
क्यूएफएक्सले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरूले क्यूएफएक्सको एप तथा वेबका साथै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्ड मै खरिद गर्न सक्नेछन् । यो खल्तीका ग्राहकहरूका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको छ ।
यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लग इन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारीपश्चात क्यूएफएक्सका ग्राहकहरू र खल्ती प्रयोगकर्ताले सिधैँ खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् । साथै क्यूएफएक्सको एप तथा वेबबाट पनि टिकट खरिद गरी खल्तीबाट भुक्तानी गर्न सकिनेछ ।
भदौ १ गतेदेखि लागू भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरू र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट र खल्ती पोइन्ट पनि प्राप्त गर्नेछन् ।
यस सहकार्यपछि खल्तीले आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको प्रिफर्ड पेमेन्ट पार्टनर हुनुका साथै क्यूआर प्लेसमेन्ट र अन्य अनस्क्रिन र अफस्क्रिन ब्राण्डिङ र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ ।
खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनोट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । त्यस्तै, खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,
‘खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीको रूपमा स्थापना गर्ने उद्धेश्यका साथ अघि बढिरहेको छौँ । मनोरन्जन क्षेत्रमा पनि क्यूएफएक्सजस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । खल्ती र क्यूएफएक्सबीचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ ।’
यसैगरी यस सेवाको बारेमा बोल्दै क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन्,
‘क्यूएफएक्सले सधैँ ग्राहकहरूको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको छ, हामी आशा गर्छौँ कि खल्तीसँगको यस सहकार्यले हाम्रा सिनेमा प्रेमी ग्राहकहरूलाई थप सुविधा दिनेछ ।’
क्यूएफएक्स सिनेमा टिम क्वेष्ट प्रा लि द्धारा सञ्चालित ब्राण्ड हो जस अन्तर्गत हाल नेपाल भरी ११ स्थानहरूमा फ्रेन्चाइज मोडलमा सञ्चालित भएका छन् । छिट्टै स्काइलाइन मल वीरगन्जमा सञ्चालनमा आउनेछ । उच्च स्तरीय प्राविधिक र भौतिक संरचनासहित विश्वस्तरीय सिनेमा हलको अनुभव दिने क्यूएफएक्स सिनेमामा विस्तारित फुड एण्ड वेभरेज मेनु र प्रिमियम सिटको पनि अनुभव गर्न सकिन्छ ।
नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्राण्डको रूपमा स्थापित गर्न सफल भएको छ । करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरू साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी यी सेवाहरूको डिजिटल भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिँदै आएको छ ।