहिलेको अवस्थामा सुख, शान्ति र आनन्द त अरूमा देख्ने विषय भएको छ । व्यक्ति स्वयंले बिताएको दुःख, चिन्ता र भय जीवनको अभिन्न अंग भएको छ । खर्बौं जीवहरूमध्ये सर्वश्रेष्ठ जीव मनुष्य हुनुको सारतत्त्व के यही हो त ? अधिकांश समय तनावै–तनावमा जीवन बितोस् ?

हाम्रा पूर्वजहरू तथा हाम्रा ऋषिमुनिहरूका ग्रन्थका अनुसार जीवनमा आनन्दबाहेक अरू केही छैन । ऋषिहरूले उल्लेख गरेका छन्, ‘हामी ईश्वरका सन्तान, हाम्रो स्वरूप नै आनन्द हो ।’
तर हामी सांसारिक मात्र भयौं । आफूलाई छोड्यौं, अध्यात्मलाई छोड्यौं । आप्mनो ज्ञानमा नभई संसारको ध्यानमा हामी हरायौं । हाम्रा दुईवटा खुट्टामध्ये एउटा भौतिक र अर्को अध्यात्मिक हो । तर हामी एउटा खुट्टाले मात्र हिँड्यौं, अर्थात् सांसारिक मात्रै भयौं । अध्यात्मलाई छोड्यौं र अपाङ्ग भएका छौं । आध्यात्मिक र भौतिक जगत् रथका दुई पाङ्ग्रा हुन् । एकविना अर्को अधुरो रहन्छ । तसर्थ हाम्रो जीवन जसरी अगाडि बढाइरहेका छौं, त्यसलाई अरू बढी सुखमय, आनन्दमय र समृद्धिले भरिएको बनाउन योग र ध्यानलाई साथ–साथ लिएर यो जीवनरूपी रथ सञ्चालन गरेको खण्डमा स्थायी सुख, स्थायी शान्ति र स्थायी आनन्द आउनेछ भन्ने मेरो बुझाइ मात्र नभएर जीवन भोगाइको अनुभवसमेत हो ।
लेखिका नेपाल आयल निगममा असिस्टेन्ट मेनेजरका साथै जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक पनि हुन् ।