२६ असार २०८३, शुक्रबार

पतञ्जली र आईएमईबीच रेमिट्यान्स सेवामा सहकार्य गर्ने सम्झौता

पतञ्जली र आईएमईबीच रेमिट्यान्स सेवामा सहकार्य गर्ने सम्झौता

पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । 

हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो । समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवं सहज माध्यम थपिएको बताए ।

आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । ‘यो निर्बाध ग्राहक यात्राको लागि म आईएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु । साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ’, आचार्य बालकृष्णले भने, ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरूमार्फत नेपालमा रहँदै आउनुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन् ।’
आचार्य बालकृष्णले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए । बैंकको शाखा भ्रमणको बोझ एवं लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पूरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए । 

हरेक वर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन्, जसमध्ये रोजगारी मुख्य कारण हो । प्रत्येक भारतीय शहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य छन् । आउटलेटहरूमा सजिलो पहुँचको कारण भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्छन् ।

विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आईएमईको प्रयोग गर्छन् । एकस्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आईएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ । 

यस सहकार्यको फलस्वरूप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । नेपालभर विस्तारित संजाल भएको आईएमई पे वा आईएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन् ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आईएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आईएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरूलगायत इन्डियामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्