२९ जेठ २०८३, शुक्रबार

जब झलनाथले विष्णु पौडेललाई भने– सँगै हुने वातावरण बनेन क्यारे ...

भदौ ५, २०७९
जब झलनाथले विष्णु पौडेललाई भने– सँगै हुने वातावरण बनेन क्यारे ...

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलबीच जम्काभेट भएको छ ।

पार्टी कामले रुपन्देही आइपुगेका खनाल र चुनावी तयारीका लागि रुपन्देहीमै रहेका एमाले उपाध्यक्ष पौडेलबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आइतवार भेटघाट र केहीबेर कुराकानी भएको हो ।

जम्काभेटपछि खनाल र पौडेलले विमानस्थलको विशिष्ट कक्षमा केहीबेर भलाकुसारी गरेका थिए ।

त्यसक्रममा खनालले 'नजिक हुने वातावरण बनेन क्यारे' भन्ने प्रतिक्रिया जनाएका थिए । 

पौडेलले 'नजिक हुने वातावरण बनाउँछु' भन्ने जवाफ दिएको समाजवादी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष विनोद परियारले लोकान्तरलाई जानकारी दिए ।

भेटमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं र एमाले रुपन्देहीका नेता गोपाल राना पनि सहभागी थिए ।

 

खनाल एमालेका पूर्व अध्यक्ष समेत हुन् । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि खनाल र पौडेलको बाटो अलग भएको थियो । 

केही समय अघिसम्म खनाल एमालेसँग सहकार्य गरेर जानुपर्ने लाइनमा थिए । तर, एमाले अध्यक्ष ओलीले खास चासो नदेखाएको भन्दै खनाल अहिले गठबन्धनकै निरन्तरताको पक्षमा लागेका छन् ।

आइतवार पनि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले सत्ता गठबन्धनबाटै आफू उम्मेदवार हुन लागेको बताए ।

अन्तिमपटकका लागि उम्मेदवार बन्न लागेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्