
उद्योगलाई आवश्यक जनशक्तिको पहिचान गरी माग र आपूर्तिको तालमेल गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना भएको छ ।
रूपन्देही उद्योग संघको सहकार्यमा स्थापना गरिएको सूचना केन्द्र लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे ।
रोजगार केन्द्रले बेरोजगार जनशक्तिको लगत संकलन गरी रोजगार गर्न इच्छुक व्यक्तिलाई सीप तथा क्षमता अभिवृद्धिका लागि आवश्यक अनुसार तालिम विकास कार्यक्रम सञ्चालन गर्ने रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए ।
‘जनशक्तिको अभाव झेलेका उद्योग व्यवसायलाई सहयोग पुर्याउन कामदार नियमित आपूर्तिको व्यवस्था मिलाउन केन्द्रले काम गर्नेछ,’ उनले भने ।
कार्यक्रममा बोल्दै मन्त्री शाहीले देशका दक्ष युवा जनशक्ति पलायन रोक्नका लागि सीप र क्षमता युवामा विस्तार गर्न जरुरी रहेको बताए । त्यसका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम र योजनाहरू अगाडि सारेको जानकारी समेत दिए ।
देशको श्रमशक्तिको समुचित परिचालनको अभावमा लाखौं युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको उनले बताए ।