
नेपालमा तीजको तरङ्ग १ महिना अघिदेखि नै देखिएको छ । हिन्दू महिलाका लागि तीज १ विशेष दिन मानिन्छ र एक पवित्र पर्व पनि ।
तीज पर्वमा व्रत र व्रत अगाडिको दरले पनि छुट्टै महत्त्व बोकेको हुन्छ । नेपाली समाजमा खिर दरका लागि खाइने एक प्रमुख र परम्परागत परिकार हो । तातो–तातो मसलादार खिरमा खारेको घ्यु हालेर खानुको मज्जा नै अलग हुन्छ ।
खिर एक नेपाली मौलिक परिकार हो, जुन अनाज, दाल वा तिनीहरूको पीठोबाट बनाइन्छ । नेपाली व्यञ्जनमा खिर रेसिपीका धेरै भिन्नताहरू छन् । खिर परम्परागत रूपमा दूध, चामल, चिनी र केही सुक्खा फलहरू मिसाएर बनाइने परिकार हो । खिर पकाउँदा सकेसम्म प्याकेटको दूधमा नपकाउनुस् । डेरीको दूधमा पकाउँदा राम्रो मानिन्छ । प्याकेटमा फ्याटको मात्रा ३ प्रतिशत मात्र हुन्छ र खल्लो स्वादको दूध हुन्छ । डेरीमा किनेको दूधमा लगभग ५ प्रतिशत फ्याट (क्रिम) हुने हुँदा खिर र कुराउनीको लागि डेरीको दूध उत्तम मानिन्छ । मसला र स्वादको छनोट सामान्यतया अलैंची, गुलाब पानी, केवरा पानी वा केसर हो ।
चामलको खिर मूलतः ताइचिन चामल, सम्पूर्ण दूध, चिनी, नट र मसलाले बनेको चामलको नेपाली संस्करण हो । मैले यो खिर बनाउन आमाबाट सिकेको हो, जुन मलाई निकै स्वादिष्ट र पोषणयुक्त लाग्छ ।
खिर बनाउन चाहिने सामग्री ः १ कप ताइचिन चामल, २ लिटर दूध, १/६ कप चिनी वा आवश्यकता अनुसार थप्नुहोस्, १/२ चम्चा अलैंचीको धुलो वा ५–६ वटा हरियो अलैंची, १ चिम्टी केसर, २ चम्चा काटेको वा ठूलो बदाम (अल्मन्ड), २ चम्चा काटिएको काजू (केसुनुट फ्लेक्स), २ चम्चा काटिएको वा नमकिन पिस्ताको टुक्रा, २ चम्चा सुनौलो किसमिस, १ चम्चा मरिचको धुलो, २ चम्चा काटेको नरिवल, २ चम्चा छोडाएर काटेको छोगडा, ४ चम्चा नेपाली घ्यु ।
खिर बनाउने तरिका ः ताइचिन चामललाई २ पटक या जबसम्म पानी स्टार्चबाट सफा हुँदैन, तबसम्म धुनुहोस् । त्यसपछि चामललाई १५–२० मिनेटसम्म पर्याप्त पानीमा भिजाएर राख्नुस् । दूधलाई बाक्लो भाडोमा उमाल्नुस् र चामल खन्याउनुस् । सानो आँचमा मज्जाले चामललाई दूधमा खेल्न दिनुस् र बेला–बेला चलाउनुस् ।
राम्ररी फत्केर पाक्न लागेपछि इलाइची, मरिच हालेर चलाउनुस् र चिनी पनि हाल्दिनुस् । अर्को प्यानमा घ्यु खारेर सबै ड्राइनट्सहरू खैरो हुने गरी भुट्नुस् र पाकेको खिरमाथि हालेर बिस्तारै चलाउनुस् । अब केसर र एक्स्ट्रा घ्यु मन पर्नेले पाथिबाट थपेर खान सक्नुहुन्छ । खिर तातो या चिसो दुवै हिसाबमा खान सकिन्छ । सुगर खान नहुनेले सुगर फ्री खिरको रूपमा चिनी नहाली पहिला नै निकालेर पनि सर्भ गर्न सकिन्छ । चिनी खानेले पनि चिनीको सट्टा सक्खर, मिस्री या मह प्रयोग गर्दा स्वास्थ्यलाई अझ फाइदा पुर्याउँछ ।
यस्तै तरिका प्रयोग गरेर दूधे मकैको खिर, ढकनी, ब्राउन राइसको खिर, कागुनोको खिर, किनुवाको खिर, कुसकुसको खिर, सेबाइको खिर, साबुदाना खिर, घैयाको खिर, मखनाको खिर, सुजिको खिर, पनिरको खिर, चना दाल खिर, मुङ दाल खिर, गाँजरको खिर, ओट्सको खिर, पास्ता खिर, दलिया खिर घरमै बनाएर स्वादिष्ट तरिकाबाट दर खान सकिन्छ ।