०५ साउन २०८३, मंगलबार

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । 

मन्त्रालयका अनुसार आइतवारदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए ।

बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । भदौ ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । 

यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । 

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् । 

यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई खोप लगाइँदै छ ।
 

salt training

कमेन्ट गर्नुहोस्